'लेखकलाई हरेक समय चुनौती'

img-featured

साहित्यकार सरुभक्तको प्रकाशोन्मुख संस्मरण कृति 'बांगाटिंगा धर्साहरू' भित्रको मुक्तकीय अंश हो यो। मुक्तक, कविता, कथा, उपन्यास, नाटकमा सक्रिय उनी महाकाव्य पनि लेखिरहेका छन्। उनको लेखनबारे फणीन्द्र संगमले गरेको छोटो कुराकानी प्रस्तुत छ।
 
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ। पोखराको स्वच्छन्द बसाइ र यहाँको पदीय दायित्य पक्कै फरक छ। लेखनका लागि समय कसरी निकाल्नुहुन्छ?
 
समयको व्यवस्थापन अलि गाह्रो छ अहिले। पोखरा हुँदा बिहान, दिउँसो वा बेलुका; जुनसुकै बेला पनि समय दिन सकिन्थ्यो। अहिले दिनभर कार्यालयमा बस्नुपर्छ या कार्यक्रम परेको अवस्थामा बाहिरको यात्रा पनि हुन्छ। धेरै समय निकाल्न नसके पनि यहाँ साहित्य–संगीतकै सेवाका काम गर्न पाएकाले ठूलो क्षति महसुुस गरेको छैन।
 
अध्ययनको सवालमा झोलामा केही पुस्तक बोकेकै हुन्छु। अफिस आउँदा–जाँदा काठमाडौंको सवारी जाममा एक–डेढ घन्टा फसिने रहेछ। त्यही समय गाडीभित्रै पढ्ने बानी गरेको छु। दिनमा दुई–तीन घन्टा त पढ्ने–लेख्ने समय निकाल्नैपर्छ।
 
लघुतम आयामको मुक्तकदेखि महाकाव्य पनि लेखिरहनुभएको छ। विधागत लेखन र आयामका दृष्टिले कस्तो भिन्नता छ?
 
साहित्यको हरेक विधा र रचनाको आयाम फरक भई नै हाल्छ। फुटकर कविता होस् या नाटक, लघुकथा वा महाकाव्य; ती सिर्जनाले अपेक्षित मेहनत खोजेका हुन्छन्। फुटकर रचना एकै बसाइ वा भावावेशमा पनि लेखिन्छन्, तर तिनको कलापक्षलाई ख्याल गर्नैपर्छ। चारलाइने मुक्तक हेर्दा छोटो देखिएला तर त्यसलाई पूर्णता दिन धेरै मेहनत चाहिन्छ। कुनै मुक्तक एकै मिनेटमा पनि लेखिन्छ, कुनै हप्तौं लाग्न सक्छ। 'गागरमा सागर' भन्छन् नि, मुक्तक त्यस्तै हो। मलाई नै एउटा मुक्तक टुंग्याउन एक हप्ताभन्दा बढी लागेको छ। आज बिहान एकै मिनेटमा पनि लेखेँ, फेसबुकमा राखिहालेँ। कहिले विषय फुर्छ तर उपयुक्त शब्द चयनमा बढी समय लागिदिन्छ।
 
विषयको चयन र त्यसका लागि आवश्यक अध्ययन, चिन्तन, परिवेशको बुझाइ र पात्र छनोटले कुन रचनालाई कति समय लाग्छ भन्ने निर्क्यौल गर्छ। 'पागल बस्ती' उपन्यास लेख्नका लागि छ–सात वर्ष लगाएको थिएँ। डिप्लोमा पढ्दै गर्दा केही सुरुवाती परिच्छेद लेखिसकेको थिएँ। त्यसपछि दराजमा थन्क्याएँ र थप लेखन अघि बढाउनका लागि चिन्तनमा लागेँ। युनिभर्सिटीको पढाइ सकेर पोखरा फर्किएपछि त्यसलाई पूर्ण गरेँ।
 
'चुली' उपन्यास सरर्र एक हप्ताको बसाइमा सिध्याएको हुँ। तर हिमाली भेगको अध्ययन, आरोहीसँग भेटघाट, कुराकानी गर्नका लागि एक–डेढ वर्ष लागिसकेको थियो। ठूलो कुरा त दीर्घ लेखनका लागि कला र साधना नै हो।
 
पुस्तक प्रकाशनअघि पुनर्लेखन कति आवश्यक छ?
 
पुनर्लेखनको प्रश्न महत्वपूर्ण हो जस्तो लाग्दैन। हामीकहाँ भ्रम छ। 'मैले त एकैपटक लेखेर सिध्याएको, पुनर्लेखन गर्दिनँ' भनेर ब्रह्मवाक्य लेखेझैं घमण्ड गर्ने पनि यहीँ छन्। कोही पुनर्लेखन र साफी पटक–पटक गरेको बताउँछन्। एउटा लेखकका लागि पुनर्लेखन स्वाभाविक हो। कतिले गर्लान्, कतिले नगर्लान्। पागल बस्तीमा मैले केही परिच्छेदको सम्पादनमात्र गरेँ, पुनर्लेखन गरिनँ। चुलीमा पनि पुनर्लेखनको आवश्यकता परेन। म पहिल्यै धेरै समय सोच्छु, कथावस्तुको आकार दिमागमा बनाउँछु र लेख्न बस्दा त्यो सहजै फ्रेममा आउँछ। तरुनी खेती, समय त्रासदीका लागि धेरै समय अध्ययन र चिन्तनमा लगाएँ। जब आफू प्रस्ट हुन्छु, तबमात्रै म लेख्न बस्छु।
 
पहिले देवकोटाले जस्तो लेखे त्यो नै अन्तिम लेखन थियो। उनी पुनर्लेखन गर्दैन थिए। बालकृष्ण सम पुनर्लेखनमा समय लगाउँथे। भूपिले त सेल्फ पोट्रेटमै भनेका छन्– केही लेख्छन्, यसो हेर्छन्, चित्त बु‰दैन, अनि केर्छन्...कठैबरा विचरा भूपि शेरचन। उनी आफैं पनि पुनर्लेखन गर्दा रहेछन् भन्ने संकेत हो त्यो। त्यसो भएरै 'घुम्ने मेचमाथि अन्धो मान्छे' अब्बल कृतिको रूपमा आयो।
 
लेखकलाई घचघच्याउन पात्रहरू आफैं आउँछन् कि विषयवस्तुले पात्रको माग गर्छ?
 
म जुन विषयमा कलम चलाइरहेको हुन्छु, त्यही विषय सम्बद्ध पात्र आउँछन्। कतै वास्तविक पात्र होलान्, कतै काल्पनिक। तर काल्पनिक भए पनि तिनमा जीवनको छाया त आउँछ नै।
 
एउटा बौलाहालाई नभेटेको भए 'पागल बस्ती' लेखिने थिएन। २०३८ सालतिर घान्द्रुकबाट फर्कंदै गर्दा बाटोमा एउटा बौलाहा हात पसारेर मागिरहेको थियो, अरू मानिस उसलाई खिसी गरिरहेका थिए। बौलाउनु उसको दोष थिएन, तर मानिसहरू बौलाउनुको कारण खोज्नतिर लागेनन्। त्यही बेला मेरो दिमागमा ‰वाट्ट देवकोटा आए। उनलाई पनि त समाजले कुनै बेला बौलाहा भनेको थियो। यस्तो विसंगतिविरुद्ध लेख्नुपर्छ भनेरै सुरु गरेँ। त्यही बौलाहाको प्रेरणाले पागल बस्ती लेखियो। उपन्यासमा पनि ऊ उपस्थित छ।
 
हरेक नयाँ पुस्तक निकाल्नुअघि लेखकले भोग्ने चुनौतीचाहिँ के हो?
 
पहिले भानुभक्तलाई चुनौती थियो– संस्कृत भाषाको दबदबाबीच नेपाली भाषा स्थापित गराउनु। पछि देवकोटा रिमालहरूलाई चुनौती थियो। उनीहरूको साहित्य नबु‰नेले पागलकै संज्ञा दिए। हरेक समय लेखकका लागि चुनौती बनेर उभिएको हुन्छ।
 
अहिले पठन संस्कृतिको विकास भएको छ। नयाँ प्रकाशन संस्थाको प्रतिस्पर्धाले लेखक बढेका छन्, चुनौती थपिएको छ। इन्टरनेटको सहजताले विश्व बु‰न सजिलो छ। समय आफैंमा प्रतिस्पर्धात्मक बनेको छ। यस्तो अवस्थामा कुनै लेखकले नयाँ पुस्तकमा नयाँ प्रयोग गर्न सकेन भने ऊ हराउँछ।
 
नेपाली साहित्यमा विज्ञान नाटक वा आख्यानमा तपाईंले नै प्रयोग गर्नुभयो नि है? केही अफ्ठ्यारा आइलागे?
 
मेरो पहिलो उपन्यास विज्ञानमै आधारित थियो, 'एक अविनवको आत्मकथा'। २०४४ मा प्रकाशित त्यसमा रोबोटको कथाबारे थियो। वैज्ञानिक स्वैरकल्पनामा आधारित। आणविक सन्त्रासको केन्द्रियता रहेको उपन्यासमा पृथ्वीमा बाँचेका रोबोट निर्मित मानव–संघर्षको कथा छ।
 
नेपालले पहिलोपटक सार्क सम्मेलन गरेका बेला २०४४ मा विज्ञान कथा 'सार्क मिसाइल' पनि लेखेको थिएँ। अतिवृष्टिलाई रोक्न सक्ने र अनावृष्टिमा पानी पार्न सक्ने मिसाइलको कल्पना थियो त्यसमा। सुरुमा पढ्नेहरूले फरक विषय र विज्ञानसँग सम्बन्धित भएकाले जटिलजस्तो पनि ठाने। तर नेपाली साहित्यमा विज्ञान साहित्य कम लेखिएका छन्। लेखिनु आवश्यक छ।
 
साहित्यमा विज्ञानलाई पनि मिसाउनुपर्छ भन्ने चिन्तनको विकासताहिँ कसरी भयो?
 
म स्कुल छँदादेखि नै विज्ञानमा धेरै चासो राख्थेँ। पछि साइन्स नै पढेँ। तर आइएस्सीपछि विज्ञानको पढाइलाई अघि बढाउन सकिनँ। मेरो लक्ष्य त डाक्टर वा इन्जिनियर बन्ने थियो। जीवनको कुन मोडले हो, साहित्यतिर डोरिएँ।
 
प्रकाशोन्मुख महाकाव्यबारे भन्दिनुस् न?
 
केही समयभित्रै 'नेपालेश्वर' शीर्षकको महाकाव्य आउँदै छ। मेरो यो नै पहिलो महाकाव्य हो। झ्याउरे छन्दमा संरचित यसमा विदेशिनुपरेका नेपालीको कथा र लाहुरे परम्पराबारे लेखेको छु

radio programs

View All
  • On air -by
  • up next -by