नयाँ संविधानमा माओवादीको छाप लाग्यो कि कांग्रेस एमालेको ? संविधानको मस्यौदामाथि एक विश्लेषण -

मोहन तिम्सिना

पछिल्ला घटनाक्रम हेर्दा जे जस्तो भएपनि नयाँ संबिधान बन्ने छाँटकाँट देखिन्छ । यद्धपि बिरोधका स्वर संगै छन् । प्रचण्ड भन्थे, जसरी भए पनि ‘माओवादी छाप लागेको’ संबिधान आउँछ । कांग्रेस एमाले भन्थे, ‘लोकतन्त्रको आदर्श’को मामलामा ‘माओवादी अधिकायकवाद’ सँग शौदावाजी हुने छैन । त्यसैले ‘लोकतान्त्रिक’ संबिधान आउँछ ।

मोहन तिम्सिना

मोहन तिम्सिना

त्यसोभए अब नयाँ संबिधान कस्तो आउँदैछ ? संबिधान निर्माणको लडाइँमा कसले जित्यो ? अनि यो देशलाई अब कसले डोर्‍याउँछ ? सायद यो अहिलेको निकै रोचक बिषय हो ।

नयाँ संबिधान- २०७२ का सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव हुनेछन् । जे जस्तो भए पनि २००७ सालदेखिको अधुरो एजेण्डाले पूर्णता पाएको छ । देशमा गणतन्त्र बिधिवत संस्थागत हुने भएको छ । एकात्मकताको ठाउँमा संघीयता प्रवेश भएको छ ।

प्रस्तावना पनि संसोधन गर्न सकिने लचिलो प्रावधानलाई पनि सकारात्मक मान्न सकिन्छ । जनआकांक्षा धेरै थिए, छन् । ती पूरा हुने छाँटकाँट तत्काल देखिँदैन । तैपनि पुरानो अध्याय समाप्त हुनु र नयाँ अध्यायको शुरुवात हुनलाई सकारात्मक नै मान्नु पर्दछ ।

महत्वपूर्ण प्रश्न अब देशलाई कसले डोर्‍याउला भन्ने हो ? नेपालमा अहिलेसम्म तीनखाले राजनीतिक खेलाडीहरु मैदानमा देखिन्छन् । तिनीहरुमा पहिलो बुर्जुवा शक्ति हो । अर्थात कांग्रेश पार्टी । दोश्रो कम्युनिष्ट शक्ति हो । यसमा टुक्रिएका/चर्कीएका माओवादीहरु पर्दछन् । एमालेले आफुलाई कम्युनिष्ट भने पनि उसको चरित्र पहिलो नम्बरमै पर्दछ । तेश्रो शक्तिमा परम्परावादी शक्ति छ । यसमा राप्रपाका घटकहरु छन् । २०६२/०६३ को जनआन्दोलन पछि देखा परेको मधेशवाद र जनजातिवादले राजनीतिक दलको चरित्र ग्रहण गरीसकेको छैन ।

सर्वप्रथम हाम्रा दललाई धन्यवाद दिनै पर्छ । किनकि राजतन्त्रात्मक युगबाट उनीहरुले नै हामीलाई गणतन्त्रात्मक युगमा ल्याइपुर्‍याए । तर, पछिल्ला बर्षहरुमा नेपाली समाज कुनै दलका सोचको वरिपरि हिँडिरहेको छैन । सबैखाले राजनीतिक समुहका अनुमानका बिपरित हिँडिरहेको छ । सबैखाले राजनीतिक दलका सिद्धान्त, आदर्श र मुल्यमान्यता माथि प्रश्न उठेका छन् । देश कता जाँदैछ ? हाम्रा नेताहरुले नै मेसो पाइरहेका छैनन् । संबिधानसभाका बैठकहरुमा सबैले आ आफ्नो ढिपी त देखाए । तर, उनीहरुको अहिलेको वास्तवविक हालतचाहिँ ‘कुहिराको काग’ जस्तै हो ।

अलिकति इतिहासतिर फर्केर हेरौं । बुर्जवाहरुले यो देशलाई एकखाले साँचोमा ढाल्न खोजे । बेलायती संबैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्थाको साँचोमा । कम्युनिष्ट नामधारी एमालेले पनि यसैलाई सघाउने प्रयत्न गर्‍यो । तर, उनीहरु सफल रहेनन् । माओवादी बिद्रोहले उनीहरुको सोचलाई भताभुंग पारिदियो ।

माओवादीले देशलाई अर्कोखाले साँचोमा ढाल्न खोज्यो । चिनियाँ राजनीतिक व्यवस्थाको साँचोमा । तर उनीहरु पनि सफल रहेनन् । बुर्जुवा र परम्परावादीले उनिहरुको सोचमा बाधा दिइरहे । परम्परावादीहरु संबैधानिक राजतन्त्रको असम्भव रटान गरिरहेका छन् । यो सोचलाई बुर्जुवा र कम्युनिष्टहरुले निषेध नै गरिरहेका छन ्। अर्थात कसैले भने जस्तो भएको छैन ।

कांग्रेश र एमालेले सायदै सोचेका थिए ०४७ को संबिधान १५ बर्ष पनि टिक्दैन । त्यसैले उनीहरुले ०४७ को संबिधानलाई बिश्वको उत्कृष्ट संबिधान भनेका थिए । संबैधानिक राजतन्त्र र संसदिय व्यवस्थामाथि प्रश्न नै उठाउन नहुने भनेर लेखेका थिए । तर उनीहरुले सोचे जस्तो भएन । अर्कोतिर माओवादी नेताहरु ‘बलियो दुश्मन राजतन्त्र हो ,राजालाई पराजित गरेपछि जनवाद/समाजवाद सजिलै स्थापित हुन्छ’ भनी स्कुलिंग गर्दथे ।

माओवादीले भन्ला, देश हामीले डोर्‍याइरहेका छौं । यसका लागि उसले संबिधानमा परेको ‘समाजवाद’ पदावली देखाउला । तर, आफैंमा अमूर्त समाजवाद पदावली नै उनीहरुका लागि समस्या हुनेवाला छ

आज राजतन्त्र त पराजित भयो । तर जनवाद/समाजवाद चाही आएन । बरु माओवादी आफैं टुक्रिएर/चर्किएर बेहाल भइसक्यो ।
जसोतसो नयाँ संबिधान त बन्दैछ । तर, न त यो कांग्रेस र एमालेको आदर्श हो । न त माओवादीकै आदर्श हो । न त परम्परावादीहरुकै आदर्श हो । कांग्रेश एमालेले भन्लान : देश हामीले नै डोर्‍याइरहेका छौं । यसका लागि उनीहरुले संबिधानमा परेको ‘बहुलवाद’ पदावलीलाई देखाउलान् । कृष्ण सिटौलाले झुक्याएर घुसाएको ‘संसदीय व्यवस्था’ पदावली देखाउलान् । यतिले उनीहरुको बिरासत धानिनेवाला छैन ।
संघीयता र शासकीय स्वरुपको मामलामा खेलेको काइते खेल ढिलो चाँडो जनता सामु उजागर हुन्छ । अनि यिनै मुद्दाले उनीहरुलाई नराम्रो गरी गाल्ने छ ।

माओवादीले भन्ला, देश हामीले डोर्‍याइरहेका छौं । यसका लागि उसले संबिधानमा परेको ‘समाजवाद’ पदावली देखाउला । तर, आफैंमा अमूर्त समाजवाद पदावली नै उनीहरुका लागि समस्या हुनेवाला छ । अर्थात माओवादीको लागि आफ्नै स्कुलिंग घाँडो हुनेवाला छ । राजतन्त्र मासेपछि नौलो जनवाद/समाजवाद ग्यारेन्टी आउँछ भनेर दिएको भाषण कार्यकर्ताले बिर्सेका छैनन् । जब ‘नौलो जनवाद/समाजवाद’ आउँदैन, तब कार्यकर्ताले उनीहरुलाई पर्खेर बस्दैनन् । अर्कोतिर उनीहरुबीचको टुटफुट र असफलताको श्रृंखला त अगाडि नै शुरु भइसक्यो ।

आगामी दिनमा कसरी काम गर्ने ? यी दलहरुसँग प्रष्ट कार्यसूची छैन । यसो भन्नुको मतलव सोच र दृष्टिकोण छैन । आगामी निर्वाचनमा यीमध्धे कुनै एउटाको एकलौटी जित होला भन्ने सम्भावना पनि छैन । भए पनि हुनेवाला केही होइन । किनकि नविन समाजको नेतृत्व शिल्प र सोच यिनीहरुमा देखिँदैन । बुढो र जड नेतृत्व अनि असान्दर्भिक सिद्धान्तमाथिको बिश्वास नै यिनीहरुको समस्या हो । यसबाट प्रष्ट हुन्छ देश पुनः नयाँखाले राजनीतिक संकटबाट गुज्रनेछ । नयाँ खाले परिवर्तनको संकटबाट गुज्रने छ ।

बिश्व परिवेश र नेपाली समाजका स्वचालित प्रणालीहरुले देशलाई निश्चित दिशामा अगाडि बढाइरहेका छन् । तर, हाम्रा राजनीतिक खेलाडीहरुका लागि भने देशले अज्ञात स्थलतिरको यात्रा गर्दैछ । अज्ञात स्थल भन्नुको अर्थ, समाज परिवर्तनको वर्तमान प्रबृत्तिबारेे यिनीहरु रनभुल्लमा छन् ।

परम्परावादीहरुको चिन्तन प्रणालीबारे कुरै नगरौं । उनीहरु जहिल्यै परिवर्तन बिरोधी हुन्छन् । बुर्जुवाहरुको समाजशास्त्र लगभग सामन्ती समाजबाट शुरु हुन्छ र पुँजिवादी समाजमा पुगेर टुंगिन्छ । कम्युनिष्ट हावाले पेलेका बेला यिनीहरु समाजवादका अमूर्त कुरा पनि गर्दछन् । तर, जब कम्युनिष्ट हावा मत्थर हुन्छ, तब यिनीहरु पुरानै कुरामा फर्किसकेका हुन्छन् ।

समाजशास्त्रीय चिन्तनका नाममा नेपालका बुर्जुवासँग वीपीले उहिल्यै बनाएको ‘एक हल गोरु, एउटा दुहुनो गाई’ वाला समाजवाद बाहेक केही छैन । त्यसयता उनीहरुले आफ्नो सोचमा नवीकरण गर्न जरुरी ठानेनन् । आज उनीहरुलाई वीपीको बिचार के थियो ? यतातिर धेरै चासो पनि छैन । जसरी भए पनि चुनाव जितेर सत्तासीन भए पुग्यो ।

कम्युनिष्टहरु दर्शन र समाजशास्त्रीय चिन्तनको खुव कुरा गर्दछन् । तर, लगभग दुईसय बर्ष अगाडिको माक्र्सवादलाई नै उनप्हरुले सास्वत मानेका छन् । समाज एकल रेखामा अगाडि बढ्छ भन्ने उनीहरुको बिश्वास हुन्छ । यस्तै बिश्वासका आधारमा कार्ल माक्र्सले आदिम साम्यवाद-दासयुग-सामन्ती युग- पुँजिवादी युग-समाजवादी युग र साम्यवादी युगको लामो एकल रेखा कोरेका थिए । यसको अर्थ समाजले परिवर्तनको क्रममा अनिवार्य यही श्रृंखलालाई पछ्याउँछ भन्ने हो ।

पुराना राजनीतिक शक्तिबाट अबको समाजको सही नेतृत्व हुन सक्दैन । त्यसैले नयाँ बिचार तथा कार्यक्रमसहितको नयाँ राजनीतिक शक्ति बनाऔं । जनदवाव वा जनमतका माध्यमबाट संबिधान संशोधन गरौं । बैकल्पिक समाजवाद निर्माणको यात्रा शुरु गरौं

यहि विश्वासका आधारमा कार्ल माक्र्सले पुँजिवादको उच्च बिकास भएको तत्कालीन ‘बेलायतमा सबै भन्दा पहिलो समाजवादी क्रान्ति हुन्छ’ भनी भविश्यवाणी गरेका थिए । तर, उनको भविश्यवाणी फेल खायो । उनका अनुयायीहरुले पनि उनकै अनुकुरण गरे । लेनिनले साम्राज्यवाद पुँजिवादको अन्तिम र मरणासन्न अवस्था हो, अब पूरा बिश्वमा समाजवाद आउँछ भनी भबिश्यवाणी गरेका थिए । लेनिनको यही भविश्यवाणीलाई सफल बनाउन स्टालिनले जवरजस्त प्रयास गरे । तर, लेनिनको भविश्यवाणी पनि फेल खायो ।

माओले सामन्ती शासकलाई पराजित गरिसकेपछि अर्थात पुँजिवादी क्रान्ति सम्पन्न भएपछि तुरुन्तै समाजवादमा जानुपर्छ भने । उनको यो प्रयास पनि असफल भयो । नेपालका माओवादीले पनि राजतन्त्रलाई पराजित गरेपछिका दुश्मन भनेका बुर्जुवा हुन्, यिनीहरुलाई पनि पराजित गरेपछि जनवाद/समाजवाद आउँछ भने । यही बिश्वासका आधारमा गणतन्त्रको घोषणा लगत्तैपछि ‘बिद्रोहको कार्यदिशा’ को खुव प्रचार गरे । तर, उनीहरुको बिद्रोहको कार्यदिशाले पनि हावा खायो ।

यसरी बुर्जुवा वा कम्युनिष्ट दुवैका चिन्तन प्रणाली माथि प्रश्न उठेका छन् । यसको खास कारण दुवै पक्षले समयानुकुल आफ्ना चिन्तन प्रणालीलाई ‘अपडेट’ गरेनन् । बिज्ञानका पछिल्ला आविस्कारले चिन्तन प्रणाली मात्र होइन अर्थशास्त्र र समाजशास्त्रलाई पनि असान्दर्भिक बनाइदियो । यसतर्फ उनीहरुले कहिल्यै ध्यान दिएनन् । उनीहरुको असफलताको खास कारण यही हो ।

हिजो आदिम समाजमा ‘प्रकृति’ नै उत्पादक शक्ति थियो । सामन्ती समाज र औद्योगिक युगसम्म ‘मानव श्रम’ उत्पादक शक्ति थियो । क्वान्टम भौतिक बिज्ञानको सफलतापछि आज बिश्वमा ‘बिज्ञान प्रबिधि’ स्वयं नै उत्पादक शक्ति भएको छ । अब सामाजिक गति त्यसको आर्थिक सामाजिक प्रणालीमा मात्र निर्भर छैन । मानिसका संस्कार, निजत्व र पहिचानका कुराहरु पनि संगै जोडिएर आएका छन् ।

समाजको बिकास एकल रेखामा नहुने रहेछ । यो त सामाजिक प्रणालीहरुको व्यतीकरण ढाँचामा अगाडि बढ्ने रहेछ । राज्य र व्यक्ति, श्रम र पुँजी, बिद्रोह र शान्ति, निजत्व र सामुहिकता एक अर्काका परिपूरक हुने रहेछन् । निषेधकारी होइन । यिनीहरुको सन्तुलित व्यवस्थापनको चिन्तनले मात्र समाजको नेतृत्व गर्न सकिने रहेछ ।

तर, बुर्जुवाहरु सामाजिक असन्तुलनमै आफ्नो भविश्य खोज्छन् । कम्युनिष्टहरु निजत्व वा निजी सम्पति निषेधलाई अनिवार्य ठान्छन् । उनीहरुको यस्तो खोटपुर्ण चिन्तनले नै लगातार असफल भएका हुन् ।

यस्ता खोटपूर्ण चिन्तन भएकाहरु संबिधान निर्माणको अगुवाइ गर्दैछन् । त्यसैले संबिधान कस्तो आउँछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । नयाँ संबिधानले कांग्रेस एमालेलाई हामीले ‘लोकतन्त्र यहाँनेर बचायौं’ भनेर देखाउने ठाउँ त देला । प्रचण्डलाई नयाँ संबिधानमा ‘यहाँ नेर माओवादी छाप लागेको छ’ भनेर देखाउने ठाउँ त देला । तर, यसले कुनै सुनिश्चित दिशा निर्देश भने गर्न सक्दैन । संबिधानमा ‘बहुलवाद’ वा ‘समाजवाद’ पदावली हुँदैमा ‘लोकतन्त्र’ वा ‘समाजवाद’ आइहाल्दैन । अर्थ न बर्थका शब्दजाल भरेर संबिधानको सारतत्व ‘न हाँसको चाल न बकुल्लाको चाल’ जस्तो भएको छ ।

यसको सकारात्मक पक्ष भनेकै संसोधनको लचिलो प्रावधान हो । हामी आज जो जो नयाँ संबिधानसँग असन्तुष्ट छौं, सबै एकजुट होऔं । संबिधानसभा रहेसम्म यसलाई थप सच्याउन दबाव श्रृष्टि गरौं । अन्त्यतः पुराना राजनीतिक शक्तिबाट अबको समाजको सही नेतृत्व हुन सक्दैन । त्यसैले नयाँ बिचार तथा कार्यक्रमसहितको नयाँ राजनीतिक शक्ति बनाऔं । जनदवाव वा जनमतका माध्यमबाट संबिधान संशोधन गरौं । बैकल्पिक समाजवाद निर्माणको यात्रा शुरु गरौं ।

 

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by