संकटका बेला नागरिक समाज

renuka-poudelरेनुका पौडेल। परिबर्तन र स्वतन्त्रताका लागी २०६२/०६३ को आन्दोलन र त्यसको पृष्ठभमिमा महत्वपूर्ण भुमिका बहन गरेका नागरिक समाजका अगुवाहरु किन मौन छन् भन्ने प्रश्न बेला बेलामा नागरिककै स्तरबाट उठ्दै आईरहेको छ ।

त्यहि परिबर्तनका कारण ढिलै भए पनि मुलुक यति बेला संबिधान सभा मार्फत नयाँ संबिधान जारी गर्ने प्रक्रियामा अगाडि बढेको छ। तर संबिधानमा आफ्ना भाबना समेटिएका र समेटिन नसकेका बिषयलाई लिएर असन्तुष्टि पनि बढिरहेका छन् । बर्ग, लिंग, क्षेत्र, जातजाति, धर्म र आस्थाका आधारमा दबाब समुह निर्माण गरेर बिमति र बिरोधका आवाज बुलन्द पार्दै छन् । संघीय राज्य सीमांकनका बिषयलाई लिएर अनपेक्षित संकट निम्तियो।

असन्तुष्टि ब्यक्त गर्ने क्रममा तोडफोड र आगजनी गरिएको छ। आन्दोलनको स्वरुप हेर्दा शान्तिपूर्ण भन्दा पनि हिंसात्मक बाटोतिर अगाडि बढेको छ भने सरकार र दलहरुले बार्ता र संबादका माध्यमबाट समस्या समाधान गर्ने भन्दा पनि दमन गरेको देखिन्छ। स्वयम् दलहरु पनि दलित महिला लगायतका अधिकार सुनिस्चित गर्ने सवालमा जति संबेदनशिल हुनपर्ने हो त्यो देखिएनन्। पदिय भागबण्डाको नियतका कारण नेताहरु बिचको लेनदेनमा कुरा मिलाएर संबिधान छिटो भन्दा छिटो जारी गर्न खोजेको देखिन्छ । जसका कारण संबिधानलाई अन्तिम रुप दिँदा सरोकारवाला र बिज्ञहरुसंग जटिल बिषयहरुमा न छलफल र अन्तरक्रिया भयो न उनिहरुको राय सुझाब नै लिईयो ।

दलहरु जति हतारिए पनि परिस्थिति त्यति सहज देखिदैन ताकि राजनितिक नेतृत्वले एक्लै अगाडि बढेर संबिधान जारि गर्न सकोस् । यस्तो बिषम परिस्थीतिमा नागरिक समाजको भुमिका संबिधानमा सबैका मुद्धालाई मिलाएर लागू गर्नका निम्ती र परिबर्तनलाई संस्थागत गर्नका लागि आबस्यक छ र महत्वपर्ण पनि।

तत्कालिन समयमा दलहरु सडकमा निस्कन नसकेका बेला अग्रस्थानमा रहेर परिबर्तनको नेतृत्व गरेका नागरिक आन्दोलका अगुवाहरु त्यो उपलब्धीलाई संस्थागत गर्ने बेलामा किन भुमिका बिहिन बने र बनाईयो। हाम्रो राजनितिक नेतृत्वको ईच्छाशक्ति दृढ छ र उनिहरुले मात्रै नेतृत्व गरेर परिबर्तनलाई संस्थागत गर्न सक्छन् भन्ने विश्वास स्वयम् नागरिक समाजका अगुवाहरुलाई नहुदाँ नहुँदै पनि राजनीतिक समाज र नागरिक समाजका बिचमा किन सहकार्य हुन सकेन यसका पछाडिका कारणहरु चिरफार गर्न र सबैले बुझ्न आबस्यक पनि छ।

जसका केहि कारणहरु मध्ये परिबर्तन पछि नागरिक समाज आन्दोलनको बेला जस्तो संगठीत रहिरहन सकेन यसका अभियन्ताहरु फरक फरक स्वार्थमा बिभक्त हन पुगे भने दलिय नेतृत्वले पनि खोलो तरे पछि लौरो बिर्सने भने जस्तै गर्यो। समाजका केहि अगुवा नागरिक समाजको भुमिका संकटका बेला अगाडि आउने र काम गर्ने हो स्वतन्त्रताको आन्दोलन, लोकतन्त्रको आन्दोलन सकियो अब भने दलहरु नै बलियो हुनपर्छ , उनिहरुले नै खुट्टा टेक्नुपर्छ राजनितिक दलको बिकल्प खोज्नु हुँदैन र नागरिक समाज सत्तामा पनि जाँदैन र जानुहुँदैन भन्दै परिबर्तनको संस्थागत गर्ने जिम्मा दलहरुलाई सुम्पेर निस्क्रिय जस्तै भए भने केहि अगुवा सत्ताका आकाँक्षी बन्न पुगे र फरक फरक राजनीतिक दलका सिमित घेरामा कैद हुन पुगे, राष्ट्रिय स्वार्थ र नागरिकको स्वार्थ भन्दा पनि। जसले गर्दा नागरिक समाज बलियो रहिरहन सकेन । ब्यक्तिगत रुपमा सबै अगुवाहरु आ आफ्ना फोरमहरुमा क्रियाशिल रहिरहे पनि नागरिक समाजको संगठीत आवाज बन्न सकेन । राजनीतिक नेतृत्वले नागरिक समाजसँग सहकार्य गर्नु पदिय भागबण्डा भन्दा अलग कुरा हो भन्ने बुझ्न सकेन र नागरिक समाजसँग संबाद नै नगरि दलहरु एक्लै अगाडि बढ्न खोजे ।

राजनीतिक समाज र नागरिक समाजको सहकार्यले निरन्तरता पाएको भए सम्भबत मुलुकमा दोस्रो संबिधान सभाको निर्बाचन गर्नुपर्ने परिस्थिति आउदैनथ्यो होला। यि दुबै समाजका बिचमा सहकार्य हन सकेको अबस्थामा दलहरु तथा मुलुकको आन्तरिक मामिला माथि बैदेशिक हस्तक्षेप पनि पक्कै कम हुन्थ्यो। बैचारिक आलोचनायुक्त नागरिक समाजको भुमिका राजनीतिक नेतृत्वलाई पाच्य भएन। त्यसकारण दलहरु नागरिकसंग संबादहिन अबस्थामा पुगे भने चुनाब लड्न पाउनुपर्ने, मन्त्री, सांसद तथा राजनितिक नियुक्ति पाउनुपर्ने केहि ब्यक्तिका ईच्छा चाहना र कसरतका कारण दलहरु समग्र समाजप्रति नै थप शंसकित बन्न पुगे र नागरिक समाजमाथि रहेको नागरिकको विश्वसनियतामा पनि आँच आयो।

राजनीतिक नेतृत्व सबै बिषयमा जानिफकार हुन सक्दैन र हुनैपर्छ भन्ने पनि छैन। यस वास्तबिकतालाई आत्मसात गर्न सकेन र पार्टीबाट स्वतन्त्र, बैचारिक र आलोचनायुक्त बिज्ञसंग सल्लाह छलफल गर्ने भन्दा पनि दलिय बिज्ञहरुसंग मात्र छलफल गर्न रमाईरह्यो। एकातिर नागरिक स्तरको जनमतलाई उपेक्षा गरेर राज्य बलियो हुन सक्दैन र दलहरु पनि भने अर्कातिर दलहरुलाई मात्र जिम्मा लगाएर र संगठित नागरिक समाज बिना परिबर्तन संस्थागत हुन सक्दैन रहेछ भन्ने चेत हामीलाई परिबर्तन पछिको यतिका समयले सिकाएको छ।

परिबर्तन पछिको झण्डै एक दशक हामीले संबिधान निर्माणका बहानामा खेर फालेका छौ। आधारभुत स्वतन्त्रता, मानब अधिकार र सामाजिक न्यायका खातिर लोकतान्त्रिक गणतन्त्रको माग सहित आन्दोलनमा होमिएको नागरिक समाज तिनै न्युनतम मुद्धा पनि ब्यबस्थापन हुन नसकेको देख्दा पक्कै पनि सन्तुष्ट छैन। दलहरुका जिम्मेबारबिहिन गतिबिधिले बिचलन पनि उत्पन्न भए होलान्। राजनितिक नेतृत्वले आफ्नो दलिय स्वार्थपूर्तिका लागि समाजका संबेदनशिल धर्म जातजाती लगायतका क्षेत्र चलायो। तिनै क्षेत्रको ब्यबस्थापन दलहरुका निम्ती सबैभन्दा चोटीलो मुद्धा बनेको छ। जसकारण अतिबादिहरु अगाडि आउने र शान्तिपूर्ण रुपमा परिबर्तन, स्वतन्त्रता र न्यायका कुरा गर्ने समुह थन्कनुपर्ने अबस्था सिर्जना भएको छ।

करिब एक दशकको घटनाक्रमलाई समिक्षा गर्दै यो समयलाई लम्बिन नदिन नागरिक समाजले बेलैमा आफ्नो कार्यदिशा तय गर्नु आबश्यक भएको छ। नागरिक समाज समयमा नै क्रियाशिल भएन र यसपटक पनि मुलुकले संबिधान पाएन भने समृद्ध र समुन्नत नेपालको परिकल्पना अझै कति पर धकेलिनेछ र मुलुक अन्त्यहिन अन्त्यको चक्रमा घुमिरहनेछ। दलहरु एक्लैले मात्रै अहिलेको संकटलाई सामना गर्ने सामर्थ्य राख्दैनन् र यो सक्रंमणको समयमा जति संबेदनशिल बन्नुपर्ने हो त्यो संबेदनशिलता र जिम्मेबारिपनाको पनि अभाब छ। बिभिन्न फरक फरक बर्ग, समुह, क्षेत्र, लिंग जातजाति, आस्था र धर्मका आधारमा बिभाजित समूहका बिचमा आपसि सद्भाब र सहिष्णुतालाई कायम गरेर अगाडि बढ्नु आजको आबश्यकता हो र मुख्य चुनौति पनि यहि हो।

 

धेरै व्यबस्था परिबर्तनको घोषणा एकैचोटि गर्यौ तर त्यो परिवर्तित ब्यबस्था अनुरुप हाम्रा आचरण ब्यबहार र संस्कारलाई ढाल्न सकेनौं। परिवर्तित ब्यबस्थालाई सुदृढ बनाउन दलदेखि जनता सबैका समग्र संस्कार बदल्नुपर्छ। सरकार र दलहरुको कार्यशैलीप्रति रहेको नागरिकको निरासालाई दलहरुले आसामा रुपान्तरण गर्न सक्नुपर्छ।

 

बेलैमा सुध्रने चरित्र ग्रहण गर्न नसक्ने हो भने हाम्रो राजनितिक नेतृत्वको औचित्य समाप्त भएर जानेछ । यस्तो अबस्था मुलुकका निम्ति घातक हुन्छ । त्यसैले नागरिक लाई संयमित रहन अनुरोध गर्दै नागरिक समाज र राजनीतिक दलहरु बिच रहेको संबादबिहिन अबस्थालाई रोकेर नागरिकको मर्म र भाबनालाई आत्मसात गर्दै प्रारम्भिक मस्यौदामा भएका गल्तीहरु सरोकारवालासंग बिचार बिमर्शका माध्यमबाट सच्चाएर संबिधानलाई अन्तिम रुप दिएर जारी गर्दै कार्यान्वयन गर्न र त्यसै अनुरुपको प्रबृतिको बिकास गर्न यो संकटका समयमा नागरिक समाजले सहजिकरण गर्नु पर्ने आबस्यक भएको छ।

 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by