कर्णाली त्यसै आक्रोसित बनेको होइन

img-featured

रमेश ढुंगेल 

अहिले छुट्टै प्रदेश माग गरेर आन्दोलनमा ओर्लिएको कर्णाली कुनै बेला ठूलो साम्राज्यको राजधानी थियो। 

खस साम्राज्यको राजधानी सिंजा उपत्यकामा थियो। जुन अहिले जुम्लामा पर्छ। कर्णाली स्वायत्त प्रदेश नै चाहिने भनेर माग उठेका छन्। आन्दोलन भएको छ। त्यो आन्दोलन नियन्त्रणमा लिन राज्यको प्रशासनलाई हम्मे हम्मे परेको छ। 

दुईसय वर्षभन्दा पहिले नेपाल एकीकरणको क्रममा सिंजा राज्यलाई हराउन गोर्खालाई यस्तै हम्मे परेको थियो। त्यही बेलादेखि दबिएको इगो अहिले आएर कर्णालीमा विष्फोट भएको जस्तो लाग्छ। पहिले खस राज्यको चर्चा गरौँ।

खस साम्राज्य

सिंजा उपत्यकामा राजधानी भएको खस राज्यले निकै शक्तिशाली थियो। १२ औँ शताब्दीदेखि यो राज्यले आफ्नो साम्राज्य विस्तार गर्न लाग्यो। र १५औँ शताब्दीसम्म कायम रह्यो। 

त्यतिबेला, पूर्वमा नुवाकोट, उत्तरपूर्वमा तिब्बतको जोङ्खा, पश्चिममा कुमाउ गढवाल र जालन्धरसम्म पनि थियो भन्ने प्रमाणहरू फेला परेका छन्। पश्चिम उत्तर तिर तिब्बत र गुगे र पुराङ् इलाकामा पनि खसराज्यको विस्तार भएको थियो। दक्षिणमा पश्चिम तराईको कपिलवस्तु इलाकासम्म प्रभाव थियो। र भारतको बोधगयासम्म पनि राज्य विस्तारका लागि आक्रमण गर्न पुगेको थियो भन्ने इतिहास छ।

नुवाकोटसम्म फैलिएको यो साम्राज्यले काठमाडौं उपत्यकालाई समेत बेलाबेलामा आक्रमण गर्न कोशिस गरेको थियो। उ काठमाडौंमा कर उठाउन समेत सफल थियो। 

ईसाको १५औँ शताब्दीसम्म यसरी साम्राज्य विस्तार गरेको यो राज्य निकै शक्तिशाली र सम्पन्न थियो। सवा लाख पर्वतमालाले युक्त विशाल राज्य भनेर यसका शासकहरू गर्व गर्थे। खस भाषाको उत्पत्ति यहीँ भएको थियो।

त्यो बेला खस भाषालाई खस कुरा भनिन्थ्यो। पहाडतर्फका बाहुन क्षेत्रीका धेरै जसो पूर्खाहरुपनि यहीँबाट देशभरि फैलिएका हुन् भन्ने विश्वास गरिन्छ।

तिब्बती भाषामा खसलाई खाचे र त्यहाँका शासकलाई याचे भनिन्थ्यो। त्यसै हुनाले खस साम्राज्यलाई याचे भनिन्थ्यो। यहाँका महाराजाहरुले आफूलाई खस देशाधिराज भन्ने गर्थे। त्यो भनेको, खस देशको महाराज हो। 

खस जातीहरू नै यहाँका शासक थिए। यो ठाउँमा बोन, बौद्ध र हिन्दु तीनै धर्मको प्रभाव थियो। खस साम्राज्य यस्तो विविध संस्कृतिले सम्पन्न थियो। खस याचे राजाहरू मस्टो (बोन)र बौद्ध धर्म मान्थे। त्यसबेला, हिन्दुस्तानका धेरै राज्यहरुलाई मुस्लीम राजाहरूले आक्रमण गरी राज्य विस्तार गर्दै थिए। खस राज्य मात्र एउटा शक्तिशाली थियो जसले मुस्लिम शासकसँग एक्लै लड्ने सामार्थ्य राख्थ्यो। त्यो लडाइँ खासगरी बुद्ध धर्मको संरक्षणको लागि थियो। 

१५औँ शताब्दी पछि  खस साम्राज्य विखण्डन हुँदै गयो। यो साम्राज्य चोइटिदै गएर सुदूरपश्चिममा बाइसे र पश्चिममा चौविसे राज्यहरू बने। खस राज्यको अवसानपछि यसको राजधानीको सीमा वरपरको क्षेत्रसम्म फैलिएको एउटा बलियो जुम्ला राज्य बन्यो।

बाइसी मध्ये यो राज्य निकै शक्तिशाली र सम्पन्न थियो। डोटी राज्य पनि त्यो बेलाको शक्तिशाली राज्य थियो। जुम्ला र डोटीबीचमा चर्को प्रतिस्पर्धा पनि भैरहन्थ्यो। डोटीलाई साथ लिएर जुम्लाको विरुद्ध पर्वत मुस्ताङले पूर्वतिरबाट लड्थे। 

त्यहाँका राजाहरुलाई शाह वा शाही ठकुरीको रूपमा सम्बोधन गरिन्थ्यो। यो राज्यलाई तिब्बतको भने समर्थन प्राप्त थियो। दलाई लामाले मुस्ताङलाई  सिंजामाथि आक्रमण नगर्न भनेको थियो भन्ने इतिहासमा पढ्न पाइन्छ। धर्म फरक हुँदाहुँदै पनि तिब्बतसँग जुम्ली राजाको सम्बन्ध महत्वपूर्ण मानिन्छ। 

पृथ्वीनारायण शाहले राज्य विस्तार र नेपाल एकीकरणको अभियान थाले। पहिले खस साम्राज्यमै पर्थ्यो गोर्खा। पछि बनेको गोर्खा राज्यका राजा थिए शाह।  

उनी मरेपछि उनका माइला छोरा राजकुमार बहादुर शाहले पश्चिमका बाइसे चौविसे राज्यलाई नेपालमा मिलाउन निकै मेहनत गरे। त्यसबेला उनले राज्यहरुलाई आश्रित बनाउने नीति अपनाएका थिए। तर जुम्ला बलियो भएको हुनाले मुस्ताङ र अरु राज्य जस्तो आश्रित हुन चाहेन। 

बहादुर शाहलाई जुम्ला जित्न निकै हम्मे पर्‍यो। डोटी, बझाङ, सल्यान आदिको सहयोग जुटाएर सुदूर पश्चिमतर्फ बहादुर शाहले राज्य विस्तार गरेका थिए। तर जुम्लासँग भने घमासान युद्व गर्नुपरेको थियो। यो लडाइँ वर्षदिन भन्दा बढी चलेको चलेको थियो भन्ने इतिहास छ। यो लडाईमा धेरै रक्तपात भयो। 

विक्रमसंवत १८४६ मा वरिपरिका राज्यहरुलाई हात लिएर जुम्लामाथि आक्रमण गरेका थिए। यसमा मुस्ताङ पनि जुम्लाको विरुद्ध लडेको थियो। 

जुम्लाका अन्तिम राजा सुभान शाही युद्वमा हारेपछि पनि आत्मसमर्पण गर्न तयार थिएनन्। बरू उनी भागेर तिब्बत पुगे। उनलाई तिब्बतको समर्थन प्राप्त भएकोले पछिसम्म पनि गोर्खालाई तिब्बतसँग मिलाएर फेरि राज्य गर्न आउँछ कि भन्ने उनीसँग डर थियो। 

आक्रमणमा जितेपछि पनि गोर्खा राज्यले जुम्लीहरुलाई नियन्त्रणमा लिन  निकै कठिन परेको थियो। त्यसैले त्यहाँ  पठाउन  निकै क्रुर अधिकारी छानिन्थ्यो। 

जुम्लीलाई दबाउने अनेक हतकण्ठा अपनाइएको थियो। सामान्ति युगमा त्यस्तो स्वभाविक भएता पनि निकै कठोर शासन गोर्खाले जुम्लामा कायम गरेका थिए। 

राणाहरुकालमा पनि कर्णालीमा पठाउने अलिक शक्तिशाली र कडा प्रसाशक नै हुन्थे। यसरी दबाइएको हुनाले पछिसम्म  ‘गोर्खे’ आए भने चौतारामै गाउँलेले दुध दहि ल्याएर टक्राउने गर्थे भन्ने सुन्न पाइन्छ। यसले पछि सम्मै कर्णालीबासीलाई गोर्खा शासनले निकै दबाबमा राखेको थियो भन्ने देखिन्छ।

खस याचे मल्ल शासकका समयदेखि जुम्ला राज्य बनेसम्म यति सम्पन्न साम्राज्य र राज्यको इतिहास भएको कर्णाली प्रदेशलाई आधुनिक नेपालराज्यले भने दबाब बाहेक खासै उद्दार गर्ने नीति लिएन। बरू यस ठाउँलाई अभावग्रस्त ठाउँ बनाइदियो। पछि आएर राजा महेन्द्रले पश्चिमतिरका ठकुरीहरूसँग दरबारको साइनो गासेर र पञ्चायतमार्फत सामाग्री पठाएर सम्बन्ध सुधार गर्ने चेष्टा गरेका थिए। तर त्यो त्यति प्रभावकारी पनि भएन निरन्तरता पनि पाएन।  

इतिहासदेखि अहिलेसम्म कर्णाली प्रदेशको नेपाल राज्यँसंगको लडाइँ या 'इगो' जातीय चाहिँ थिएन। यो खाली  शक्ति र अधिकारको निम्ति भएको लडाइँ मात्र हो। 

त्यति गौरवपूर्ण र सम्पन्नताको इतिहास बोकेको कर्णाली प्रदेशलाई यथार्थमा नेपाल राज्यले दमन र वेवास्ता बाहेक खासै केही गरेको देखिँदैन। पछि भएका लोकतान्त्रिक परिवर्तनले पनि कर्णाली क्षेत्रमा खासै उल्लेखनीय सुधार ल्याएनन्। अब, अहिले चारदलले गरेको प्रदेश निर्माणको सीमाकंन पछि कर्णालीबासीमा देखिएको त्यस्तै ऐतिहासिक युग देखिको अभाव र अवहेलनाको रोशको कारण पनि हुन सक्छ। यो आक्रोश त्यसै आएको चाहिँ अवश्य होइन। 

(इतिहासविद् ढुंगेलसँग शोभा शर्माले गरेको कुराकानीमा आधारित)

 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by