महन्थ, उपेन्द्र र राजेन्द्रलाई ‘पुसकी रात’ पढ्न सुझाव / गल्ती कांग्रेस एमालेको, सजायँ प्रचण्डलाई किन ?

गोपाल किराती

बिहारी समाजमा एउटा घर थियो । जुन घरमा युवा जोडी श्रीमान-श्रीमतीको परिवार थियो । हिउँदे बाली गहुँ लगाएपछि पुसको महिना त्यो हेर्न लायकको हुन्थ्यो । विशाल मैदानका कारण बारबेर गर्न घोचाको उपलब्धता सम्भव थिएन । तारबार लगाउन उनीहरुसित पुँजी हुँदैनथ्यो । त्यसैले गाईवस्तुबाट गहुँ जोगाउन बेलुकाको खाना खानेवित्तिकै त्यो घरका श्रीमान कम्बल बोकेर टाढाको गहुँबारी जानुपर्थ्यो ।

गोपाल किरातीएवं रीतले दिन बित्दै जाँदा कुनै रात उज्यालो हुनेबेला त्यस युवकलाई अचाक्ली निद्रा लाग्यो । उसले बिचार गर्‍यो कि ‘पाँच मिनेट आँखा झिम्क्याउँछु ।’ तर, सोचेजस्तो भएन । उनी पूरै निदाए । ब्युँझदा धेरै माथि घाम आइसकेको थियो । उनले पहिला घाम हेरे । त्यसपछि गहुँबारी हेरे । हरियो गहुँबारी माटै माटोको धुलोमा बदलिएको देखे । अर्थात् उनी निदाएका बेला गाईभैंसी आएर गहुँ समाप्त पारेछन् । त्यो देखेपछि त्यो युवकलाई परम आनन्द अनुभूति भयो ।

प्रस्तुत कथा पुसकी रात शीर्षकमा प्रेम चन्दले लेखेका हुन् । चन्द प्रख्यात भारतीय साहित्यकार हुन् । उनका धेरै कथाहरु र महत्वपूर्ण उपन्यास उपलब्ध छन् ।

मोहन वैद्य (किरण)अनुसार प्रेम चन्द यथार्थवादी लेखक हुन् । जाँगर भए उपेन्द्र यादव, महन्थ ठाकुर तथा राजेन्द्र महतोले पनि प्रेम चन्दको उक्त कथा पढेको हुनुपर्छ ।

प्रथम संविधानसभाको अन्तिम समय कञ्चनपुरदेखि झापा हुँदै काठमाडौंको बानेश्वर चोकसम्म लाखौं लाखका विरोध र खबरदारी प्रदर्शन भए । जब संविधानसभा विघटन भयो, त्यसबेला एकजना पनि सडकमा निस्किएको देखिएन । अर्थात् त्यही पुसकी रातको कथाको चरितार्थ हुन पुग्यो ।

हाम्रै जीवनमा पनि यस्ता घटना भएका छन् । जनक्रान्तिद्वारा सरकारमा पुगेर चाहेजस्तो काम गर्ने परिस्थिति नरहेको सिलसिलामा प्रचण्ड सरकारको राजीनामा भयो । उक्त राजीनामाले हामीलाई ठुलै आनन्द मिलेको थियो ।

केहीपछि बिचार गर्दा संविधान निर्माणका अतिरिक्त बजेट प्रस्तुत गर्नेबेलामा त्यो राजीनामा आएको थियो । आखिर पुसकी रात कथाका ती युवकको आनन्दजस्तै रहेछ त्यो ।

अहिलेको विरोध

१६ बुँदे सहमतिमाथि सर्वोच्च अदालतले अंकुश लगायो । सुझाव संकलनमा धेरैले सीमांकन बिनाको संघीयता हुन सक्दैन भने । दलहरुबीच ६ प्रदेशको सीमांकनमा सहमति बन्यो । त्यसमध्ये मधेसको सीमांकन पहिचानको दृष्टिले सबभन्दा राम्रो मिलेको छ ।

तपाईंको आन्दोलनले संविधानसभाबाट संविधान नबन्ने वा बनिहाले पनि संघीयताबिनाको संविधान जारी गर्ने अनुकुल परिस्थिति कांग्रेस र एमालेका निम्ति नबनोस, भन्नैपर्छ

नं. २ प्रदेशमा भावी प्रदेश सभाले जस्तो चाहन्छ, त्यस्तै नाम राख्न पूरै सम्भव छ । हामी प्रगतिशील पहाडेहरु मधेसीको हित चाहन्छौं । त्यस अतिरिक्त मधेसी क्लस्टरको नजिरले अन्यत्र पनि भोलि राज्य पुनर्गठन कार्यमा भूमिका खेल्ने अपेक्षा हुन्छ ।

केही नमिलेको थरुवान र मगरात क्षेत्रमा हो । त्यो पनि नेताहरुले भित्रै संघर्ष गर्दा हुने बिषय थियो । गण्डकी, लुम्बिनी र धौलागिरिलाई एउटै प्रदेशमा राख्न कांग्रेस-एमालेका सभासदले गठ बाँधे । त्यसमा एमाओवादीका एकजना सचिवले पनि हस्ताक्षर गरिदिए । अर्का सचिवले प्रचण्डले घुँडा टेक्यो भन्दै सार्वजनिक भाषण गरे । लेखराज भट्टको कुरा बेग्लै भयो ।

विरोधको अवैज्ञानिक निशाना

नेपाली समाजका धेरैले महाभारत कथा पढेका छन्, जसले अर्जुनदृष्टि भन्ने गर्दछन् वा बुझ्दछन् । परन्तु, संविधान निर्माण प्रक्रियामा असन्तुष्टहरुको विरोधको निशाना अर्जुनदृष्टि अनुकूल किमार्थ देखिँदैन ।

संविधानसभाको इतिहास अनुसार प्रथम, माओवादीले भनेजस्तो संविधान बन्नुपर्ने हो । दोस्रो, मधेसवादीले भनेजस्तो र तेस्रो, आदिवासी जनजाति, महिला, मुस्लिम, दलित एवं मजदुर-किसानले भनेनस्तो बन्नुपर्ने हो । जनआन्दोलनका सहयात्री एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ताको हैसियतले चौथोमा कांग्रेस-एमालेले भनेजस्तो बन्नपर्ने हो ।

परन्तु, संविधानसभाको विकास प्रक्रिया प्रतिकूल शक्ति सन्तुन रहेको छ । त्यसअनुसार पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रोमा मात्र माओवादी शक्ति रहेको तथ्यलाई नजरअन्दाज गरेर बिग्रेको जति सबै प्रचण्डको थाप्लोमा थोपर्ने क्रियाकलाप भस्मासुरे प्रवृत्तिबाहेक अरु हुन सक्दैन ।

गुहु र गोबर छुटयाउन नसक्नेलाई अधबेस्रो भन्ने प्रचलन छ । त्यसैले रोग कांग्रेस-एमालेका नेताहरुतिर, उपचारचाहिँ प्रचण्डतिर खोजेर हुँदैन

कैलाली र कञ्चनपुरलाई थरुवानमा राख्न नदिने को हो ? जवाफ प्रष्टै छ, शेरबहादुर देउवा र भीम रावल । भट्टजीको बिषयमा त चिन्ता गर्नै परेन । किनकि, थरुवान-मधेसवादीले देउवा र रावललाई सही निशानामा प्रहार गर्ने हो भने लेखराज भट्टलाई पार्टीबाट सिधै कार्यवाही गर्न सकिन्छ ।

त्यस्तै अवधदेखि तमुवान हुँदै मगरातको आधा भाग ४ नम्बरमा पार्ने को हो ? प्रष्टै छ, कांग्रेस र एमालेको सभासद । त्यसमा हस्ताक्षर गर्ने एमाओवादीको सचिव (टोपबहादुर रायमाझी) लाई पनि ठीक व्यवस्था गर्न सकिन्छ ।

यसरी पहिचानका ५ आधारमा संघीयता निर्माण गर्न नदिने कांग्रेस र एमालेका निश्चित पहाडिया अहंकारवादी नेताहरु हुन् । तर, मार भने खाली प्रचण्डको टाउकोमा हान्ने गरिन्छ । के यसरी जनताको संविधान बन्छ ? किमार्थ बन्दैन ।

एनेकपा माओवादी अध्यक्ष प्रचण्डको जोड संविधासभाबाट संविधान जारी गरेर नेपाली जनतालाई सार्वभौम तुल्याउने ऐतिहासिक दायित्वप्रतिको समर्पण हो । त्यसप्रति हाम्रो सहमति र समर्थनको उद्देश्य प्रा. कृष्ण खनालअनुसार संघीयताको ढोका खोल्नु हो ।

संघीयताको सिद्धान्त र गणतन्त्र संस्थागत गर्ने संविधान बनेपछि त्यसको संशोधन एवं जनताको जागरणका आधारमा ६ प्रदेशलाई १८ पुर्‍याउन सकिने हाम्रो मूल्याङ्कन छ ।

साथै, संघीय कानुनमा बिशेष संरचनाको व्यवस्था गरी छुट्टै विभिन्न स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्रहरु निर्माण गर्न सकिन्छ । त्यस निम्ति उत्पीडित राष्ट्रिय समुदायमा प्राप्त जागरणलाई संगठित शक्तिमा अझ विकसित गर्नुपर्छ ।

गुहु र गोबर छुटयाउन नसक्नेलाई अधबेस्रो भन्ने प्रचलन छ । त्यसैले रोग कांग्रेस-एमालेका नेताहरुतिर, उपचारचाहिँ प्रचण्डतिर खोजेर हुँदैन ।

समाचारअनुसार केही समयअघि चितवन असपतालका डाक्टरले क्यान्सरको उपचार गर्न गएकी महिलाको पाठेघर शल्यक्रिया गरेजस्तै यहाँ भइरहेको छ । त्यसले संविधानसभाको आफ्नो कठोर सीमासहित प्रगतिशील संविधान निर्माणमा केन्द्रित रहेको प्रचण्डमाथि अन्याय मात्र होइन, अपराध नै भइरहेको छ । आन्दोलनकारी पक्षले यो तथ्य बुझ्न एकदम जरुरी छ ।

केही समयअघि अनलाइन लेखमा एकजना मित्रले लेखेका थिए- ‘प्रचण्ड बाघ थिए, हामीले उनलाई मुसा बनायौं । अहिले भर्खर बिरालो बनेका छन् ।’ यो सही मूल्याङ्कन हो । जो मधेसी र जनजातिको पक्षमा कठोर टेबल संघर्ष गरिरहेको छ, उसैलाई अझ मुसा बनाउने हो भने नेपालीका सामु अन्तहीन गृहयुद्धबाहेक अरु परिदृश्य कल्पना गर्नै सकिन्न ।

आन्दोलनकारीलाई सुझाव

वैद्य र विप्लव माओवादी त खाली प्रचण्डको शेखी झार्न चाहन्छन् । त्यसैले उनीहरु संविधानसभाबाट संविधानको पक्षमा देखिदैँनन् । संविधानसभाबाट जनपक्षीय संविधानको अपेक्षा गर्ने आन्दोलनकारीहरुको संघर्ष खबरदारीसम्म त ठिकै हो । तर, त्यसपछि ‘पुसकी रात’ कथाको चरितार्थ नहोस् भनेर यहाँ खबरदारी गर्नुपर्छ ।

अनेक अखण्ड, मधेसी र जनजाति आन्दोलनमाथि टेकेर नाति राजा फर्काउने प्रतिक्रान्तिको मतियार नबन्नुहोस् भनेर प्रष्ट शब्दमा बोल्नुपर्छ । शक्ति सन्तुलनका आधारमा संविधानसभाबाट संविधानको महत्व बोध नगर्दा र विरोधको अबैज्ञानिक निशानामा प्रहार गर्दा ‘पुसकी रात’ कथाको मूर्ख युवा बाहेक अरु हुन सकिँदैन ।

तपाईंको आन्दोलनले संविधानसभाबाट संविधान नबन्ने वा बनिहाले पनि संघीयताबिनाको संविधान जारी गर्ने अनुकुल परिस्थिति कांग्रेस र एमालेका निम्ति नबनोस, भन्नैपर्छ ।

(लेखक एमाओवादीका स्थायी कमिटी सदस्य हुन्)

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by