तालिम मात्रै लिन्छन्, व्यवसाय गर्दैनन्

तालिम मात्रै लिन्छन्, व्यवसाय गर्दैनन्

 


भूमिसुधार कार्यालय कञ्चनपुरले बुधबार महेन्द्रनगरमा मुक्त कमैयाहरूका लागि आयोजना गरेको एकदिने वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिममा सहभागीहरू । तस्बिर : भवानी/कान्तिपुर
 

कञ्चनपुर, फाल्गुन २२ - गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयले २० जना युवालाई स्वरोजगार बनाउने उद्देश्यले कपाल काट्ने तालिम दियो । तर उक्त तालिममा सहभागी भएकामध्ये ३ जनाले मात्रै व्यवसाय सञ्चालन गरे । अन्यले तालिम मात्रै लिए तर व्यवसाय सञ्चालन गर्ने सोचसम्म पनि बनाएनन् ।

कपाल काट्ने तालिमा मात्र होइन घरेलु तथा साना उद्योग कार्यालयले गत वर्ष सञ्चालन गरेका दर्जनभन्दा बढी तालिममा सहभागी भएकामध्ये १० देखि १५ प्रतिशतले मात्रै व्यवसाय सञ्चालन गरेका छन् । कार्यालयले गत आर्थिक वर्षमा दालमोठ बनाउने, सिलाइ कटाइ, सिलाइ मेसिन मर्मत र हाउस वाइरिङलगायत क्षेत्रमा १ सय ७४ युवायुवतीलाई तालिम दियो । तर तीमध्ये केहीले मात्रै व्यवसाय सञ्चालन गरे ।

'तालिम लिएका १०/१५ प्रतिशतले मात्रै व्यवसाय सञ्चालन गर्छन्,' उद्योग अधिकृत हेमन्तबहादुर सिंहले भने, 'बाँकीले के गर्छन् तालिम सकिएपछि हामीलाई पनि जानकारी हँुदैन ।' उनले सीपमूलक तालिमहरूलाई अवसरका रूपमा सदुपयोग नगरी समय कटाउने माध्यम बनाइएकाले सीपमूलक तालिमहरू प्ा्रभावकारी हुन नसकेको बताए । 'सिलाइ कटाइको तालिम लिएका महिलाहरूले घरमै पनि मेसिन राखेर काम गर्न सक्छन्', उनले भने, 'तर व्यावसायिक बन्नेतर्फ ध्यान जान सकिरहेको छैन ।'

कञ्चनपुरमा घरेलुसँगै, व्यावसायिक सीप विकास तालिम केन्द्र, महिला विकास कार्यालय, भूमिसुधार कार्यालय, उद्योग वाणिज्य संघलगायत आधा दर्जन सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले बेरोजगार युवा युवतीहरूलाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्दै आएका छन् । तर तलिम लिएका अधिकांश युवायुवतीहरू सीपको सदुपयोग नगरेरै बसिरहेका हुन्छन् ।

'हामीले वाषिर्क ४/५ सय युवायुवतीहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आएका छौं,' व्यावसायिक सीप विकास तालिम केन्द्र महेन्द्रनगरका प्रमुख तर्कराज विष्टले भने, 'तर तीमध्ये आधाले पनि व्यवसाय सञ्चालन गर्दैनन् ।' उनले तालिममा सहभागी हुने सबैले व्यवसाय सञ्चालनका लागि प्रतिबद्धता जनाउने भए पनि व्यवहारमा लागू नगर्ने बताए । 'तालिमपश्चात लगानीको अभावले पनि युवाहरू व्यावसायिक बन्न नसकेका हुन्', उनले भने, 'यसका लागि तालिमपश्चात पनि व्यावसयिक बनाउने किसिमका कार्यक्रम ल्याइनुपर्छ ।' उनले सीप विकास केन्द्रले यसै वर्षभित्र विगतमा तालिम लिएकाहरूले गरिरहेको कामबारे अनुगमनको तयारी गरिरहेको जानकारी दिए ।

सीप विकासले हाउस वाइरिङ, प्लम्बिङ, कम्प्युटर, सिलाइ कटाइ, ब्युटीपार्लर, मोटरसाइकल मर्मतलगायत तालिमहरू प्रदान गर्दै आएको छ । 'वैदेशिक रोजगारीमा जानेहरूलाई पनि बर्सेनि तालिम प्रदान गरिरहेका छौं,' कार्यालय प्रमुख विष्टले भने । उनका अनुसार वैदेशिक रोजगारीमा जानेहरूलाई कुक, वेटर, बेमौसमी तरकारी खेती, च्याउ खेती र सेल्समेनलगायत तालिमहरू दिइन्छ ।

कञ्चनपुरमा विभिन्न संघसंस्थाहरूले बर्सेनि ४/५ हजार युवायुवतीहरूलाई सीपमूलक तालिम प्रदान गरिरहेका छन् । तर तीमध्ये २५ प्रतिशतले पनि सीपको सदुपयोग गरी व्यवसायमा लागेका छैनन् ।

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by