बंगलादेशलाई जलविद्युत् निर्यात गर्ने सम्झौता पछि धकेलियो

काठमाडौ, फाल्गुन २२ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि नेपालको विद्युत् बंगलादेशलाई बिक्री गर्न हुने भनिएको सम्झौता रोकिएको छ । भारतीय कम्पनी जीएमआर र बंगलादेशबीच काठमाडौंमा विद्युत् खरिद सम्झौताको तयारी भइरहेको थियो । जसमा सहभागी हुन बंगलादेशका ऊर्जामन्त्री आउन नपाएपछि सम्झौतामा असर परेको हो ।

जीएमआरका एक अधिकारीका अनुसार विमानस्थलका कारण बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिद आउन नपाएपछि बिहीबार गर्ने भनिएको विद्युत् खरिद सम्झौता रोकिएको छ । बंगलादेशको पावर डिभिजन र प्रवर्द्धक कम्पनी जीएमआरबीच विद्युत् खरिदको समझदारीपत्र -एमओयू) मा हस्ताक्षरको तयारी थियो । 'अब सम्झौता कहिले हुन्छ भन्ने विषय एक साता पछि मात्रै टुंगो लाग्नेछ,' जीएमआरका ती अधिकारीले भने । माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाबाट ३ सय मेगावाट र माथिल्लो मस्र्याङ्दीबाट २ सय मेगावाट विद्युत् खरिदको सम्झौता हुने तयारी थियो ।

दुवै आयोजनाको प्रवर्द्धक जीएमआर हो । ९ सय मेगावाटको माथिल्लो कर्णालीकाे आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । स्थलगत रूपमा जीएमआरले केही कामसमेत सुरु गरिसकेको छ । ६ सय मेगावाटको माथिल्लो मस्याङ्दीको पीडीए भने भएको छैन । लगानी बोर्डले जीएमआरसँग उक्त आयोजनाको पनि पीडीए गर्ने गृहकार्य गरिरहेको छ । केही महिनाभित्र पीडीए गर्ने तयारी बोर्ड र जीएमआरको छ । उत्पादनपछि दुई आयोजनामध्येबाट पास सय मेगावाट विद्युत् बंगलादेशले खरिद गर्ने सम्झौताको तयारी थियो । नेपालको विद्युत् अन्य मुलुकमा निर्यात गर्ने यस्तो प्रकृतिको सम्झौता पहिलो पटक हुन लागेको थियो ।

'बंगलादेशको सरकारले खरिद गर्ने विषयमा प्रारम्भिक कुराकानी भइसकेको छ,' जीएमआरका अधिकारीले भने, 'केही विषयहरू टुंग्याउन बाँकी थियो । छलफल गरेर सम्झौताको तयारीमा बसेका थियौं । अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि सम्भव भएन ।' बुधबार बिहान टर्किस एयरको विमान विमानास्थलमै दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित बनेका छन् । धावनमार्गमै विमान दुर्घट्नाग्रस्त भएकाले हटाउन समय लागेर उडानहरू सुचारु हुन नसकेका हुन् । शुक्रबारसम्म उडान सुचारु गर्ने प्रयास भइरहेको छ । बुधबारदेखिको उडान अवरुद्धका कारण काठमाडौंमा बिहीबारदेखि हुन लागेको तीनदिने जलविद्युत् सम्मेलन पनि स्थगित भएको छ ।

सम्मेलनमा सहभागी हुन आउने धेरैजसो विदेशीहरू भएकाले कार्यक्रम स्थगित भएको हो । 'अब कार्यक्रम कहिले गर्ने भन्ने विषयमा टुंगो लागेको छैन,' ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भने, 'त्यही कार्यक्रममा बंगलादेश र जीएमआरबीच विद्युत् खरिदको सम्झौता हुँदै थियो । दुवै कार्यक्रम रोकिए ।' विश्व बैंक, एसिलायी विकास बैंक -एडीबी) र ऊर्जा मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । जलविद्युत्को लगानी र सम्भावनाबारे चर्चा गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम र विद्युत् खरिदको सम्झौताको मिति अर्को पटक कहिले गर्ने भन्ने विषय टुंगो लागेको छैन ।

'तर अब अर्को मितिमा भए पनि सम्मेलन पक्कै होला,' जीएमआरका अधिकारीले भने, 'सोही कार्यक्रममा सम्झौता गर्न सकिन्छ ।' बुधबार सम्मेलनको अन्तिम तयारी गरिएको थियो । सहभागी आउने वैकल्पिक विमानास्थल नभएकाले बुधबार साँझ सम्मेलन स्थगित गरिएको जानकारी गराइएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक राधेश पन्तका अनुसार १८ औं सार्क शिखर सम्मेलनमा सार्क मुलुकबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) को मर्मअनुसार नै बंगलादेश नेपालमा उत्पादित विद्युत्को सम्झौताका लागि तयार भएको हो ।

'भारत मात्रै नभएर अन्य मुलुकमा पनि विद्युत् बिक्री गर्नुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका थियौं,' पन्तले भने, 'तत्कालका लागि सम्झौताको कार्यक्रम स्थगित भए पनि अर्को पटक होला । यो सम्झौता पनि पाकिस्तान, भुटान, श्रीलंकालगायत मुलुकमा पनि नेपालको विद्युत् व्यापारको बाटो खुल्नेछ ।' सरकारी अधिकारीहरूका अनुसार यस्तो सम्झौताले नेपालको जलविद्युत्मा लगानीकर्तालाई आकर्षण गर्न ठूलो मद्दत पुर्‍याउनेछ । नेपालले भारतसँग पनि छुट्टै पीटीए गरेको छ । सार्कस्तरीय मुलुकबीच पनि पीटीए भएकाले यहाँ उत्पादित विद्युत् भारतलाई मात्रै बिक्री गर्नुपर्छ भन्ने छैन । सार्कस्तरीय पीटीए भएपछि अन्य मुलुकमा पनि बिक्री गर्ने जलविद्युत् प्रवर्द्धक तथा सरकारको तयारी छ । 'नेपालको विद्युत् दक्षिण एसियाभर पुर्‍याउन हामीले जोड गरिरहेका छौं,' पन्तले भने ।

 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by