मुलुक विभाजनको ‘खुसियाली’

विध्वङ्शक गुण–क्षमता भएकाहरूबाट एकताबद्ध नेपाली र नेपालको रक्षा असम्भव

 

329

देवप्रकाश त्रिपाठी

नेपाली राजनीतिकर्मीहरूको योग्यता, क्षमता, दूरदर्शिता र इमानदारीको परीक्षण इतिहासले पटक–पटक गर्दा उनीहरू उत्तीर्ण हुन नसकेको जानकारी नेपाली जनता र नेपालका हितैषीहरूलाई नभएको होइन । तर, बहुसङ्ख्यक जनतालाई उपेक्षा गर्दै देश विघटनको जग राख्ने तहसम्मको बेइमानी सापेक्ष व्यवहार यिनीहरूबाट होला भन्ने सोचिएको थिएन, नसोचिएकै व्यवहार राजनीतिक नेतृत्वबाट प्रस्तुत भएको छ, त्यसैले अब देश रक्षाका निम्ति हामी जनता आफैँले सोच्नुपर्ने निर्णायक समय आएको छ ।

Dev-prakash-tripathi-2हो, घरमा स्वामित्वबोध नभएपछि एउटै आमाबाबुका सन्तान पनि अलग्गिएर आफ्नै सानो संसारको मालिक बन्न चाहन्छन् र अलग्गिँदा तिनले आनन्दानुभूति गर्ने गरेको पनि पाइन्छ । तर, सन्तानबीच विभाजन आउँदा या आफूसँग कुनै सन्तान अलग्गिँदाको पीडा आमाबाबुलाई बेग्लै रूपमा हुन्छ । देश विभाजनका क्रममा पनि छुट्टिन या छुट्याउन चाहनेहरू विभाजनमा आनन्दबोध गर्ने गर्छन् भने राष्ट्रवादीहरू पीडाभावको उत्कर्षबाट गुज्रिरहेका हुन्छन् । राष्ट्रपीडाको गर्भबाट नै हिटलरहरूको जन्म पनि सम्भव हुने हो । दक्षिणी सुडानका बासिन्दाले राज्य सत्तामा सम्भवतः स्वामित्वबोध गरेनन्, अलग्गिनका लागि लामो सङ्घर्ष गरे र अन्ततः जनमतसङ्ग्रहमार्फत अलग्गिए । देश विभाजन गराउन सकेकोमा उनीहरूलाई खुसी अवश्य मिलेको हो, तर राष्ट्रवादी सुडानीहरू कहिल्यै भुल्न नसक्ने विभाजनको पीडासहित बाँचिरहेका छन् । दक्षिणी इथियोपियनहरूले पनि छुट्टै देश ‘इरिट्रिया’ बनाउन सक्नुको ‘आनन्द’ लिइरहेका होलान्, तर राष्ट्रवादी इथियोपियनहरूले देश विभाजनको पीडा अझै भुल्न सकेका छैनन् ।

छिमेकी मित्रराष्ट्र भारतलाई विभाजन गरेर पाकिस्तान बनाइनुको पीडाबाट कुनै पनि राष्ट्रवादी भारतीय मुक्त भएका छैनन् । धेरैपछि मात्र सोभियत सङ्घमा जोडिएका गणराज्यहरू बहत्तर वर्ष लामो साम्यवादी शासनको अन्त्यसँगै रसियाबाट छुट्टिए, छुट्टिँदाको पीडा रसियालीले रामै्रसँग भोगे । एकीकृत युगोस्लाभिया पाँच टुक्रामा विभाजित भएर युगोस्लाभिया नाम–शब्द इतिहासको पानामा सीमित हुनपुग्यो । विशेष कारणवश छुट्टिएका कोरियालीहरू बग्लाबेग्लै ढङ्गले व्यथा प्रकट गर्दै छन् । देश छुट्टिनु या विघटन हुनुको कष्ट स्थायी प्रकृतिको हुन्छ ।

आफ्नो मुलुकमा आफैँ पराया बन्नुको पीडा अफगानिस्तानका पस्तुनहरू र प्यालेस्टाइनका नागरिकहरूले भोगिरहेका छन् । करिब अढाइ शताब्दीअघि बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अगुवाइमा निर्मित एकीकृत नेपालका ‘आधुनिक’ नेताहरूले देश विभाजनको प्रारम्भिक अभ्यासलाई वैधानिकताको जलप लगाउने निर्णायक कसरत गरिरहेका छन् । संविधान नामको ‘कागजी दस्तावेज बनाएर देखाइदिने बहादुरी’ प्रस्तुत गर्न चार दलका नेताहरूले रहस्यमयी कपटपूर्ण क्रियाकलाप गरिरहँदा देश जलिरहने सङ्केतहरू देखा परिसकेका छन् । तर, देशको एकता, स्थायित्व, समृद्धि र आपसी सद्भावको पक्षमा राष्ट्रवादी नेपालीले रुँदा बगरेका अगाडि राँगा–बोकाले आँसु बगाएसरहको अवस्था बनेको छ । पन्ध्रौँ शताब्दीतिरका कुनै सम्राटले देखाएकोभन्दा बढी क्रूरता र छुद्रता वर्तमान राजनीतिक नेतृत्वले देखाउँदै छ । प्रमुख नेताहरूमध्ये केपी ओलीका सोच राष्ट्रवादसम्मत मानिन्छन्, तर समग्र भूमिकामा उहाँलाई मात्र अलग्याएर बुझिएको छैन । संविधान बनाउने नाममा देश जलाउने प्रयास जुन भइरहेको छ यसबाट अलग नहुँदा केपीका राष्ट्रिय हितकेन्द्रित सोचको अवमूल्यन हुन खोजेको छ । विभाजन पीडादायी हुन्छ, तर एकीकरण पनि कम्ती पीडादायीचाहिँ हुँदैन ।

संयुक्त राज्य अमेरिकाले आजको एकीकृत रूप पाउन इतिहासमा दुई–दुईपटक हिंसात्मक गृहयुद्धको सामना गर्नुपरेको थियो । समृद्धिको उदाहरण मानिने स्वीट्जरल्यान्डले पनि दुईपटक गृहयुद्धको सामना गर्नुपरेको हो । विश्वमा सङ्घीयता र समृद्धिको दृष्टान्त बनेका यी दुई मुलुकको पृष्ठभूमि हाम्रोभन्दा नितान्त भिन्न छ । अङ्गे्रजीभाषी ब्रिटिस, फ्रेञ्चभाषी फ्रान्सेली, स्पानिसभाषी स्पानिस र पोर्चुगिजलगायत अनेकौँ स्वतन्त्र देशका नागरिक आफ्नो देशको झन्डा, भाषा, संस्कृति, परम्परा, संस्कार र मौलिक सोचसहित अमेरिका पुगेका थिए ।

उनीहरूले एक–अर्काको आधिपत्य स्वीकार गर्न सक्ने अवस्था थिएन, त्यसैले एउटै झन्डामुनि बेग्लाबेग्लै राज्य निर्माण उनीहरूको आवश्यकता र बाध्यता हुन पुग्यो । स्वीट्जरल्यान्डले पनि इटालियन, फ्रेञ्च र जर्मनलगायतका मूलवासीहरूले एक–अर्काको अधिनायकत्व स्वीकार गर्न नसक्ने भएपछि ‘सङ्घीयता’ अपनाउन बाध्य भएको हो । सङ्घीयता अभ्यास गरिरहेको बेल्जियममा उत्पन्न तनाव र टक्करले कुनै पन दिन उक्त मुलुक विभाजित भएको सुन्नुपर्ने अवस्था पैदा गरेको छ । ब्रिटिस र फ्रेञ्च मूलका नागरिकहरूबीचको टक्करले क्यानडालाई पनि धेरै लामो समय सास्ती दिएको हो । अङ्गे्रजी भाषालाई सरकारी कामकाजको भाषा बनाउँदै आएको क्यानडाले तनाव अन्त्यकै निम्ति फ्रेञ्च भाषालाई समेत सरकारी कामकाजको भाषा बनायो । तथापि फ्रेञ्च बहुल क्युवेक प्रान्तले क्यानडाबाट अलग हुने मानसिकता त्यागिसकेको छैन । रसियन भाषा बोल्ने पूर्वी युक्रेनका बासिन्दाले देश टुक्र्याएर विशाल रसियामा आफूलाई समाहित गरिसकेका छन् । त्यसबाट युक्रेनी राष्ट्रवादीलाई कति गहिरो पीडाबोध भएको होला त्यसको अनुमान गर्न सकिन्छ ।

संविधान नामको ‘कागजी दस्तावेज बनाएर देखाइदिने बहादुरी’ प्रस्तुत गर्न चार दलका नेताहरूले रहस्यमयी कपटपूर्ण क्रियाकलाप गरिरहँदा देश जलिरहने सङ्केतहरू देखा परिसकेका छन् । तर, देशको एकता, स्थायित्व, समृद्धि र आपसी सद्भावको पक्षमा राष्ट्रवादी नेपालीले रुँदा बगरेका अगाडि राँगा–बोकाले आँसु बगाएसरहको अवस्था बनेको छ । पन्ध्रौँ शताब्दीतिरका कुनै सम्राटले देखाएकोभन्दा बढी क्रूरता र छुद्रता वर्तमान राजनीतिक नेतृत्वले देखाउँदै छ । प्रमुख नेताहरूमध्ये केपी ओलीका सोच राष्ट्रवादसम्मत मानिन्छन्, तर समग्र भूमिकामा उहाँलाई मात्र अलग्याएर बुझिएको छैन ।

उल्लिखित मुलुकहरू विभाजित भएझैँ नेपाल टुक्रिएको या टुक्रिन लागेको होइन, त्यसैले कुनै पनि राष्ट्रवादीहरूले रुवावासी गर्नुपर्ने कारण या अवस्था छैन भनेर पनि वर्तमानलाई बुझ्न सकिन्छ । तर, स्थापनाकालदेखि नै एकात्मक अभ्यास गर्दै आएको मुलुकको सार्वभौमसत्ता खण्डित गरेर विभिन्न नामका राज्यहरू अस्तित्वमा ल्याउने जुन प्रयास हुँदै छ यसले भविष्यमा नेपाल विखण्डित गर्ने आधारशिला खडा गरेको छ, सङ्घीयतामा गइसकेपछि अफ्रिकी मुलुक युगाण्डाझैँ पुनः एकात्मक राज्यमा नेपाल फर्किने सम्भावना कम, युगोस्लाभियाझैँ विखण्डित भएर अन्ततः अस्तित्वहीन हुने सम्भावना ज्यादा छ । ०६३ सालको प्रायोजित राजनीतिक परिवर्तनपश्चात् यहाँको राजनीतिक नेतृत्वले गरेको अभ्यास राष्ट्रिय एकतालाई कमजोर तुल्याउने, जातीय, क्षेत्रीय तथा अन्य तहको सामाजिक सद्भाव खलबल्याउने र सार्वभौमसत्ता खण्डित गर्नेबाहेक अर्को उद्देश्यबाट पे्ररित रहेको ठान्न मिल्ने देखिएन । कुनै बेला राजसंस्था थियो र सबैथरी नेपालीले त्यसलाई आफ्नो ठान्न पाउने वैधानिक एवम् राजनीतिक अवस्था भएकोले राजसंस्थालाई राष्ट्रिय एकताको आधार मानिन्थ्यो । सर्वप्रथम राजसंस्था भत्काइयो । हिन्दुत्व नेपालीबीचको एकताको अर्को आधार थियो र हो, यसलाई कमजोर बनाउन ‘धर्मनिरपेक्ष’ बनाइयो र धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा व्याख्या–चर्चा गरियो ।

सबै नेपालीले बुझ्न सक्ने नेपाली भाषा राष्ट्रिय एकताको एउटा साधन–सूत्र हो । प्रदेशहरूले सरकारी कामकाजको भाषा आफूले निर्धारण गर्नसक्ने व्यवस्था गरेर भाषिक एकतालाई खण्डित गर्ने काम पनि ‘ग्याङ अफ फोर’ले गरिसकेका छन् । सङ्घीय राज्यहरूको निर्माणपश्चात् ती कुनै पनि राज्यका जनताले जनमतसङ्ग्रहमार्फत देश विभाजनको विधिवत् निर्णय गर्न सक्ने व्यवस्था संयुक्त राष्ट्रसङ्घले गरेकै छ । त्यसैले एकीकृत सार्वभौमिकतालाई खण्डित गर्नु अर्थात् स्वायत्त चरित्रका विभिन्न राज्यहरू खडा गर्नु भनेकै हाम्रो सन्दर्भमा देश विभाजनको निम्ति जग हाल्नु हो, महान् कार्य सम्पादन गरेको भन्दै ‘ग्याङ अफ फोर’ले विखण्डनलाई वैधानिक जलप लगाउने काम गरेको छ । अरूको निम्ति लड्ने, अरूकै भूमिप्रति आकर्षित हुने र ममता राख्ने, चल्नका निम्ति साङ्गीतिक समूहका सदस्यहरूले ब्यान्डमास्टरको हातका इसारा पर्खेझैँ महत्वपूर्ण निर्णय लिनुअघि विदेशीका इच्छा, इसारा र निर्देशन पर्खने जनता र नेताबहुल देश सङ्घीयतामा गइसकेपछि अन्ततः प्राप्त हुने परिणाम भनेकै देशको विघटन हो, जसको थालनी चार दलका अगुवाहरूले गरेका छन् ।

नाइजेरियाले शान्ति, स्थिरता र समृद्धिको सट्टा चरम द्वन्द्व, गरिबी, अभाव, अराजकता र तनाव व्यहोरिरहेको छ । इसाईहरूका विरुद्ध क्रियाशील मुसलमानहरूले नाइजेरियालाई इस्लामिक राज्य बनाउन माग गर्दै हिंसात्मक सङ्घर्ष सुरु गरेको पनि कैयन वर्ष बितिसकेको छ

यस सन्दर्भमा नाइजेरियाको इतिहासबारे सङ्क्षिप्त उल्लेख गर्नु उपयुक्त हुनेछ । दक्षिणी नाइजेरियालीको लामो कचकचपछि एक सय एक वर्षअघि अर्थात् सन् १९१४ मा दक्षिणी नाइजेरियालाई केही स्वायत्त अधिकार दिएर राज्यले समस्याको समाधान खोजेको थियो । दक्षिणी भूभागलाई केही विशेष अधिकार दिएर सङ्घीय अवधारणातर्फको पाइला चाल्दा आमनाइजेरियाली र राज्य तथा त्यहाँका राजनीतिकर्मीहरूले समस्याको विजारोपण नभई समाधानको प्रयास गरेको सम्झेका थिए । तर, दक्षिणी नाइजेरियालीले एक हदसम्मको स्वायत्तता अर्थात् विशेष अधिकार पाइसकेपछि पश्चिमी भूभागबाट पनि स्वायत्त राज्यको माग हुन थाल्यो । छुट्टै प्रदेश प्राप्तिका निम्ति चार दशकभन्दा बढी लडाइँ लडेपछि सन् १९५८ मा पश्चिमतर्फ पनि एउटा अर्को प्रदेश बनाइयो । यसपश्चात् जातीय तथा भौगोलिक विविधता रहेको सो मुलुकमा एकसाथ दर्जनौँ समूहहरू आ–आफ्ना राज्य निर्माणका निम्ति आन्दोलित हुन थाले । अहिलेसम्म नाइजेरिया छत्तीसभन्दा बढी राज्यमा विभाजित भइसकेको छ, तथापि नाइजेरियाले शान्ति, स्थिरता र समृद्धिको सट्टा चरम द्वन्द्व, गरिबी, अभाव, अराजकता र तनाव व्यहोरिरहेको छ । इसाईहरूका विरुद्ध क्रियाशील मुसलमानहरूले नाइजेरियालाई इस्लामिक राज्य बनाउन माग गर्दै हिंसात्मक सङ्घर्ष सुरु गरेको पनि कैयन वर्ष बितिसकेको छ र यसक्रममा हजारौँ निर्दोष नागरिकहरूले जीवन गुमाएका छन् । यही अवस्थाको निरन्तरता कायम रहे नाइजेरियाले अर्को एक शताब्दी पनि हिंसात्मक द्वन्द्व, विवाद र तनावकै बीच गुजार्नु नपर्ला भन्न सकिँदैन ।

हो, हामीलाई अहिले सन् १९१४ मा नाइजेरिया रहेकै अवस्थामा पु(याउन खोजिएको छ, शताब्दी–शताब्दीसम्म द्वन्द्व यथावत् रहने विषयको विजारोपण गरेर ‘ग्याङ अफ फोर’ले कहिल्यै माफी दिन नसकिने स्तरको अपराध गरेका छन् । संविधान आउने खुसियालीसँग सार्वभौमिकताको विभाजन नजोडिएको भए नेपालीका लागि यो समय इतिहासकै सुवर्ण क्षण बन्न पनि सक्थ्यो । संविधानसँगै विभाजन जोडिएकोले संविधान बन्ने कुराले खुसी हुनु भनेको देश विखण्डनको विजारोपणका निम्ति खुसी बनेको अर्थ लाग्नेछ । हामी यस्तै खुसी समेट्दै छौँ । सङ्घीयतामा नगएर विकेन्द्रीकरणको अवधारणामा जाँदा कुनै क्षेत्रविशेषका केही मान्छेले एकपटक सङ्घर्ष गर्ने हुन्, तर सङ्घीयतामा जाँदा नेपाल नामको देश अस्तित्वमा रहेसम्म द्वन्द्वले निरन्तरता पाउनेमा शङ्का गरिरहनुपर्ने छैन । गमला बनाउनभन्दा फुटाउन सजिलो हो, विध्वङ्शक गुण–क्षमता भएकाहरूबाट एकताबद्ध नेपाली र नेपालको रक्षा असम्भव छ भन्ने बुझ्न हामी जनताले विलम्ब गर्नुको परिणाम देशलाई प्राप्त हुँदै छ । त्यसैले प्रश्न उठ्न थालेको छ– ‘अब अरू कति सहने हँ ?’

 

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next हिन्दी गीतहरु -by