देउवालाई पौडेलको जवाफ: राष्ट्रपति-प्रधानमन्त्री तपाईं बन्नुस्, सभापति मलाई

img-featured

 

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनी आफूलाई सभापतिमा सहयोग गर्न वरिष्ठ नेता शेरबहादुर देउवाले गरेको आग्रहको केही घण्टा वित्न नपाउँदै पौडेलले पनि देउवालाई त्यस्तै प्रस्ताव राखेका छन्।
 
अनामनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बिहीबार पत्रकारहरुसँग अनौपचारिक कुराकानी गर्दै पौडेलले भने, 'मलाई सभापतिमा समर्थन गरे शेरबहादुरजीले राष्ट्रपति, प्रधानमन्त्री जे हुन्छ त्यसैमा एड्जस्ट गराउँछु।'
 
आफ्नो निवास बुढानिलकण्ठमा पत्रकारहरुसँग कुरा गर्दै नेता देउवाले सभापतिमा आफूलाई समर्थन गरेर पौडेल प्रधानमन्त्री बने पार्टीमा बलियो एकता हुने धारणा राखेका थिए।
 
देउवाको प्रस्तावलाई अस्वीकार गर्ने क्रममा दुई दाजुभाइबीच भएको केराबारीको अंशबण्डाको कथा सुनाउँदै पौडेलले भने, 'बाठो दाजुले सोझो भाइसँग केराबारी किन चिरा पार्ने भन्दै बरु पसाएको केरा मलाई नपसाएको केरा तँलाई भनेको थियो रे। देउवाजीको प्रस्ताव पनि त्यस्तै होे।'
 
पहिलो संविधानसभा चुनाव लगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राष्ट्रपति बनाउन पहिलो रोजाइमा राख्दै प्रस्ताव गर्दा समेत आफूले लोकतन्त्रको लडाइ अझै बाँकि रहेको भन्दै आफू सक्रिय राजनीतिको मैदानमा उभिएको पौडेलले बताए।
 
'त्यतिबेला राष्ट्रपति बनाउने पूर्ण आश्वासन पाउँदा त मैले राजनीतिबाट थन्किनँ चाहिन भने अहिले नयाँ संविधानको सफल कार्यन्वयनद्वारा लोकतन्त्र दिगो बनाउन र  पार्टी सक्षम बनाउन मेरो नेतृत्व आवश्यक छ,' उनले भने।
 
पहिलो संविधानसभामा दोस्रो बनेको पार्टीको संसदीय दलको नेताको हैसियतमा आफूले खेलेको भूमिकाकै कारण दोस्रो संविधानसभामा कांग्रेस पहिलो ठूलो दल बन्न र त्यसैको नेतृत्वमा मुलुकमा नयाँ संविधान ल्याउन सफल भएको उनले दाबी गरे।
 
'नयाँ संविधानले परिकल्पना गरेको परिवर्तनको दिशातर्फ देशलाई अघि बढाउन पनि कांग्रेसलाई बहुमतसहितको पार्टी बनाउनु छ,' उनले थप्दै भने, 'त्यसका लागि पनि पार्टीलाई सक्षम नेतृत्व दिन मेरो अगुवाइ र क्रियाशिलता आवश्यक छ।'
 
पार्टी सभापति सुशील कोइरालाको असामयिक निधनका कारण सिंगो पार्टी नै जुठो बारेर बसेको अवस्थामा उम्मेदवारीबारे फर्मल कुरा गर्न उपयुक्त नहुने बताउदा बताउँदै उनले भने,'पार्टीलाई मेरो नेतृत्व र कामगर्ने सोच, निति र अवधारणा आवश्यक छ।'
 
पार्टीभित्र देखिएको चरम गुटबन्दी र भागवण्डाको राजनीतिलाई अन्त्य गर्दै पार्टी संगठनलाई एकताबद्ध बनाउन पनि आफूलेे हस्तक्षेपकारी नेतृत्व गर्न जरुरी भएको उनले बताए।
 
संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्न कसरत गरिरहेका पौडेलले आफू सभापति भएमा आफ्नो नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा जस्तै सबैलाई मिलाएर लानसक्ने दाबी गरे।
 
संस्थापन पक्षका कतिपय नेताहरुले नै सभापति, उपसभापति र महामन्त्रीमा हानथाप गरिरहेको बेला तपाईंको नेतृत्वको टिममा कुन कुन नेतालाई राखेर अघि बढ्दै हुनुहन्छ भन्ने प्रश्नको स्पष्ट जवाफ नदिइ पौडेलले भने, 'सबै साथीहरुसँग कुरा गरी कम विवाद हुने टिम बनाउने हो।'
 
वीपी पुत्र शशांक कोइरालादेखि महामन्त्रीद्वय  प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले पार्टी नेतृत्व दाबी गरिरहेको अवस्थाबारे पौडेलले आफूहरुबीच छलफल गरी सहमतिका आधारमा अघि बढ्ने बताउदै उनले भने, 'आवश्यकता अनुसार म लचिलो भएर छलफल गर्न तयार छु।'
 
पार्टीको क्षेत्रीय र जिल्ला अधिवेशनबाट तपाईको समर्थनमा कति मत आएको छ भन्ने प्रश्नको जवाफमा पौडेलले ४५ जिल्लामा ३२ जिल्ला सभापति आएजस्तै प्रतिनिधिहरु पनि आफ्नो पक्षमा स्वस्फूर्त आएको दाबी गरे।

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by