परिवर्तनकी अगुवा उमाकुमारी बादी

परिवर्तनकी अगुवा उमाकुमारी बादी

नुनुता राई काठमाडाैं | 

 

कैलालीकी उमाकुमारी बादी कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेकी छिन् । बादी समुदायको हकहितका लागि लड्दै आएकी उमाकुमारीको चर्चा ०६४ मा बादी समुदायका महिलाले गरेको आन्दोलनको नेतृत्व गरेदेखि भएको हो । त्यसवेला उनीहरूले भदौ १ गतेदेखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबारको पश्चिमढोकाअगाडि अर्धनग्न जुलुस निकालेर संघर्ष गरेका थिए । सरकारले सुनुवाइ नगरेपछि जबर्जस्ती सिंहदरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक लगाउँदा उनी अर्धनग्न अवस्थामै गेटमा चढेकी थिइन् ।
२३ जिल्लाका बादी अगुवाले २६बुँदे माग लिएर गाउँदेखि केन्द्रसम्म गरेको यात्राको नेतृत्व उनले गरेकी थिइन् । आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोवास, यौनपेसाको अन्त्य, निःशुल्क शिक्षा, छुवाछुत अन्त्यलगायत उनीहरूका माग थिए । आन्दोलनमा मानव अधिकारकर्मी र विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएपछि सरकारलाई दबाब बढेको थियो ।
सरकारले नेपालगन्जमै उनीहरूको गाँसबासको व्यवस्था गर्ने आश्वासन दियो । तर, चित्त नबुझेपछि उमाकुमारी देशभरका बादी समुदायका मुद्दा लिएर फेरि सिंहदरबार पुगिन् । अन्ततः ०६५ पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले बादी महिलालाई यौन शोषणमुक्त र पुनस्र्थापना गर्ने घोषणा गरेको थियो ।


आमाको नामबाट जन्मदर्ता र नागरिकता पाउने संवैधानिक ग्यारेन्टी भयो । सरकारले यौन पेसामा लागेका बादी महिलालाई आत्मसम्मानका साथ पुनस्र्थापना गर्ने निर्णय पनि ग¥यो । त्यही निर्णयपछि बादी महिलाले देहव्यापार त्यागेको घोषणा गरेका थिए । बादी बस्तीमा निगरानी समूह गठन गरेर उनीहरू आफैँ देहव्यापारविरुद्ध ओर्लिएका हुन् । सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले पनि बादी समुदायका महिलाको यो अभियानलाई सहयोग गरेका थिए । उमाकुमारी भन्छिन्, ‘त्यो आन्दोलनले हाम्रो समुदायमा आकाश–जमिनको फरक ल्याएको छ । पहिला यौनपेसा गर्ने उमेरका किशोरी अहिले सीप सिक्न थालेका छन् ।’ बादी समुदायको यो परिवर्तनलाई समाजले पनि साथ दिएकोमा उनले खुसी व्यक्त गरिन् । भनिन्, ‘सबैले सकारात्मक रूपमा लिनुका साथै साथ दिँदै आएका छन् । खुसी लाग्छ ।’ राष्ट्रिय बादी अधिकार संघर्ष समितिकी अध्यक्षसमेत रहेकी उमाकुमारी बादी समुदायको हक र अधिकारका लागि निरन्तर लड्दै आएकी छिन् । उनको आँट र चेतले बादी समुदायले सकारात्मक परिवर्तनको बाटो पहिल्याउँदै छ ।
उमाकुमारीको संघर्ष र साहसबारे धेरैलाई थाहा छ । त्यही संघर्षले गर्दा बादी समुदायलाई समाज तथा राज्यले गर्ने व्यवहारमा परिवर्तन आएको उनी बताउँछिन् । प्रदेश सभाको सदस्य ‘माननीय’ भएपछि फेरि उनको चर्चा चुलिएको छ । उमाकुमारी आफूमा चेतना आएसँगै बादी समुदायको हक–अधिकारको खोजी गर्दै आएको बताउँछिन् । भन्छिन्, ‘ममा चेत आएदेखि यस समुदायको हकअधिकारका लागि समाज हुँदै राज्यसँग संघर्ष गर्दै आएकी छु ।’ उनी बादी समुदायको मात्र नभएर सम्पूर्ण नेपाली महिलाको समानताका लागि समेत लड्दै आएको बताउँछिन् । आमाको नाममा जन्मदर्ता र नागरिकताको माग पनि समेट्दै आएकी छिन् ।
बादी समुदायका लागि सरकारले नेपालगन्जमा गाँसबासको व्यवस्था गर्ने आश्वासन दिए पनि प्रभावकारी नभएको उनको भनाइ छ । स्थायी बसोवासको व्यवस्था नहुँदा राज्यले दिएको सहयोग रकमले उनीहरूको जीवन परिवर्तन गर्न नसकेको उनको भनाइ छ । बादी समुदायले उनी माननीय भएसँगै धेरै आस र भरोसा जागेको बताउँछिन् । भन्छिन्, ‘मैले सडकमा बादी समुदायले पाउनुपर्ने हकअधिकारको विषयमा चर्को आवाज उठाउँदै आएकी थिएँ । आज सदनमा उठाउने अवसर पाएकी छु । यो अवसरको पूरै सदुपयोग गर्नेछु । बादी समुदायले मप्रति गरेको विश्वास र आशा खेर जान दिनेछैन ।’

 

radio programs

View All
  • On air नेपाली आधुनिक गीतहरु -by
  • up next पुराना हिन्दी गीतहरु -by