जेशिपुरका ब्यापारी जैशीको हत्यामा संलग्न तीन जना पक्राउ ।

img-featured

 
 
 
देवानन्द न्यौपाने लम्की असोज ४ / कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २८ गते जोशीपुर बजारमा आपmनै किराना पसलमा जैशीको हत्या गर्ने सोही ठाउँका ४१ वर्षीय गंगाराम चौधरी र ३८ वर्षीय राजकुमार डगौरालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले दुवै जनालाई बुधबार पक्राउ गरेको जानकारी दिनुभयो ।
 
साथै घटना बारे जानकारी भएरपनि प्रहरीलाई खबर नगरी अभियुक्तलाई सहयोग गर्ने टीकापुर नगरपालिका–३ घर भई गोदावरी नगरपालिका–८ मा पसल गरी बस्ने ३५ वर्षीय डम्मर चौधरीलाई पनि सार्वजनिक गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार व्यापारीसँग प्रशस्त पैसा हुने भएकाले उनीसँग भएको पैँसा लुट्नकै लागि हत्या गरिएको खुलेको छ । छोराछोरीसहित श्रीमती तीज मनाउन माइती घर टीकापुर गएको मौका छोपेर दुवै जनाले जैशीको पसलमै आएर वियर खाएको र त्यही क्रममा मसिनो तारले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
दुवै जना पहिलेदेखि जैशीसँग रकम लेनदेन गर्दै आएको र पछिल्लो समय दुवैजना आर्थिक रुपमा समस्यामा परेकाले हत्या गरेर रकम लुट्ने योजना बुनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले बताउनुभयो । हत्यामा संलग्न भनिएका राजकुमार यसअघि दुई बर्ष मलेसिया बसेर फर्किएको र उनले मलेसिया जाँदा पनि जैशीबाट नै रकम मागेर लगेको वलीले जानकारी दिनुभयो । जैशीको हत्या गरेर कति रकम लुटे त्यो बारेमा एकिन हुन नसकेपनि राजकुमारबाट सात हजार एक सय १० भारतीय रुपैँया, जैशीको मोवाईल सेट तथा २२ थान एक सयका रिचार्जकाड बरामद गरिएको प्रहरीले जनाएको छ ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by