पिएफए अत्तरीया फारवेष्ट पशुपति कप च्याम्पीयन


      धनगढी/ नाज ओभरसिज पिएफए अत्तरीयाले चौथो संस्करणको फारवेष्ट पशुपति कपको उपाधि जितेको छ । शनिवार धनगढी रंगशालामा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई टाईब्रेकरणमा हराउँदै च्याम्पीयन बनेको हो । तेस्रो संस्रकणमा आयोजक फारवेष्ट पशुपतिसँगै फाईनलमा पराजित भएको बदला लिदैं पिएफए अत्तरीया चौथो संस्करणको विजेता बनेको हो । अत्तरीयाले फारवेष्ट पशुपतिलाई टाईब्रेकरमा ५–३ ले पराजित गर्दै नगद चार लाख सहित ट्रफी हात पारेको छ । उपविजेता बनेको फारवेष्ट पशुपतिले नगद दुई लाखमा चित्त बुझाएको छ । 


निर्धारित समयसम्म कुनै पनि टीमले गोल नगरेपछि टाईब्रेकरबाट विजेता उपविजेता टुङगाईएको हो । फारवेष्ट पशुपतिका लागि महेश चन्द जोजोको प्रहार बाहिरिएका कारण आयोजक विजेता बन्नबाट चुकेको हो । फारवेष्टका लागि भिष्म भाट, कृष्ण कठायत, र दिपेन्द्र वुढाले गोल गर्दा पाँचौ प्रहार भने कुनै पनि खेलाडीले गरेनन् । नाज ओभरसिज पिएफएलाई उपाधि जिताउने क्रममा मिलन भट्ट, दिपेश आलेमगर, सन्तोष कार्की, वादल पाख्रीन र आशिष क्षेत्रले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे । 

 

पुस ८ गतेदेखि सुरु भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी फारवेष्ट पशुपतिका भिष्म भाट भए । उनले नगद १५ हजार हात पारे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक फारवेष्टका प्रितम खड्का, उत्कृष्ट रक्षक फारवेष्टकै कृष्ण कठायत, उदयमान खेलाडी पिएफए अत्तरीयाका अशोक चौधरी र सर्वाधिक गोलकर्ता पिएफए अत्तरीयाकै आशिष श्रेष्ठ भए । सवै विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही १०÷१० हजार प्रदान गरिएको छ । 

क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले सिल्ड ट्रफी तथा प्रमाण पत्र प्रदान गरे । 
प्रतियोगिताको चौथो संस्करणमा देशका विभिन्न स्थानका १६ टीमको सहभागीता रहेको थियो । चार बर्षदेखि लगातार फारवेष्ट पशुपति कप आयोजना गर्दै आएको फारवेष्ट पशुपति युवा क्लब छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताउने खेलाडीहरुले गठन गरेको क्लब हो । 


 

प्रतिकृया दिनुहोस