रवि लामिछानेको वयानः वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ

 

डिभोर्सको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेका छन् सञ्चारकर्मी रवि लामिछाने । त्यसो त उनी आफ्नो आक्रामक पत्रकारिताले केही समयदेखि चर्चामै थिए । तर, पछिल्लो चर्चा भने उनका निम्ति प्रिय छैन ।

 

शुक्रबार बिहान रविले फेसबुकमा लामो स्टाटस पोस्ट गर्नासाथ तरंग उब्जियो । आफ्नो निजी जीवनका केही विवादास्पद तथ्य मिडियामा आउन लागेको थाहा पाएर उनले चलाखीसाथ सुरुमै आफ्नो भनाइ सार्वजनिक गरिदिएका थिए ।

 

 

 

रवि र उनकी पत्नी इशा श्रेष्ठको केही दिनअघि डिभोर्स भएको हो । उनीहरुबीच दुई वर्षदेखि बोलचालै थिएन । रविले अर्की युवतीसँग लागेर आफूलाई डिभोर्स दिन वाध्य पारेको दावी इशाले गरिरहेकी छन् ।

 

रविले भने आफ्नी पूर्वपत्नी डिप्रेसनको रोगी भएको बताएका छन् । ‘उनी पहिलेदेखि नै औषधी खान्थिन्,’ रविले अनलाइनखबरसँग भने, ‘डिप्रेसनका रोगीहरु एकदम हठी र कुरै नबुझ्ने हुँदा रहेछन् । अहिले पनि उनी यो रोगबाट मुक्त भएकी छैनन् ।’

 

विदेशी गर्लफ्रेन्ड र बच्चाको बारेमा

 

आफ्नो फेसबुक स्टाटसमा रविले एक विदेशी महिलासँग विवाहइतर सम्वन्ध रहेको र त्यसबाट एक सन्तान पनि भएको स्वीकार गरेका छन् । रविको भनाइ अनुसार ती महिलासँग उनले बिहे भने गरेका थिएनन् । केवल लिभिङ टुगेदरमा थिए ।

 

यस्तो सम्वन्धलाई चलनचल्तीमा ‘परस्त्रीगमन’ भनिन्छ । परस्त्रीगमन गरेर सन्तान जन्माउनु नेपालको कानूनअनुसार दन्डनीय हो र सांस्कृतिक दृष्टिकोणले पनि अनैतिक । रवि स्वयम्ले पनि यसमा आफ्नो कमजोरी स्वीकारेका छन् ।

 

उनले भने, ‘घरमा श्रीमतीसँग सम्बन्ध बिग्रेपछि आवेशमा मैले बाहिर सम्वन्ध राख्न पुगेँ । सायद नैतिक दृष्टिले त्यसमा मेरो अलिकति चुक भयो । तर, त्यसमा मेरोभन्दा परिस्थितिको बढी दोष थियो ।’

यद्यपि, अमेरिकामा यस्तो सम्वन्ध गैरकानूनी भने नहुने उनको भनाइ छ । ‘यस्तो सम्वन्ध त्यता गैरकानूनी मानिँदैन, तर जन्मिएको बच्चाको जिम्मेवारी भने लिनुपर्छ,’ उनले भने ।

 

रविले ती महिला कुन देशकी हुन् भन्ने खुलाउन चाहेनन् । आमा र बच्चा दुवैसँग आफू अहिले सम्पर्कमा नरहेको समेत उनको भनाइ छ । ‘उनीहरु आफ्नो तरिकाले बसिरहेका होलान् । मसँग सम्पर्क भएको छैन । यद्यपि आफ्नो बच्चा हो, माया त लागिहाल्छ । बेलाबेला याद आउँछ । तर, अब उनीहरु आफ्नो बाटो, म आफ्नो बाटो भइसक्यौं । यो सम्वन्धलाई बिर्सने प्रयासमा छु,’ रविले भने ।

 

यद्यपि, आवश्यक पर्दा आफूले आमा र बच्चा दुवैको आर्थिक दायित्व वहन गर्दै आएको पनि उनको जिकिर छ । ती महिलासँग आफू डेढ-दुई वर्ष मात्र लिभिङ टुगेदरमा रहेको रविले बताए ।

 

 

उनीसँग के कारणले सम्वन्ध टुट्यो भन्ने खोल्न चाहेनन् । ‘यो सन्दर्भलाई धेरै खोतल्न चाहन्न, उनको जिन्दगीलाई असर गर्न सक्छ,’ रविले भने ।

सफल प्रेम, असफल बिहे

 

नगरकोटमा जन्मेका रवि र डिल्लीबजारमा जन्मेकी ईशाको प्रेमविवाह भएको हो । बिहे ०५२ साल कि ५३ सालमा भएको भन्ने रविले ठ्याक्कै सम्झिन सकेनन् । विजय मेमोरियल स्कुल पढ्दा उनीहरु प्रेममा परेका थिए । तर, अर्को जातको भन्दै रविका परिवारले ईशालाई स्वीकार नगरेपछि उनले भगाएर नगरकोट लगे । उनीहरु भागेको हल्ला फैलिएपछि इशाको परिवारले बोलाएर विवाह लागि दबाव दिए । अन्ततः रविले पनि आफ्नी आमालाई सहमतिमा ल्याए । अनि, ईशाको घरमा गएर सिन्दुरपोते गरियो । रविका अनुसार बिहे हुँदा उनी १९ वर्षका मात्र थिए ।

 

नेपालमा केही समय फिल्म पत्रकारिता गरेका रवि सन् २००२ मा श्रीमती र दुई छोरीलाई छोडेर पढ्न भन्दै अमेरिका गए र त्यतै सेटल भए । अमेरिकामा सुरुका वर्षहरुमा आफूले निकै दुख गरेको रवि बताउँछन् । फलस्वरुप उनी ३ वर्षभित्र बाल्टिमोरमा मोर्गेजमा घर पनि किन्न सफल भए ।

 

यता नेपालमा रहेकी श्रीमतीले भने रविका बारेमा अनेकथरी कुरा सुन्न थालिन् । आफ्नो श्रीमानको अमेरिकामा अरुसँग सम्वन्ध रहेको शंका उनीमा बढ्दै गयो । मनमुटाबको बिउ यही बन्यो । ‘म भने परिवारका लागि दिनरात मिहिनेत गरिरहेको हुन्थेँ, उनी चाहिँ मेरो विषयमा अनेक शंका गर्थिन्,’ रविले भने ।

 

सन् २००८ मा रविले श्रीमती र छोरीहरुलाई पनि अमेरिकामा ल्याए । तर, पनि उनीहरुको सम्वन्ध सुधि्रन सकेन । बरु झन् बिग्रिदै गयो । रवि सुनाउँछन्, ‘हामी एउटै ओछ्यानमा सुते पनि श्रीमान-श्रीमतीजसरी सुत्न सकेनौं । म सँधै देब्रे कोल्टो फर्केर सुत्थेँ र रातभरि त्यही पोजिसनमा निदाउँथेँ । अहिलेसम्म पनि मेरो देव्रे कोल्टो फर्केर सुत्ने बानी हटेको छैन ।’

 

‘बिस्तारै हामी एउटै ओछ्यानमा सुत्न नसक्ने अवस्थामा पुग्यौं । त्यसपछि म लिभिङ रुमको सोफामा सुत्न थालेँ । छोरीहरुलाई भने यो कुरा थाहा थिएन । उनीहरु आफ्नो कोठामा गइसकेपछि मात्रै म सोफामा सुत्थेँ । सुत्थेँ के भन्नु, पसारिन्थेँ । रातभर मनमा अनेक तर्कना आउँथे । निदाउन साह्रै गाह्रो हुन्थ्यो । अहिले ती दिनहरु सम्झिँदा पनि मन गाँठो परिरहेको छ, आँखा बिझाइरहेका छन्,’ रविले भावुक स्वरमा भने ।

 

यही सिलसिलाका बीच रविको एक विदेशी युवतीसँग सम्पर्क बढ्न थाल्यो । आफ्नी पत्नीसँग तिक्तता बढिरहेका बेला उनी ती महिलाप्रति आकर्षित भए । उनीहरुबीच प्रेम सुरु भयो ।

 

अन्ततः एकदिन उनी आफ्नो घर छोडेर हिँडे र विदेशी प्रेमिकासँग लिभिङ टुगेदरमा बस्न थाले । उनीहरु बाल्टिमोरमै एउटा अपार्टमेन्टमा बस्थे । ‘म यसरी लिभिङ टुगेदरमा रहँदा पनि घर परिवारको सबै हेरचाह गर्थेँ । परिवारका लागि आवश्यक किनमेलदेखि विल भुक्तानीहरु सबै गर्थेँ,’ रविले भने ।

 

दोस्रो सम्वन्ध पनि टुटेपछि रविले इशासँग सम्बन्ध सुल्झाउने प्रयास गरे । उनले पुराना सबै तीतामीठा भुलेर नयाँ शिराबाट सम्वन्ध अगाडि बढाउने प्रस्ताव राखे । तर, केही फाइदा भएन । त्यसपछि रविले नेपाल आउने निर्णय गरे ।

 

नेपाल फर्केर के गर्ने ? रविमा टेलिभिजन पत्रकारिताको भोक मरिसकेको थिएन । टेलिभिजनमै काम गर्ने सोच बनाए । तर, पुरानो पुस्ताले सम्भवतः उनलाई बिर्सिसकेका थिए भने नयाँ पुस्ताले चिन्दैनथे । त्यसैले आफूलाई चिनाउन उपाय निकाले, ‘म्याराथन इन्टरभ्यू ।’

 

सन् २०१३ मा नेपाल फर्केर उनले सबैभन्दा लामो (६२ घन्टा) इन्टरभ्यू चलाएर गिनिज बुकमा नाम लेखाउन सफल भए । यसले उनलाई तत्कालै चर्चामा ल्यायो । उनले टेलिभिजनमा केही काम थाले । तर, खासै सफल हुन सकेनन् । त्यसपछि उनको कहिले अमेरिका र कहिले नेपाल चलिरह्यो ।

 

अमेरिकामा खोलेको रेस्टुरेन्ट पनि घाटामा थियो । यता नेपालमा पनि खासै प्रगति गर्न सकेनन् । निराश बन्दै गएका थिए । यसै क्रममा रविले आफ्नै कन्सेप्टमा ‘प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रम’ सुरु गरे । यसले उनको करिअरमा नयाँ मोड आयो । त्यो कार्यक्रम लोकपि्रय भयो । तर, केपी ओली प्रधानमन्त्रीबाट हटेर प्रचण्ड आएसँगै उनी कार्यक्रबाट हटाइए । त्यसपछि उनले निजी टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउन थाले । यो कार्यक्रमबाटै उनले ठूलो ख्याति कमाएका छन् ।

 

सबै सम्पत्ति श्रीमतीलाई किन ?

 

डिभोर्सपछि रविले आफूसँग भएको भएभरको सम्पत्ति श्रीमतीलाई दिएको बताएका छन् । उनी भन्छन्, ‘लगाएको कपडाबाहेक अब मेरो स्वामित्वमा केही छैन ।’

 

रविले लाजिम्पाटमा रहेको अपार्टमेन्ट इशाको नाममा गरिदिएको बताएका छन् । यो अपार्टमेन्ट मासिक एक लाख भाडामा लागिरहेको छ । यस्तै अमेरिकामा चार लाख डलरमा किनेको घर पनि ईशालाई सुम्पेका उनी बताउँछन् । सो घरको वार्षिक इन्स्टलमेन्ट लगायतका सबै लोन तिर्ने दायित्व पनि उनले लिएका छन् । रविका अनुसार सबै गरेर उनले मासिक १५-१६ सय डलर अमेरिका पठाउनुपर्ने हुन्छ ।

 

मासिक रुपमा रकम पठाउने ग्यारेन्टीस्वरुप आफूले ५ करोडको चेक पनि दिएको रविले बताए । यतिले नपुगेर २५ लाखको छुट्टै चेक पनि दिएका छन् । छोरीहरु आमासँग बस्ने भए पनि उनीहरुको पढाई र बिहेबारी गर्दा आइपर्ने आर्थिक दायित्व लिन पनि उनी तयार भएका छन् ।

 

कानून बमोजिम डिभोर्स गरेपछि श्रीमानले श्रीमतीलाई आफ्नो आधा सम्पत्ति दिनुपर्छ । तर, रवि किन यति धेरै लाचार भएर आफ्नो सर्वश्व दिन तयार भए त ? स्वतः प्रश्न उठ्छ । यसमा रविको जवाफ यस्तो छ, ‘उनले मलाई मेरो निजी कुराहरु बाहिर ल्याइदिन्छु र तँलाई दुनियाँका अगाडि नंग्याइदिन्छु भनेर बारम्बार ब्ल्याकमेलिङ गर्दै आइन् । आफ्नो सबै शर्त नमान्दासम्म डिभोर्स गर्न तयार नै भइनन् । त्यसैले आफ्नो लागि बोझ बनिरहेको सम्वन्ध बिसाउनका लागि असमान सम्झौता गर्न बाध्य भएँ ।’

 

रवि हाल चाबहिलमा रहेको एउटा अपार्टमेन्टमा भाडामा बस्दै आएका छन् । त्यहाँ मासिक २५ हजार भाडा तिर्नुपर्ने उनले बताए । ‘अहिले टेलिभिजन कार्यक्रम र विज्ञापनहरुबाट मासिक दुई-तीन लाख कमाइरहेको छु, अरु एक्लो जीवन बाँचिरहेको छु, त्यसैले सम्पत्तिको कुनै लोभ पनि छैन,’ उनले भने ।

 

रविका बुवा उनी १३ वर्षको हुँदा बितेका थिए भने १० वर्ष अगाडि आमा पनि परलोक भइसकेकी छन् । दुई दाइहरु पहिल्यै छुट्टिइसकेका थिए । दाइहरुसँग आफ्नो हाई-हेल्लोको सम्वन्ध मात्र भएको रविले बताए । अमेरिकामा रेस्टुरेन्ट चलाउने क्रममा आफ्नो अंशमा आएको पुर्ख्यौली सम्पत्ति पनि सबै बेचिसकेको रविले जानकारी दिए ।

 

उनीसँग अहिले एउटा कार छ, जुन उनलाई सम्वन्धित कम्पनीले विज्ञापनबाट पैसा कटाउने गरी दिएको हो । ‘सम्पत्ति गएकोमा चिन्ता छैन, खाली आफ्नो छवि बिग्रिने चिन्ता हो,’ उनले भने ।

 

निकितासँग बिहेको सम्भावना ?

 

रविको डिभोर्सको खबरसँगै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग उनको सम्वन्धलाई लिएर बजार तात्तिएको छ । उनीहरु केही समयदेखि अफेयरमा छन् । निकिता पनि डिभोर्सी हुन् ।

 

रवि र निकिता एउटै अपार्टमेन्टमा फरक-फरक फ्लोरमा बस्छन्, जहाँ अर्की डिभोर्सी नायिका रेखा थापा पनि बस्छिन् । निकितासँग सोही अपार्टमेन्टमा चिनजान भएको रविले बताए । ‘हामी एकदमै राम्रो साथी हौं, अहिले यति मात्रै भनौं,’ निकितासँगको सम्वन्धबारे उनी त्यति खुल्न चाहेनन् । विवाहको सम्भावनाबारे सोध्दा उनले अस्वीकार पनि गरेनन्, स्वीकार पनि गरेनन् ।

 

‘जे पनि हुन सक्छ, तर उहाँसँग सम्वन्ध भएर मैले श्रीमतीलाई डिभोर्स दिएको होइन,’ रविले भने, ‘हो मलाई एक्लो जीवन बाँच्न गाह्रो चाहिँ भइरहेको छ ।’ निकिता पनि एक डिभोर्सी भएकाले आफूहरुको भावना मिल्ने उनले बताए ।

 

रवि अहिले आफ्नो अपार्टमेन्टमा नितान्त एक्लै बस्छन् । घरको कामधन्दा गर्नका लागि एक सहयोगी महिला राखेका छन्, मासिक ५ हजार दिने गरी । उनले खाना पकाउने, भाँडा माझ्ने र अन्य काम गर्छिन् ।

 

लामो समयदेखि एक्लो जीवन बिताउनुपर्दा आफूलाई निकै सकस परिरहेको रविले सुनाए । ‘खासगरी बिरामी पर्दा साह्रै असहाय महसुस गर्छु,’ उनले भने, ‘पानी तताएर खुवाउने पनि मान्छे हुँदैन । त्यतिबेला म एकदमै रुन्छु ।’

 

जीवनप्रति नै बैराग्य !

 

केही समयदेखि आफ्नो जिन्दगीदेखि विरक्त बनेको रवि बताउँछन् । ‘बाहिर मेरो हाईहाई हुन्थ्यो, लाखौं समर्थक थिए । तर घरभित्र म एक्लो थिएँ । निजी जिन्दगी अस्तव्यस्त थियो । आफ्नो जिन्दगीदेखि बैराग चल्थ्यो । लाग्थ्यो, कसैको कर्तुत यस्तरी पर्दाफास गरिदिँउ कि उसले सहन नसकेर मलाई गोली ठोकेर मारोस,’ रविले गम्भीर मुद्रामा भने ।

 

डिभोर्सपछि उनले ठूलो भारी बिसाएको महसुस गरेका छन् । तर, उनलाई चिन्ता छ आफ्नो विगत थाहा पाएपछि देश-समाजको आफूप्रतिको दृष्टिकोण बदलिने त होइन ? समर्थकहरु भड्किने त होइनन् ? पूर्वपत्नीले आफ्नो बारेमा नकारात्मक प्रचार गर्ने त होइनन् ? ‘मैले सबै कुरा सुम्पेर पनि उनलाई सन्तुष्ट पार्न सकिनछु, उनी अझै मलाई बदनाम गराउने प्रयत्नमा छिन् । वा उनलाई कसैले प्रयोग गर्न खोजिरहेका छन्,’ रविले भने ।

 

रविलाई अर्को एउटा कुराले पूर्वपत्नीसँग चित्त दुखेको छ । उनले केही सम्पत्ति छोरीहरुका नाममा गरिदिन खोजेका थिए । तर, त्यो सम्भव भएन । ‘छोरीहरुमाथि पनि आफ्नो दायित्व हुने भएकाले मैले उताको घर उनीहरुको नाममा गर्न खोजेको थिएँ, तर उनले छोरीहरुको आफूलाई भर नभएको भनेर मानिनन् ।’

 

उनका छोरीहरु अमेरिकामा नै पढ्दै छन् । जेठी छोरी २२ वर्ष र कान्छी १५ वर्षकी भइन् । आफूले छोरीहरुलाई नेपालमै राख्न खोजे पनि उनीहरु तयार नभएको रवि बताउँछन् । अमेरिकामा उनीहरु आमासँगै बस्छन् ।

‘भौतिकरुपमा आमासँग रहे पनि उनीहरुको सम्पूर्ण जिम्मेवारी म निभाउँछु, हुन सक्छ पूर्वश्रीमतीसँगै बसेर उनीहरुको कन्यादान गर्नुपर्ने छ,’ रविले भने ।

 

ब्यूतियो नेपाली नागरिकता

 

रवि एक वर्षअगाडि अमेरिकी पासपोर्टको विवादमा मुछिएका थिए । उनी कानूनी रुपमा अमेरिकी नागरिक भइसके पनि नेपालमा ‘वर्क परमिट’ नलिइकन काम गरेको भनेर विवाद उब्जेको थियो । त्यसपछि रविले आफ्नो अमेरिकी पासपोर्ट कानूनबमोजिमत अमेरिकी दूतावासलाई फिर्ता गरे । यसका लागि आफ्नो २ लाख ५४ हजार रुपैयाँ खर्च भएको उनले बताए । ‘अमेरिकी पासपोर्ट बुझाएपछि नेपालको कानून बमोजिम मेरो नेपाली नागरिकता सक्रिय भयो । किनकि नेपालको कानूनले कसैलाई पनि स्टेटलेस हुन दिँदैन । अहिले म गर्वसाथ नेपालकै पासपोर्टमा विदेश यात्रा गरिरहेको छु ।’

 

अख्तियारनामा दिएर मुद्दा

 

सम्वन्धविच्छेद गर्ने निर्णय गरेपछि सबैभन्दा पहिले उनले आफ्नी जेठी छोरी र त्यसपछि श्रीमतीका दाजुलाई बताएका थिए । ‘उहाँले आफ्नी बहिनीको गल्तीमा क्षमा माग्दै मसँग सम्वन्ध नतोड्न निकै अनुरोध गर्नुभएको थियो, तर मसित यसको विकल्प थिएन,’ रविले भने ।

 

श्रीमतीसँग दुई वर्षदेखि बोलचालै नभएकाले उनले आफ्ना निकट साथी केदार दाहाललाई अख्तियारनामा दिएर सम्वन्धविच्छेदको मुद्दा लडेका थिए । अनलाइनखबरसँगको कुराकानीमा केदारले रविकी श्रीमतीसँग डिल गर्दाको एउटा सन्दर्भ सुनाए । ‘जब इन्स्योरेन्सको कुरा आयो, ईशाजीले भन्नुभयो कि रविजीलाई जुनसुकै बेला उनका विरोधीले मार्न सक्छन्, त्यसपछि मेरो घरको लोन कसले तिर्छ ? त्यसैले इन्स्योरेन्सको नोमिनीमा मेरो नाम राख्नुपर्छ,’ केदारले सुनाए ।

 

पूर्वपत्नीलाई आग्रह

 

आज बिहान स्टाटस पोस्ट गरेदेखि रविको फोनको घन्टी बजेको बज्यै छ । म्यासेज बक्समा हजारौं म्यासेजहरु थुपि्रएका छन् । सामाजिक सञ्जालमा कमेन्टहरुको ओइरो लागेको छ ।

 

रविप्रति सहानुभूति राख्नेहरु नै बढी देखिएका छन् । यसबाट उनलाई राहत मिलेको छ । तर, आफूमाथि आएका नेगेटिभ कमेन्टहरु पनि उनले हेरिरहेका छन् । नकारात्मक कमेन्ट गर्नेहरुमध्ये अधिकांस पत्रकारिता सर्कलकै भएको उनको निस्कर्ष छ ।

 

‘सर्वसाधारण जनताको मप्रति अथाह समर्थन र सहानुभूति छ, तर किन हो, पत्रकारिता जगतले भने मेरो ख्याति पचाउन सकिरहेको छैन । जति पनि नकारात्मक कमेन्टहरु हेर्छु कि त पूर्वपत्रकार हुन्छन् कि अहिलेका पत्रकार । मैले त पत्रकारितालाई माथि उठाउने प्रयास गरिरहेको छु, फेरि पनि किन आलोचना हुन्छ बुझ्न सकेको छैन,’ उनले गुनासो गरे ।

 

कुराकानीको अन्त्यमा उनले भने, ‘यो ढिलो चाँडो हुनु नै थियो । अब मेरो उनलाई यति मात्र भन्नु छ कि मैले हामीबीचका सबै कटुताहरु भुलेर नयाँ शीराबाट आ-आफ्नो जीवन सुरु गरौं । तिमीले पनि मप्रति कुनै दुराग्रह नराख्नु, म पनि राख्दिनँ । माया छैन, विश्वास छैन, सम्वन्ध छैन भने भने मलाई बदनाम गरेर के पाउँछ्यौं ?’

प्रतिकृया दिनुहोस