सुदूरपश्चिम खप्तड गोल्डकप सुरु हुँदै

   

धनगढी / मोफसलको सर्वाधिक पुरस्कार धनराशीको नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज (मङ्गलवार) बाट धनगढीमा सुरु हुँदैछ ।     सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीको आयोजनामा तेस्रो संस्करणको खप्तड गोल्डकप हुन लागेको हो । आयोजकले प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ । उद्घाटन खेल आयोजक सुदूरपश्चिम–११ र झापा–११ बीच हुने क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । धनगढीस्थित क्षेत्रीय रङ्गशालामा दुवै टिमबीच घम्साघम्सी हुनेछ । 

 


    ‘उद्घाटन खेल खेल्नका लागि झापा–११ को टोली यहाँ पुगिसकेको छ’, उनले भने–‘सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।’ 

 


    प्रतियोगितामा छ वटा ए डिभिजन क्लब, दुई विदेशी क्लब र चार वटा मोफसलका क्लबहरुको सहभागिता हुँदैछ । यसवर्षको सुदूरपश्चिम खप्तड गोल्डकपमा नेपाल आर्मी क्लबको भने सहभागिता छैन । यो प्रतियोगितालाई सुदूरपश्चिमको पर्वकै रुपमा क्लबले अगाडि बढाउन चाहेको अध्यक्ष हमालले बताए । 

 


    ‘पहिलो वर्ष हामीसंग सीमित स्रोत साधन र एउटामात्रै प्रायोजक जोडिएको थियो’, उनले अगाडि थपे–‘अब नेपाल आइससहित हामीसंग जोडिने प्रायोजक बढेका छन् । त्यसैले सबैको सहयोगमा यो प्रतियोगितालाई पर्वकै रुपमा सफल बनाउन आवश्यक छ ।’ 

 


माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका मनाङ मस्र्याङ्दी, सीएमजी सङ्कटा, रुस्लान थ्री स्टार, भ्याली च्यासल, नेपाल पुलिस क्लब र एपीएफको सहभागिता हुँदैछ । यसैगरी, विदेशीमा दिल्ली एएफसी क्लब दिल्ली, डफिन्स टिम फेमली क्लब क्याम्रुन पनि खप्तड गोल्डककप खेल्न आउँदैछन् । जम्मा १२ वटा क्लबले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा मोफसलका झापा–११, मेची नेत्रालय कारकभिट्टा फुटबल ट्रेनिङ्ग झापा, गोर्खा ब्वाइज रुपन्देही र आयोजक सुदूरपश्चिम–११ क्लबले पनि प्रतियोगिता खेल्ने पत्रकार सम्मेलनमा जनाइएको छ । 

 


गोल्डकपको विजेता टोलीले २१ लाख एक रुपियाँ नगद पुरस्कारसहित ट्रफी र उपविजेताले १० लाख एक रुपियाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । 


यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल, हरेक विधाका उत्कृष्ट खmेलाडी नगद १५ हजार र हरेक खेलका म्यान अफ द म्याचले नगद १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । खेल फिफा र एन्फाको नियम अनुसार नकआउट चरणमा खेलाइने जनाइएको छ । 


सुदूरपश्चिममा फुटबल खेल र खेल पर्यटनमार्फत विकास गर्ने तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले धनगढीमा खप्तड गोल्डकपको आयोजना गर्दै आएको छ । यो प्रतियोगिता आयोजनाका लागि कैलाली जिल्ला खेलकुद विकास समितिले सक्दो सहयोग गर्दै आएको अध्यक्ष दिपकसिंहले जानकारी दिए । उनले सुदूरपश्चिम–११ क्लबलाई अगाडि बढाउनका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे । 


प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिस होमबाट हुनेछ । खेल अवलोकनका लागि दुई वटा पक्की प्याराफिट रहेको छ । यसैगरी, केहि दर्शक अँटन सक्ने अस्थायी प्याराफिट समेत बनाइएको छ । 
 

प्रतिकृया दिनुहोस