आज पृथ्वीजयन्ती, राष्ट्रनिर्माताको सम्झना गरिँदै

 

काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ। सरकारी तथा गैरसरकारी संघसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत कार्यक्रममा उपस्थित हुनेछन्। 

 

 

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्रा गर्दैछ। कार्यक्रमको आरम्भ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन्।  शाह गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रूपमा १७७९ पुस २७ गते जन्मेका थिए।

 

 

 

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए। तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए। शाह १७९९ चैतमा गोरखाको राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए। 

 

 

शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो। उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरूले पश्चिमतिर सिमाना बढाए। 

 

 

शाहका कान्छा छोरा बहादुर शाहको पालामा नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि १८७२ सम्म वर्तमान भूभागमा सीमित हुन पुगेको थियो। 

 

प्रतिकृया दिनुहोस