लम्की महोत्सव–२०८३ आजदेखि सुरु हुँदै, बिहान ११ बजेदेखि प्रभातफेरि, महाेत्सवकाे दिउँसो २ बजे सांसद केपी खनालले उद्घाटन गर्ने
लम्की / लम्की महोत्सव–२०८३ आजदेखि सुरु हुँदैछ । स्थानीय कृषि, व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको लम्की महोत्सव–२०८३ आजदेखि सुरु हुने भएको हाे। ‘समुन्नत लम्कीचुहाको आधार : कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सवको उद्घाटन कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद केपी खनालले दिउँसो २ बजे एक भव्य समारोहबीच गर्नुहुने कार्यक्रम रहेको छ।
लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा टीकापुर रोडस्थित खुला मैदानमा मंसिर १० देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। महोत्सव स्थलको सजावट, व्यापारिक स्टल, थारू गाउँ, कृषि प्रदर्शनी, रमाइलो मेला तथा सुरक्षा व्यवस्थालगायतका तयारी पूरा भएको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक दीपककुमार तिमिल्सैनाले जानकारी दिनुभयो।
महोत्सवको उद्घाटनअघि आज बिहान ११ बजेदेखि लम्की बसपार्क र मोतीपुर बजार चोकबाट एकैसाथ प्रभातफेरि सुरु हुनेछ। प्रभातफेरिमा सुदूरपश्चिम, कर्णाली तथा थारू समुदायका मौलिक कला, संस्कृति र परम्परा झल्किने पञ्चेबाजा, मारुनी, होली, भुवाँ नाच, देउडा, पुतला नाच, सखिया, तथा मयूर नाचलगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।
विभिन्न संघसंस्था, महिला तथा आमा समूह, सहकारी, संस्थागत एवं सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने प्रभातफेरि र्याली लम्की चौराहामा पुगेर एकीकृत हुनेछ।
महोत्सवको पहिलो दिन चर्चित उद्घोषिका तथा गायिका मञ्जु पौड्याल र चर्चित देउडा गायक नरेन्द्रराज रेग्मी लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। पौड्यालका चर्चित गीत तथा देउडा गायक रेग्मीका मौलिक देउडा भाकाले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
पहिलो दिनको सांगीतिक आकर्षणका रूपमा रहेका चर्चित गायिका मञ्जु पौड्यालसँगै सुदूरपश्चिमका अग्रज देउडा गायक नरेन्द्रराज रेग्मीले आफ्ना लोकप्रिय देउडा गीत ‘चैर मुसी चैर’, ‘ढुकु रान्चडी’, ‘दाडिम चौका ढोलपैरा’ लगायतका गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुनेछ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, कृषि प्रदर्शनी, थारू गाउँ, रमाइलो मेला, व्यापारिक स्टल तथा विद्यार्थी नृत्य प्रतियोगितालगायतका कार्यक्रम समावेश गरिएका छन्। आयोजकले करिब ६० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरेको लम्कीचुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकालले जानकारी दिनु भएको छ ।
महोत्सव अवलोकनका लागि साधारण टिकट एक सय रुपैयाँ, विद्यार्थी टिकट ८० रुपैयाँ र सिजनल टिकट सात सय रुपैयाँ निर्धारण गरिएको छ।
महोत्सवबाट प्राप्त आम्दानी संस्थाको निर्माणाधीन भवनलाई पूर्णता दिन तथा संस्थाको प्रशासनिक कार्य सञ्चालनमा उपयोग गरिने आयोजकले जनाएको छ। स्थानीय उत्पादन, व्यापार, पर्यटन, कला र संस्कृतिलाई एउटै थलोमा जोड्दै लम्कीचुहाको आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षासहित महोत्सव आयोजना गरिएको हो।







प्रतिकृया दिनुहोस