राजकाँडाको पर्यटन विकासमा पाँच सयभन्दा बढी पटक पुगेको छु : सूर्यबहादुर थापा

 लम्की / कैलालीका निवर्तमान जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापाले राजकाँडाको पर्यटन विकास र प्रवर्द्धनमा आफूले निरन्तर योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ।

 

लम्की महोत्सव–२०८३ को बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले आफू पाँच सयभन्दा बढी पटक राजकाँडा पुगेर त्यहाँको पर्यटन विकासको आधार तयार पार्न योगदान गरेको उल्लेख गर्नुभयो। राजकाँडाको विकासले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नसमेत सहयोग पुगेको उहाँको भनाइ थियो।

 

थापाले लम्कीचुहा उद्योग वाणिज्य संघको स्थापना तथा सञ्चालनमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै संस्थाले यस क्षेत्रको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले संघले विगत २१ वर्षदेखि व्यापार, कृषि र पर्यटन क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो।

 

स्थानीय आर्थिक गतिविधि विस्तार तथा समग्र क्षेत्रको विकासमा संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उहाँको धारणा थियो। लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १० गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव–२०८३ ले स्थानीय उत्पादन, कृषि, शिक्षा, पर्यटन, उद्योग तथा व्यापारको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

प्रतिकृया दिनुहोस