लम्कीचुहा प्रादेशिक अस्पतालबाट स्वास्थ्य सेवा औपचारिक रूपमा सुरु
लम्की / कैलालीको लम्कीचुहामा लामो समयदेखि अन्योलमा रहेको प्रादेशिक अस्पताल अन्ततः सञ्चालनमा आएको छ। लम्कीचुहा प्रादेशिक अस्पतालले साेमबारदेखि औपचारिक रूपमा विशेषज्ञ सेवासहित स्वास्थ्य सेवा सुरु गरेको हो। अस्पताल सञ्चालनसँगै स्थानीयवासीले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्। शनिबार साविकको लम्कीचुहा नगर अस्पतालले प्रादेशिक अस्पताललाई जिन्सी सामग्री तथा स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेसँगै आइतबारदेखि लम्कीचुहा प्रादेशिक अस्पतालले औपचारिक रूपमा स्वास्थ्य सेवा सुरु गरेको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर विष्टका अनुसार विभिन्न कारणले ढिलाइ भएको सेवा अब विशेषज्ञ चिकित्सक, औषधि तथा आवश्यक जनशक्तिसहित निरन्तर सञ्चालन गरिनेछ।
यसअघि मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएर आएका डा. कमलेश प्रसाद यादवले लामो समयसम्म हाजिर हुन नपाउँदा अस्पतालको नियमित सेवा प्रभावित बनेको थियो। त्यसका कारण सामान्य उपचारका लागि समेत नागरिक अन्यत्र जान बाध्य भएका थिए। तर लामो विवाद र संघर्षपछि डा. यादवले आजदेखि प्रशासनिक जिम्मेवारीसँगै बिरामीको स्वास्थ्य परीक्षण पनि सुरु गर्नुभएको छ। आजदेखि नियमित अस्पतालकाे जिम्मेवारी सम्हानु भएका डाक्टर यादवले केही दिनभित्रै शल्यक्रिया (अपरेशन) सेवा समेत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार र नागरिक सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। हाल विभिन्न अस्पतालबाट १० जना विशेषज्ञ चिकित्सक खटाइसकिएको र बाँकी आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको समन्वयमा थप गरिने उहाँले बताउनुभयो।
डा. यादवले अस्पतालबाट प्रभावकारी सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीको सुरक्षा र सहज कार्य वातावरण सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
प्रादेशिक अस्पताल सञ्चालनमा आएपछि अब उपचारका लागि धनगढी, नेपालगञ्ज वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षामा स्थानीयवासी उत्साहित देखिएका छन्। आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि समय र खर्च दुवै बच्ने उनीहरूको विश्वास छ।
लामो समयको प्रतीक्षा र विवादपछि सञ्चालनमा आएको लम्कीचुहा प्रादेशिक अस्पतालले अब निरन्तर, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा दिन सके यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।अस्पतालको केही समय अघि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन समेत गर्नु भएको थियो ।







प्रतिकृया दिनुहोस