सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्ट द्धारा पदभार ग्रहण

धनगढी /  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेका छन् ।

 

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद् समेत विस्तार भइसकेकाे छ ।

 

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

 

यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए।

को हुन त सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट सुदूरपश्चिमको राजनीतिमा लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता हुन्। उनी विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुगेका हुन्।

प्रारम्भिक जीवन र राजनीतिक प्रवेश
खगराज भट्टको जन्म वि.सं. २०३१ पौष २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका- ४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिलो छोराका रूपमा भएको हो। उनले आईएल तहसम्म अध्ययन गरेका छन्।

वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्दै उनले औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका हुन्। वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका उनी सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बने।

विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म
राजनीतिक जीवनको प्रारम्भिक चरणमै भट्ट विद्यार्थी आन्दोलनमा सक्रिय भए। विद्यार्थी संगठनको जिम्मेवारीसँगै पार्टी संगठनमा समेत सक्रिय रहँदै उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन निर्माण, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापनको अनुभव प्राप्त गरे।

यसै क्रममा डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा संगठनात्मक गतिविधि विस्तार गर्दै उनले क्रमशः जिल्ला तहबाट क्षेत्रीय र केन्द्रीय राजनीतिक जिम्मेवारीतर्फ अघि बढे।

भूमिगत जीवन र जेल
वि.सं. २०५२ सालमा माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र हुँदै गएपछि भट्ट पनि पक्राउ परे। २०५२ फागुन २४ गते अमरगढी नगरपालिका- ३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहे। जेलबाट मुक्त भएपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय रहे।

जनयुद्धकालीन राजनीतिक जिम्मेवारी
माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले। कठीन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै उनी क्षेत्रीय नेतृत्वमा स्थापित भए।

वि.सं. २०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि उनले पार्टीको केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारीमा रहेर राजनीतिक तथा संगठनात्मक कामलाई निरन्तरता दिए।

परिवारको राजनीतिक योगदान
भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित थिएन। उनको परिवार नै राजनीतिक परिवर्तन र क्रान्तिकारी आन्दोलनप्रति समर्पित परिवारका रूपमा चिनिँदै आएको छ। उनका दाजु जयराज भट्ट पनि राजनीतिक आन्दोलनमा सक्रिय थिए। जनयुद्धकालमै उनको निधन भयो। भाइ उमेश भट्ट पनि भूमिगत बने। उनकी भाउजू नन्दा देवी भट्ट, जो सहिद परिवार पनि हुन्, श्रीमती मञ्जु बम, भाइबुहारी धर्मा बोहरासमेत पूर्णकालीन रूपमा भूमिगत थिइन्।

शान्ति प्रक्रिया र संसदीय राजनीति
नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिक तथा संसदीय अभ्यासमा प्रवेश गरे। संविधानसभा तथा त्यसपछिका निर्वाचनमा उनी डडेल्धुराबाट उम्मेदवार बने। डडेल्धुरामा कांग्रेसका नेता शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा भएको प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित गरायो।

खुला राजनीतिमा प्रवेशपछि उनले संगठन निर्माणसँगै संसद्, संविधान निर्माण, लोकतान्त्रिक अभ्यास तथा प्रदेश र स्थानीय विकासका प्रश्नमा राजनीतिक भूमिका निर्वाह गर्दै आए।

प्रदेश राजनीतिमा भूमिका
संघीय गणतान्त्रिक संरचनाको स्थापना भएपछि भट्टको राजनीतिक सक्रियता सुदूरपश्चिम प्रदेशमा थप केन्द्रित भयो। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे। प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै प्रदेशको संस्थागत विकास, राजनीतिक संगठन र सुदूरपश्चिमका विकासका सवालमा उनी सक्रिय रहे। यसैक्रममा उनी प्रदेश राजनीतिका प्रमुख नेतामध्ये स्थापित भए।

प्रदेशसभा र संसदीय नेतृत्व
वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(१) बाट प्रत्यक्ष निर्वाचित भए। त्यसपछि उनी सुदूरपश्चिम प्रदेशसभामा प्रवेश भए।

प्रदेशसभामा निर्वाचित भएपछि उनी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा पुगे। पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। भट्ट उक्त संसदीय दलको नेतृत्वमा रहेका छन्।

साभारः पत्रकार सविता वुढा र हिमाल जोशी

प्रतिकृया दिनुहोस