रक्तदानप्रति विद्यार्थीमा उत्प्रेरणा जगाउँदै कैलाली रेडक्रस

लम्की  / कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा रहेलो  उज्यालो शिक्षा सदन माध्यमिक विद्यालयमा रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीको आयोजना तथा उज्यालो शिक्षा सदन माध्यमिक विद्यालयको समन्वयमा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा अध्ययनरत  विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्त र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उप कोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदानको महत्व, रक्तदान गर्न सकिने उमेर, रक्तदानसम्बन्धी भ्रम तथा यसले समाजमा पुर्‍याउने योगदानका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति विनोद आचार्य, उपशाखाका उपसचिव देवानन्द न्यौपाने तथा उज्यालो शिक्षा सदन माध्यमिक विद्यालय लम्कीका शिक्षक लक्ष्मण रेग्मी लगायतकाको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सिनाले रगतको अभावका कारण कसैको जीवन जोखिममा पर्न नदिन रक्तदाताहरुलाई नियमित रक्तदान सम्बन्धि उत्प्रेरणा  कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले रक्तदानका विषयमा समाजमा रहेका विभिन्न भ्रम हटाउँदै युवा तथा विद्यार्थीलाई यसको महत्वबारे सचेत बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी नेपाल  रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति विनोद आचार्यले रक्तदान जीवन बचाउने मानवीय कार्य भएकाले युवावस्थादेखि नै रक्तदानप्रति सकारात्मक भावना र चेतना विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीमार्फत रक्तदानसम्बन्धी सकारात्मक सन्देश परिवार र समुदायसम्म पुर्‍याउन सकिने धारणा राख्नुभयो।

 

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले रक्तदानसम्बन्धी जानकारी र चेतना विद्यालय तहबाटै विकास गर्न सके भविष्यमा नियमित रक्तदाता तयार गर्न सहज हुने बताउनुभयो। उहाँले रक्तसञ्चार केन्द्रले आवश्यक परेको समयमा बिरामीका लागि सहज रूपमा रगत उपलब्ध गराउन विभिन्न विद्यालय तथा समुदायसँगको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उज्यालो शिक्षा सदन माध्यमिक विद्यालय लम्कीका शिक्षक लक्ष्मण रेग्मीले विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नियमित रूपमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो। विद्यार्थीलाई रक्तदानको महत्वबारे जानकारी गराउने यस्ता कार्यक्रमले उनीहरूमा रक्तदानप्रति सकारात्मक सोच र उत्प्रेरणा विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

 

युवा तथा विद्यार्थीमा रक्तदानप्रति उत्प्रेरणा जगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा तथा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीले विभिन्न विद्यालयसँगको सहकार्यमा रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्दै आएको  छ । विद्यालय तहबाटै रक्तदानको महत्वबारे जानकारी र सकारात्मक धारणा विकास गराउँदै भविष्यमा नियमित रक्तदाता तयार गर्ने कार्यक्रमको उद्देश्य रहेको रेडक्रसले जनाएको छ।

प्रतिकृया दिनुहोस