बुवाको २५औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

लम्की / आफ्ना स्वर्गीय बुवा रंगप्रसाद उपाध्यायको २५औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका–३ का वडा समिति सभापति चन्द्रप्रसाद उपाध्यायले लम्कीस्थित मानव सेवा आश्रमलाई खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गर्नुभएको छ।

 

उपाध्यायले आश्रमलाई १ क्विन्टल चामल, ४ किलो दाल, १० थान थाली, ७ वटा विस्तरा, ३ वटा तन्ना, तकिया, खाने तेल, नुन, फलफूल तथा नगद ५०० रुपैयाँसहित विभिन्न आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो।

 

स्वर्गीय बुवा रंगप्रसाद उपाध्यायको एकतिष्टि (श्राद्ध) को अवसर पारेर आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकको सेवामा सानो योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको उहाँका छोरा चन्द्रप्रसाद उपाध्यायले बताउनुभयो। 

 

उहाँले दिवंगत बुवाको स्मृतिलाई समाजसेवासँग जोड्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

सहयोग सामग्री ग्रहण गर्दै मानव सेवा आश्रम लम्कीका सञ्चालक विनोद थापाले आश्रम सीमित स्रोत र साधनका बाबजुद सञ्चालन भइरहेको बताउनुभयो। उहाँले आश्रममा आश्रित नागरिकहरूको दैनिक व्यवस्थापनमा विभिन्न चुनौती रहेकाले यस्ता सहयोगले ठूलो राहत पुग्ने उल्लेख गर्दै सहयोगी परिवारप्रति आभार व्यक्त गर्नुभयो।

 

मानव सेवा आश्रममा बेसहारा, असहाय तथा सडक आश्रित नागरिकहरूको संरक्षण, हेरचाह र पुनःस्थापनाको कार्य हुँदै आएको छ। सामाजिक उत्तरदायित्वका यस्ता सहयोगले आश्रम सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस