मंसिर १० गतेदेखि २१ गतेसम्म लम्कीमा लम्की महोत्सव–२०८३ हुने
लम्की / “समुन्नत लम्कीचुहाको आधार–शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ लम्की महोत्सव–२०८३ आयोजना हुने भएको छ। लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर १० गतेदेखि २१ गतेसम्म लम्कीमा महोत्सव सञ्चालन गरिने संघले जनाएको छ।
महोत्सव आयोजना गर्ने सम्बन्धमा लम्कीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सैनाले महोत्सवलाई यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकाससँग जोडेर अघि बढाइने बताउनुभयो।
महोत्सवले स्थानीय उद्योग, व्यापार तथा कृषि उत्पादनको प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, व्यवसायीबीच सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा उपभोक्तालाई स्थानीय वस्तु तथा सेवाबारे जानकारी गराउने उद्देश्य राखेको संघले जनाएको छ।
त्यस्तै, लम्कीचुहा र आसपासका क्षेत्रको पर्यटन सम्भावनाको प्रचार–प्रसार तथा स्थानीय पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने अवसरका रूपमा समेत महोत्सवलाई उपयोग गरिने बताइएको छ। लम्कीचुहाको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई आर्थिक गतिविधिसँग जोड्दै पर्यटनबाट स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवमा शिक्षालाई समेत प्राथमिकतामा राखिने संघले जनाएको छ। स्थानीय शैक्षिक अवस्था, सीप तथा व्यावसायिक शिक्षाको महत्व, विद्यार्थी तथा युवालाई उद्यमशीलतासँग जोड्ने विषय र शिक्षा क्षेत्रमा भएका सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने गरी महोत्सवलाई उपयोग गर्ने उद्देश्य रहेको बताइएको छ।
यसैगरी कृषि, उद्योग र व्यापारलाई एउटै मञ्चमा जोड्दै किसानका उत्पादनको बजार विस्तार, स्थानीय उद्यमीको प्रोत्साहन, नयाँ व्यवसाय तथा उत्पादनको प्रचार र उपभोक्ता–व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने वातावरण बनाउने प्रयास गरिने जनाइएको छ।
संघका महासचिव पुष्पराज ढकालले लम्कीचुहाको समग्र विकासका लागि आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन यस क्षेत्रका सम्पूर्ण व्यवसायी, उद्योगी, कृषक तथा सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो।
संघका उपाध्यक्ष मनिष न्यौपानेले विगतका वर्षमा झैँ यस वर्ष पनि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिँदै यसपटकको महोत्सवमा केही नयाँपन र रचनात्मक कार्यक्रम समेट्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले महोत्सवलाई केवल मनोरञ्जनमा सीमित नराखी शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो।
महोत्सवले लम्कीचुहाको स्थानीय अर्थतन्त्र चलायमान बनाउन, व्यवसायी तथा उद्यमीलाई प्रोत्साहित गर्न र “स्थानीय उत्पादन, स्थानीय बजार र स्थानीय पर्यटन” लाई प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। मंसिर १० देखि २१ गतेसम्म लम्कीमा सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन, व्यवसाय, कृषि, शिक्षा, पर्यटन तथा उद्यमशीलतालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय कलाकार तथा स्थानीय प्रतिभालाई विशेष प्राथमिकता दिइनेछ। स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय कलाकारका विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत कला तथा मौलिक सिर्जनालाई विशेष स्थान दिइने आयोजकले जनाएको छ।
त्यस्तै, स्थानीय उत्पादनमूलक वस्तुहरूको प्रदर्शनी तथा बिक्रीका लागि विशेष स्टलको व्यवस्था गरिनेछ। स्थानीय किसान, उद्यमी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकला, कृषि उपज तथा मौलिक उत्पादनलाई महोत्सवमार्फत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
महोत्सवमा स्थानीय रहनसहन, भेषभूषा, भाषा, संस्कार, परम्परा तथा सांस्कृतिक पहिचान झल्काउने गतिविधिसमेत प्रस्तुत गरिनेछ। विद्यालयस्तरमा रहेका प्रतिभाको पहिचान र प्रोत्साहनका लागि विद्यालयस्तरीय नृत्य तथा सांस्कृतिक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइनेछ। महोत्सवलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय कला, संस्कृति, प्रतिभा, उत्पादन र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको छ।











प्रतिकृया दिनुहोस