नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा हिमबहादुर रावलको उम्मेदवारी घोषणा

 लम्की  /  नेपाली कांग्रेसका नेता तथा निवर्तमान केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

१५औँ महाधिवेशनअन्तर्गत हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै रावलले बिहीबार लम्कीस्थित थपालीपुरमा रहेको नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय बीपी स्मृति भवनमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेता रावलले पार्टीका सबै पक्षलाई एकताबद्ध गर्दै संगठनलाई थप सुदृढ र बलियो बनाउन आफूले प्रदेश सभापति पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

 

‘पार्टीका सबै साथीहरूसँग सल्लाह र परामर्श गरेर प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ रावलले भन्नुभयो, ‘पार्टीभित्रका सबै पक्षलाई एकताबद्ध बनाएर संगठनलाई बलियो बनाउनु नै मेरो मुख्य उद्देश्य हो ।’ उहाँले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्ने तयारीसमेत रहेको जानकारी दिनुभयो ।

 

नेपाली कांग्रेसको केन्द्रीय समितिले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तय गरिसकेको छैन । यद्यपि, आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्ला तथा प्रदेश तहको नेतृत्वका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूले आन्तरिक भेटघाट, छलफल र तयारीलाई तीव्रता दिन थालेका छन् । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति इन्द्रबहादुर कुँवरलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस