लम्कीबाट राप्रपा वरिष्ठ नेता जगत गौचनको घोषणा: ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लिन म पूर्ण रूपमा तयार छु’
लम्की / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता जगत गौचनले पार्टीको नेतृत्व सम्हाल्न आफू पूर्ण रूपमा तयार रहेको घोषणा गर्नुभएको छ। मङ्गलबार कैलालीको लम्कीमा आयोजित एक विशेष कार्यक्रम तथा कार्यकर्ता अन्तरक्रियालाई सम्बोधन गर्दै गौचनले पार्टीलाई नयाँ गति, ऊर्जा र सुदृढ सङ्गठन निर्माणका लागि आफू नेतृत्व लिन अघि सर्न तयार रहेको बताउनुभएको हो।
देशव्यापी दौडाहाका क्रममा कैलालीको लम्की पुग्नुभएका नेता गौचनलाई स्थानीय राप्रपाका नेता-कार्यकर्ता तथा क्योकुशिन कराँतेका खेलाडीहरूले भव्य स्वागत गरेका थिए। लम्कीस्थित सौराई होटलमा आयोजित संक्षिप्त तर महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले देश हाल अत्यन्तै गम्भीर र जटिल मोडबाट गुज्रिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौचनले भन्नुभयो, "वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको बलियो र वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आवश्यक छ। पार्टीभित्र नयाँ सोच, ऊर्जा र सशक्त सङ्गठन निर्माणका लागि मैले नेतृत्वको जिम्मेवारी लिन तयार रहने निर्णय गरेको हुँ।"
सो अवसरमा उहाँले पार्टीका अगुवा कार्यकर्ताहरूलाई एकजुट भएर सङ्गठन निर्माणमा जुट्न र जनजीविकाका सवालहरूलाई सशक्त रूपमा उठाउन निर्देशन समेत दिनुभयो।
कार्यक्रममा उहाँको स्वागतकाे लागि स्थानीय नेता, कार्यकर्ता तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागीता रहेको थियो। उहाँको लम्कीमा भव्य स्वागत समेत गरिएको थियो ।
गाैचन राजनीतिक व्यक्तित्व मात्र नभएर खेल क्षेत्रमा समेत प्रख्यात व्यक्तित्व हुनुहुन्छ । नेपालमा क्योकुशिन करातेको नाम उच्चारण गर्दा जगत गौचनको नाम अग्रपंतिमा आउँछ। गौचनले क्योकुशिन करातेलाई नेपालमा भित्र्याउने कार्य मात्रै गर्नु भएन्, नेपालमा यस खेलको विकास र विस्तारमा उहाँले निभाएको भूमिका आफैमा अतुलनिय र प्रशंसनिय छ । तत्कालिन समयमा एशियन च्याम्पियन बनेर नेपालको गौरव अन्तर्राष्ट्रियस्तरमा समेत बढाउन सफल गौचन क्योकुसिनका उत्कृष्ट खेलाडी मात्र नभई संस्थापक पनि हुनुहुन्छ । नेपालका प्रथम ब्रान्च चीप, अन्तर्राष्ट्रिय रेफ्री, फाइभ डान प्राप्त गुरु जगत गौचन अहिले राप्रपाकाे अध्यक्ष बन्ने दाैड्मा रहनु भएको छ ।










प्रतिकृया दिनुहोस