३१औँ वार्षिकोत्सवमा किसान सहकारीकाे नाफा १९ करोड ३९ लाख, ३१ किलोको केक काटेर मनाइयो स्थापना दिवस

लम्की /   किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरी आफ्नो ३१औँ वार्षिकोत्सव मनाएको छ।

 

२०५२ साल कार्तिक १७ गते आजकै दिन स्थापना भएको सहकारीले ३१ औं  वार्षिकोत्सवको अवसरमा लम्कीमा सामाजिक संघसंस्थाबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्नुका साथै सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको कैलाशधाम तीर्थस्थल परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो।

 

स्थापना दिवसका अवसरमा मंगलबार लम्कीस्थित संस्थाको केन्द्रीय कार्यालयमा ३१ किलोको केक काटेर दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। संस्थाका ४० वटै शाखामा पनि विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिनुभयो।

 

संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको सभापतित्वमा  भएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिमा   संस्थाका संस्थापक  मंगलबहादुर शाह रहनुभएको थियो। उपाध्यक्ष टीकेन्द्रबहादुर थापाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सूचना अधिकारी दीपकराज ढुंगानाले गर्नुभएको थियो।

 

कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले सहकारी स्थापनामा संस्थापक सञ्चालक समितिको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। सामान्य बीउबिजन बिक्रीबाट सुरु भएको सहकारीले अहिले वित्तीय सेवा, मार्ट तथा एग्रोमार्फत सदस्य र समुदायलाई सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो।

 

महाप्रबन्धक डम्बरबहादुर शाहले संस्थाले हासिल गर्दै आएको प्रगतिबारे चर्चा गर्दै सरकारको पछिल्लो नीतिले सहकारी संस्थाहरूको कार्यक्षेत्र संकुचित बनाएको बताउनुभयो। केही सहकारीले बेइमानी गरेकै आधारमा राम्रो काम गरिरहेका अन्य सहकारीलाई समेत एउटै दृष्टिकोणले हेर्न नहुने उहाँको भनाइ थियो।

 

शुभकामना मन्तव्य राख्दै उमाकान्त तिमिल्सैनाले किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहकारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

 

सञ्चालक सदस्य लोकराज तिमिल्सैनाले संस्था बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो भने कमलराज जोशीले संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

 

त्यस्तै लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सैनाले सहकारीले यस क्षेत्रमा विभिन्न क्षेत्रमा गर्दै आएको सहकार्य र सहयोगको प्रशंसा गर्दै न्यून आय भएका महिलालाई उद्यमी बनाउने योजनासहित अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

 

संस्थापक इन्द्रकुमार शाहले २०५२ सालमा आजकै दिन स्थापना भएको सहकारीले २०५४ सालदेखि बैंकिङ कारोबार सुरु गरेको जानकारी दिनुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक  मंगलबहादुर शाहले संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने सबैलाई धन्यवाद दिँदै संस्थाको दीर्घकालीन हितका लागि सञ्चालक समिति र कर्मचारीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

 

कार्यक्रमको समापन गर्दै अध्यक्ष सुरेन्द्रकुमार शाहले वार्षिकोत्सवको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो। कर्मचारीको लगनशीलता र सञ्चालक समितिको तत्परताका कारण संस्थाको उचाइ बढ्दै गएको उहाँको भनाइ थियो।

 

यसैबीच, आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। आर्थिक वर्ष २०८२/०८३ मा सहकारीले १९ करोड ३९ लाख ५७ हजार ५२६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले ५५ अर्ब ३३ करोड ९ लाख ९ हजार ३२ रुपैयाँ बचत संकलन गरेको विवरणसमेत उपलब्ध गराएको छ।

प्रतिकृया दिनुहोस