१ लाख ५० हजार पुरस्कार राशिको तेस्रो अम्मरपुर कप फुटबल प्रतियोगिता सुरु
लम्की / ‘युवा एकता, खेलकुदको विकास, दुर्व्यसनमुक्त समाज, समृद्ध राष्ट्रको प्रयास’ भन्ने मूल नारासहित कैलालीको लम्कीचुहा नगरपालिका–४ अम्मरपुरमा तेस्रो अम्मरपुर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३ आइतबारदेखि सुरु भएको छ। समानता युवा क्लब लम्कीचुहा–४ अम्मरपुरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको एक भव्य समारोहबीच लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले उद्घाटन गर्नुभएको हो।
क्लबका अध्यक्ष धनबहादुर शाहीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख सुशीला शाही प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको सिवशिष्ट अतिथिमा नगर उपप्रमुख जुना चौधरी रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई बाजागाजासहित स्वागत गरिएको थियो।सोही अवसरमा नगर प्रमुख शाहीले समानता युवा क्लबको नवनिर्मित कार्यालय भवनको समेत उद्घाटन गर्नुभएको थियो।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख शाहीले नगरपालिकाले खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार निर्माण तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको बताउनुभयो। उहाँले खेलकुदले युवाहरूमा अनुशासन, एकता, सहकार्य र सकारात्मक सोचको विकास गर्नुका साथै समाजलाई दुर्व्यसनमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रोत्साहनका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको उहाँको भनाइ थियो।
प्रतियोगितामा १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, नयाँ खेल प्रतिभाको पहिचान तथा विकास गर्ने र युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्दै सकारात्मक सामाजिक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल सचिवालय संयोजक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो। उहाँले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउन र स्वस्थ तथा अनुशासित समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी, स्थानीय समाजसेवी, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।








प्रतिकृया दिनुहोस