किसान बहुउद्देश्यीय सहकारीद्वारा सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम, ८० हजारभन्दा बढी महिला सदस्य सहभागी हुने
लम्की / विगतका वर्षझैँ यस वर्ष पनि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम सञ्चालन गरिरहेको छ। कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्ना विभिन्न शाखाअन्तर्गतका महिला समूह तथा केन्द्रहरूमा तीज मिलनसँगै सहकारी शिक्षा र वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको हो।
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा समूहमा आबद्ध महिला दिदीबहिनी तथा शेयर सदस्यबीच भेटघाट, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्नुका साथै वित्तीय साक्षरता तथा सहकारीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
भदौ १ गतेदेखि सुरु भएको कार्यक्रम भदौ २७ गतेसम्म विभिन्न शाखाअन्तर्गतका महिला समूह तथा केन्द्रहरूमा सञ्चालन हुने जनाइएको छ। संस्थामा आबद्ध करिब ८० हजारभन्दा बढी महिला सदस्यलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य रहेको छ।
कार्यक्रमअन्तर्गत बिहीबार पनि विभिन्न शाखामा सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएका छन्। कैलालीको लम्की शाखाअन्तर्गत बल्चौर केन्द्रमा समेत तीज मिलन तथा सहकारी शिक्षा कार्यक्रम आयोजना गरिएको लम्की शाखामा कार्यरत फिल्ड सहायक उर्मिला शाहीले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभयो।
यसैबीच, किसान बहुउद्देश्यीय सहकारी संस्थाको धनगढी शाखाअन्तर्गत दोस्रो दिनको तीज मिलन तथा सहकारी शिक्षा कार्यक्रम धनगढी उपमहानगरपालिका–५, जाइस्थित थारू संस्कृति सभाहलमा सम्पन्न भएको छ।
धनगढी शाखाका शाखा प्रमुख विनोद मिजारको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्र नं. ७२२ की केन्द्र प्रमुख लक्ष्मी ओखेडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा समूहमा आबद्ध करिब १३८ जना महिला सदस्यको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थामा कार्यरत फिल्ड सहायक निर्मला विनाडी न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा महिला सदस्यहरूले सहकारी शिक्षा तथा वित्तीय ज्ञान हासिल गर्नुका साथै तीजका गीतमा नाचगान गर्दै आपसमा खुसी साटासाट गरेका थिए।
तीज टिकटक प्रतियोगिताले थप्यो उत्साह
तीज मिलन कार्यक्रमलाई थप सिर्जनात्मक र मनोरञ्जनात्मक बनाउन किसान बहुउद्देश्यीय सहकारी संस्थाले तीज टिकटक प्रतियोगिता समेत सञ्चालन गरेको छ। प्रतियोगिताअन्तर्गत तीज मिलन कार्यक्रममा सहभागी भई संस्थाको ब्यानरमुनि मौलिक तीज गीतमा टिकटक भिडियो बनाएर सहभागी हुन सकिने व्यवस्था गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने सदस्यहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ। जसअनुसार प्रथम हुने एक जनालाई १५ हजार रुपैयाँ, द्वितीय हुने दुई जनालाई १०/१० हजार रुपैयाँ तथा तृतीय हुने पाँच जनालाई ५/५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ।
सहकारी शिक्षा, वित्तीय साक्षरता र महिला सदस्यबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको तीज मिलन कार्यक्रमले संस्थाका महिला सदस्यमा उत्साह र सहभागिता बढाएको देखिएको छ। तीजको सांस्कृतिक पक्षसँगै वित्तीय ज्ञान र सहकारी शिक्षालाई जोडेर सञ्चालन गरिएको कार्यक्रमले सदस्यलाई मनोरञ्जनसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।










प्रतिकृया दिनुहोस