बालकल्याण माध्यमिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण
लम्की / कैलालीको लम्कीचुहा नगरपालिका–१, भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्बन्धित कक्षा शिक्षकमार्फत पुरस्कार वितरण गरेको हो। परीक्षा समितिको संयोजनमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
परीक्षा समिति सदस्य कौशीला शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा परीक्षा समिति संयोजक रञ्जिता थापाले त्रैमासिक परीक्षा विद्यार्थीको सिकाइ उपलब्धि पहिचान गर्नुका साथै आगामी अध्ययनलाई सुधार गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले परीक्षाको नतिजालाई विद्यार्थीले आफ्नो सिकाइ अवस्था मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै कमजोर देखिएका विषयमा थप मेहनत गर्न आग्रह गर्नुभयो।
विद्यालयका निमित्त प्रधानाध्यापक शिवबहादुर थापाले त्रैमासिक परीक्षा केवल अंक प्राप्त गर्ने माध्यम नभई विद्यार्थीको सिकाइमा देखिएका कमजोरी पहिचान गरी शैक्षिक सुधार गर्ने आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीले आफ्नो कमजोरी पहिचान गरी नियमित अध्ययनमा जोड दिनुपर्ने तथा शिक्षकहरूले पनि विद्यार्थीको आवश्यकताअनुसार अध्यापनलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
निमित्त प्रधानाध्यापक थापाले विद्यालयको शैक्षिक सुधारका लागि आगामी दिनमा कक्षागत रूपमा विद्यार्थीका अभिभावकसँग शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। विद्यार्थीको पढाइ, उपस्थिति, अनुशासन तथा शैक्षिक प्रगतिका विषयमा अभिभावकसँग नियमित छलफल र सहकार्य गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मेहनत र उपलब्धिको प्रशंसा गरिएको थियो। पुरस्कार तथा सम्मानले विद्यार्थीमा थप उत्साह र अध्ययनप्रति सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने अपेक्षा गरिएको छ।
विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै सिकाइमा देखिएका कमजोरी पहिचान गरी सुधारात्मक अभ्यासलाई निरन्तरता दिने जनाएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यलाई थप मजबुत बनाउँदै विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ आगामी शैक्षिक गतिविधि अघि बढाइने विद्यालयले जनाएको छ।






प्रतिकृया दिनुहोस