लम्कीचुहा–३ शान्तिटोलबाट अजिङ्गरको उद्धार

लम्की /  कैलालीको लम्कीचुहा नगरपालिका–३ शान्तिटोलबाट बिहीबार बिहान ठूलो आकारको अजिङ्गरको सुरक्षित उद्धार गरिएको छ। शान्तिटोलमा स्थानीय निर्मला न्यौपानेको घरको करेसाबारीबाट खेततर्फ जाँदै गरेको अवस्थामा बिहान करिब ८ बजेतिर स्थानीयवासीले ठूलो आकारको सर्प देखेका थिए। करेसाबारीमा असामान्य रूपमा ठूलो सर्प देखिएपछि स्थानीयले उक्त सर्प अजिङ्गर हुन सक्ने आशंका गर्दै तत्काल उद्धारका लागि सब–डिभिजन वन कार्यालय लम्कीलाई खबर गरेका थिए।

 

सूचना प्राप्त हुनासाथ सब–डिभिजन वन कार्यालय लम्कीबाट वन रक्षक युवराज खड्का र कुसुम खड्का मगरको टोली घटनास्थल पुगेको थियो। वन कर्मचारीको टोलीले सावधानीपूर्वक उक्त सर्पलाई नियन्त्रणमा लिएर सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धार गरिएको अजिङ्गर करिब १५ देखि २० फिट लामो रहेको र यसको तौल ४० देखि ४५ किलोग्रामसम्म हुन सक्ने अनुमान गरिएको वन रक्षक युवराज खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार गरिएको सर्प अजिङ्गर प्रजातिकै रहेको पुष्टि भएको छ।

 

घरको करेसाबारी नजिकै ठूलो आकारको अजिङ्गर भेटिएपछि स्थानीयवासी केही समय त्रसित बनेका थिए। तर वन कार्यालयको टोली समयमै पुगेपछि कुनै मानवीय क्षति वा अन्य अप्रिय घटना हुन नदिई अजिङ्गरको सुरक्षित उद्धार गरिएको हो। उद्धारपछि उक्त अजिङ्गरलाई ऐश्वर्य सामुदायिक वनका पदाधिकारीको रोहबरमा सुरक्षित रूपमा सामुदायिक वन क्षेत्रमा छोडिएको वन रक्षक खड्काले जानकारी दिनुभयो।

 

वन क्षेत्रमा पाइने यस्ता वन्यजन्तु तथा सर्पहरू मानव बस्तीमा प्रवेश गरेको अवस्थामा स्थानीयवासीले आफैं समात्ने, मार्ने वा जिस्क्याउनेभन्दा सम्बन्धित वन कार्यालय वा उद्धार टोलीलाई खबर गर्नुपर्ने वन कर्मचारीहरूले आग्रह गरेका छन्। शान्तिटोलमा भेटिएको अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थान नजिकैको सामुदायिक वनमा छोडिएपछि स्थानीयवासीले समेत राहत महसुस गरेका छन्।

प्रतिकृया दिनुहोस