सर्पदंश र डेंगीबाट जोगिन रेडक्रसद्वारा विद्यालयमा विद्यार्थीलाई अभिमुखीकरण
लम्की / वर्षायामसँगै सर्पदंश तथा लामखुट्टेको जोखिम बढेपछि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले विद्यालयस्तरमा जनचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालेको छ।सर्पदंश र लामखुट्टेको टोकाइबाट हुने डेंगीलगायतका रोगबाट विद्यार्थी तथा समुदायलाई सुरक्षित राख्ने उद्देश्यले जिल्लाका विभिन्न प्रभावित तथा जोखिमयुक्त क्षेत्रका विद्यालयमा पुगेर विद्यार्थीलाई सचेत गराउन थालिएको हो।
रेडक्रसले सञ्चालन गरिरहेको अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई सर्पदंशबाट जोगिन अपनाउनुपर्ने सावधानी, सर्पले टोकेमा तत्काल गर्नुपर्ने प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउने तरिका तथा सर्पदंशका सम्बन्धमा समाजमा रहेका गलत धारणा र अभ्यासबाट बच्नुपर्ने विषयमा जानकारी दिने गरिएको छ। त्यस्तै, लामखुट्टेको टोकाइबाट जोगिने उपाय, घर तथा विद्यालय वरपर लामखुट्टे वृद्धि हुने स्थानको पहिचान गरी पानी जम्न नदिने, व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा डेंगीबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा समेत विद्यार्थीलाई जानकारी दिइँदै आएको छ।
यसैक्रममा कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरस्थित जीवनदिप आधारभूत विद्यालयमा समेत शुक्रबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका कोषाध्यक्ष मार्कण्डेय उपाध्यायले विद्यार्थीलाई सर्पदंश तथा लामखुट्टेको टोकाइबाट जोगिने उपायका साथै सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार र सावधानीका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले सर्पदंशको घटना भइसकेपछि आत्तिएर गलत उपचार वा घरेलु विधि अपनाउनुको सट्टा पीडितलाई शान्त राखी यथाशीघ्र स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने विषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो।
सर्पदंशका घटनामा समयमै उचित उपचार पाउन सके जोखिम कम गर्न सकिने भएकाले समुदायस्तरमै यसको जानकारी फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो। त्यस्तै, डेंगीलगायत लामखुट्टेबाट सर्ने रोगको जोखिम कम गर्न घर, विद्यालय तथा आसपासका क्षेत्रमा पानी जम्न नदिने, पानी जम्मा हुने भाँडाकुँडा नियमित रूपमा सफा गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेमा समेत जोड दिइएको थियो। कैलालीको तराई तथा चुरे आसपासका क्षेत्रमा वर्षायाममा सर्पदंशका घटना बढ्ने गरेका छन्। विशेषगरी साउनदेखि कात्तिकसम्म करिब चार महिनाको अवधिमा सर्पदंश तथा लामखुट्टेको जोखिम उच्च रहने भएकाले यस अवधिमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको स्थानीयस्तरमा बताइँदै आएको छ।
वर्षायाममा पानी जम्ने, झाडी तथा घाँस बढ्ने र लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सर्पदंश तथा लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने गर्दछ। जीवनदिप आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश चौधरीले विद्यालयमा सञ्चालन गरिएको यस्तो जनचेतनामूलक कार्यक्रम विद्यार्थीका लागि उपयोगी रहेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीले विद्यालयमा प्राप्त गरेको ज्ञान घरपरिवार तथा समुदायसम्म पुर्याउन सक्ने भएकाले विद्यालयस्तरमा यस्ता कार्यक्रम सञ्चालन गर्दा यसको प्रभाव व्यापक हुने गर्दछ।
प्रधानाध्यापक चौधरीले विद्यार्थीलाई सर्पदंश, डेंगी तथा अन्य स्वास्थ्यसम्बन्धी जोखिमबाट जोगिन आवश्यक सावधानी र प्राथमिक उपचारका विषयमा जानकारी गराउनु महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभयो। रेडक्रसले समुदायमा विपद् तथा स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विद्यालयस्तरमा गरिने यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यार्थीलाई सम्भावित जोखिमबाट आफू जोगिन मात्र नभई सर्पदंश वा लामखुट्टेको टोकाइबाट प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक समयमा सही सहयोग र स्वास्थ्य सेवातर्फ लैजानसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।









प्रतिकृया दिनुहोस