शहिद स्मृति माविमा अभिभावक भेला तथा सामाजिक परीक्षण सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
लम्की / लम्कीचुहा नगरपालिका–१, पूर्वलम्की, कैलालीस्थित श्री शहिद स्मृति माध्यमिक विद्यालयमा अभिभावक भेला तथा आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका शिक्षक–अभिभावक संघका ज्येष्ठ सदस्य पार्वती जैशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत पंखबहादुर शाह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सव–डिभिजन वन कार्यालय लम्कीका वन अधिकृत निशा पंगेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष गणेशप्रसाद ढकाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य , शिक्षक–अभिभावक संघका सदस्य , शिक्षक कर्मचारी , विद्यार्थी, अभिभावक एवं विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका शैक्षिक, प्रशासनिक, आर्थिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी गतिविधि र उपलब्धिहरूका बारेमा जानकारी विद्यालयका कार्यालय सहायक ( लेखापाल ) हिक्मत भण्डारीले प्रस्तुत गर्नुभएको थियो। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, आर्थिक व्यवस्थापन, सामाजिक उत्तरदायित्व तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल गरिएको थियो।
सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइका क्रममा विद्यालयका गतिविधि र कार्यसम्पादनबारे अभिभावक तथा सरोकारवालाबाट सुझाव, सल्लाह तथा जिज्ञासा राखिएको थियो। सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको नियमितता तथा सिकाइ उपलब्धि सुधार, विद्यालयको भौतिक पूर्वाधार विकास, सरसफाइ, अतिरिक्त क्रियाकलाप तथा विद्यालय–समुदायबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विद्यालयको समग्र विकासका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार, शिक्षक, विद्यार्थी तथा समुदायबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो। विद्यालयका गतिविधिमा पारदर्शिता, जवाफदेहिता र अभिभावकको अर्थपूर्ण सहभागिताले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा विद्यालय परिवारले कार्यक्रमलाई सफल बनाउन उपस्थित भई आफ्ना महत्वपूर्ण सुझाव, सल्लाह तथा सहयोग प्रदान गर्ने सम्पूर्ण अभिभावक, अतिथि, जनप्रतिनिधि, पदाधिकारी, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विद्यालयले आगामी दिनमा पनि अभिभावक तथा समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै पारदर्शिता, जवाफदेहिता, गुणस्तरीय शिक्षा र बालमैत्री शैक्षिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
कार्यक्रमले विद्यालयका गतिविधिबारे अभिभावक तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउनुका साथै विद्यालयको आगामी शैक्षिक तथा व्यवस्थापकीय योजनाका लागि आवश्यक सुझाव र मार्गदर्शन प्राप्त गर्न महत्वपूर्ण आधार तयार गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक पुर्णप्रसाद जैशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नरेश थापाले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।









प्रतिकृया दिनुहोस