जन्मदिनको अवसरमा युवा नेता भरत जिसीद्वारा तीन विद्यालयमा ४१ हजार ५ सय बराबरको शैक्षिक सामग्री सहयोग
लम्की / आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै युवा नेता तथा समाजसेवी भरत जिसीले कैलालीका तीन वटा विद्यालयलाई रु. ४१ हजार ५ सय बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको छ।
नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय, चिसापानीका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका जिसीले जन्मदिनको अवसरमा विद्यार्थीको शैक्षिक सिकाइमा सहयोग पुग्ने उद्देश्यले विभिन्न शैक्षिक सामग्री विद्यालयहरूलाई हस्तान्तरण गर्नुभएको हो।
जिसीले लम्कीचुहा नगरपालिका–३ मा रहेको जीवनदीप आधारभूत विद्यालय, बल्चौर, राष्ट्रिय माध्यमिक विद्यालय, बल्चौर तथा नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय, चिसापानीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ।
सहयोगअन्तर्गत जीवनदीप आधारभूत विद्यालय, बल्चौरलाई ३ सय १५ पिस, राष्ट्रिय माध्यमिक विद्यालय, बल्चौरलाई १ सय ९० पिस र नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय, चिसापानीलाई १ सय ९० पिस विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
विद्यालयहरूलाई उपलब्ध गराइएका सामग्रीमा सिसाकलम, डटपेन, इरेजर, चार्टलगायतका विद्यार्थी तथा विद्यालयको नियमित पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्री रहेका छन्।
जन्मदिनको अवसरमा हुने अनावश्यक खर्चलाई कटौती गर्दै विद्यार्थीको शिक्षामा लगानी गर्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको जिसीले बताउनुभएको छ। उहाँले जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसरका रूपमा नभई समाज र समुदायका लागि केही योगदान गर्ने अवसरका रूपमा मनाउन आफूले यस्तो कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध हुँदा पठनपाठनमा सहजता आउनुका साथै आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई समेत प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ।
विद्यालय परिवारले जन्मदिनको अवसरमा विद्यार्थीको शैक्षिक विकासलाई प्राथमिकतामा राखेर सहयोग गरेको भन्दै जिसीप्रति आभार व्यक्त गरेका छन्। विद्यालयका शिक्षक तथा अभिभावकहरूले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह सिर्जना गर्ने बताएका छन्।
समाजसेवा, शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आउनुभएका जिसी नेपाली कांग्रेससँग आबद्ध युवा नेताका रूपमा समेत सक्रिय हुनुहुन्छ। उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आफ्नो क्षमता र स्रोतअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जन्मदिनमा गरिने खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्दै विद्यालय र विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गरी गरिएको यो सहयोगले जन्मदिनलाई अर्थपूर्ण र अनुकरणीय बनाएको विद्यालय पक्षको भनाइ छ।











प्रतिकृया दिनुहोस