चाडपर्व लक्षित शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनबारे लम्कीमा अन्तरक्रिया

 लम्की /  नेपालीहरूका महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै लम्की क्षेत्रको शान्तिसुरक्षा, बजार व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनका विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल गरिएको छ। लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा आइतबार लम्कीमा आयोजित कार्यक्रममा क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, ट्राफिक प्रहरी, नगर प्रहरी, यातायात व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

 

चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती, बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण, ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा लम्कीचुहा क्षेत्रको समग्र शान्तिसुरक्षाका विषयमा कार्यक्रममा छलफल गरिएको हो।

 

अन्तरक्रियामा इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कविराज रोकाया, सशस्त्र प्रहरी बल डुडेझारीका प्रतिनिधि, लम्की ट्राफिक प्रहरीका प्रतिनिधि, लम्कीचुहा नगर प्रहरीका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न यातायात प्रालिका प्रतिनिधिले सुरक्षा चुनौती, सडक सुरक्षा, बजार व्यवस्थापन तथा बजार अनुगमनलगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

 

चाडपर्वको समयमा बजारमा उपभोक्ताको चापसँगै व्यापारिक गतिविधि बढ्ने, सडकमा सवारीसाधनको आवागमन बाक्लिने तथा पार्किङको समस्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बजारलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उपायबारे छलफल गरिएको थियो।

 

लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सेनाले बजार क्षेत्रमा हुन सक्ने अव्यवस्थित पार्किङ, सडक अतिक्रमण, सवारी चाप, भीडभाड तथा सम्भावित सुरक्षा चुनौतीलाई समयमै व्यवस्थापन गर्न सुरक्षा निकाय र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।उहाँले चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटना तथा दुर्घटना न्यूनीकरणका लागि सुरक्षा निगरानी र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

 

त्यस्तै, इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कविराज रोकायाले बजार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दा सडक तथा सार्वजनिक स्थानको प्रयोगलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। उहाँले ग्राहक तथा पैदलयात्रीलाई आवतजावतमा सहजता प्रदान गर्न व्यवसायीहरूले समेत सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताउनुभयो।

 

कार्यक्रममा लम्कीचुहा नगरपालिका–१ का वडाध्यक्ष नेत्रप्रसाद खनालले लम्की क्षेत्रको शान्तिसुरक्षा र बजार व्यवस्थापनसँगै पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत लम्की सडकखण्डलाई समेत व्यवस्थित र फराकिलो बनाउनुपर्ने बताउनुभयो। उहाँले लम्की बहुमुखी क्याम्पसदेखि रोरा पुलसम्मको सडकखण्डलाई कम्तीमा चारदेखि छ लेनसम्म विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

 

चाडपर्व व्यापार–व्यवसाय विस्तारको महत्वपूर्ण समय भए पनि बजारमा नागरिकको चहलपहल अत्यधिक बढ्ने भएकाले सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

 

लम्कीचुहा उद्योग वाणिज्य संघले व्यवसायी, प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, लम्कीचुहा नगर प्रहरी तथा अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै चाडपर्वका समयमा लम्कीचुहा क्षेत्रलाई शान्त, सुरक्षित र व्यवस्थित बजारका रूपमा सञ्चालन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जनाएको छ।

 

चाडपर्वका समयमा बजार व्यवस्थापनसँगै व्यवसायीको सुरक्षा, उपभोक्ताको सहज आवागमन र सडक अनुशासन कायम राख्ने विषयलाई प्राथमिकतामा राखेर आवश्यक सहकार्यको वातावरण निर्माण गर्नु छलफलको मुख्य उद्देश्य रहेको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो।

 

लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा लम्कीचुहा नगरपालिका–१ का वडाध्यक्ष नेत्रप्रसाद खनाल रहनुभएको थियो। संघका महासचिव पुष्पराज  ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सरोकारवालाहरूले आ–आफ्नो धारणा राखेका थिए।

 

 

 

 

प्रतिकृया दिनुहोस