नवौँ वार्षिकोत्सवमा सन नेपाल लाइफको सामाजिक अभियान : रक्तदानदेखि बीमा जागरणसम्म

लम्की /  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा आज सुदूरपश्चिम प्रदेशका विभिन्न शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नारासहित लम्की, धनगढी र महेन्द्रनगर शाखामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

 

 

कम्पनीका लम्की शाखा प्रमुख डम्बर न्यौपानेका अनुसार वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। संकलित रगतले आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

 

 

वार्षिकोत्सवकै अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेशमा रहेका १६ वटा शाखा कार्यालयमा अभिकर्ताहरूको सहभागितामा केक काटेर नवौँ वार्षिकोत्सवसमेत मनाइएको छ।

 

 

यसै अवसरमा कम्पनीले सुदूरपश्चिम प्रदेशमा बीमा जागरण अभियानलाई समेत तीव्रता दिएको जनाएको छ। कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीका अनुसार प्रदेशका १६ वटा शाखा कार्यालयमार्फत हालसम्म करिब १०० वटा बीमा जागरण कार्यक्रम सञ्चालन गरिएको छ।

 

 

विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, होटलका कर्मचारी, सहकारी तथा विभिन्न संस्थाका कर्मचारी, महिला तथा आमा समूह र स्थानीय तहका प्रतिनिधिहरूसँग बीमाको आवश्यकता, महत्व र उपयोगिताका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको जैशीले जानकारी दिनुभयो।

 

 

कम्पनीले बीमा जागरणमार्फत विशेषगरी आम नागरिकलाई जीवन बीमा बचतको माध्यम मात्र नभई आकस्मिक जोखिमका समयमा व्यक्ति तथा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण वित्तीय साधनका रूपमा बुझाउन खोजेको जनाएको छ।

 

 

बीमा जागरणसँगै कम्पनीले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोगसमेत गर्दै आएको जनाएको छ। कम्पनीका एजेन्सी म्यानेजर बुद्धिप्रसाद खनाल ‘बीपी’का अनुसार विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री, स्टेशनरी तथा ड्रेस कपडा वितरण गरिएको छ।

 

 

यस्तै, विभिन्न स्वास्थ्य चौकीमा Examination Light (LED) उपलब्ध गराउनुका साथै बैतडी जिल्लाका दुई विद्यालयलाई खानेपानी ट्याङ्कीसमेत वितरण गरिएको खनालले जानकारी दिनुभयो।

 

 

कम्पनीका अनुसार यस्ता कार्यक्रमले बीमा व्यवसायलाई समुदायसँग जोड्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइ, मानवीय सेवा तथा सामाजिक विकासका क्षेत्रमा समेत योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

 

 

सन नेपाल लाइफले हाल देशभर १३६ वटा शाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा डिजिटल माध्यमबाट बीमा जारी गर्न सकिने दुई नयाँ बीमा उत्पादनसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

 

 

जीवन बीमाले भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम व्यवस्थापन गर्न, परिवारको आर्थिक सुरक्षा कायम गर्न तथा दीर्घकालीन वित्तीय योजना बनाउन सहयोग पुर्‍याउने भएकाले यसको पहुँच र जनचेतना विस्तार आवश्यक रहेको कम्पनीको भनाइ छ। बीमा जागरण, सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यक्रममार्फत कम्पनीले आफ्नो वार्षिकोत्सवलाई समुदायसँग जोड्ने प्रयास गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस