शहिद स्मृति मावि लम्कीमा दिवा खाजा व्यवस्थापनबारे अभिभावकसँग छलफल

शहिद स्मृति मावि लम्कीमा दिवा खाजा व्यवस्थापनबारे अभिभावकसँग छलफल
लम्की ।  भाद्र २५

लम्कीचुहा नगरपालिका–१, पूर्वलम्कीस्थित श्री शहिद स्मृति माध्यमिक विद्यालयमा दिवा खाजा व्यवस्थापन सम्बन्धमा अभिभावकहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रभावकारी, व्यवस्थित, स्वच्छ तथा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयमा दिवा खाजा व्यवस्थापन कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने, खाजाको गुणस्तर तथा स्वच्छता कायम गर्ने, विद्यार्थीको स्वास्थ्य र पोषणलाई ध्यान दिने लगायतका विषयमा अभिभावकहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो।


कार्यक्रमको सभाध्यक्ष शिक्षक–अभिभावक संघका अध्यक्ष पवित्रा विश्वकर्मा रहनुभएको थियो भने प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर नेपाली रहनुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशीले गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै शिक्षक रंगप्रसाद तिमिल्सैनाले विद्यार्थीको सिकाइ उपलब्धि र स्वास्थ्यका लागि पोषणयुक्त दिवा खाजाको महत्वपूर्ण भूमिका रहने बताउँदै विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय, अभिभावक र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
छलफलका क्रममा विद्यालयले आगामी असोज १ गतेदेखि विद्यार्थीहरूलाई विद्यालयमै दिवा खाजा खुवाउने तयारी गरेको जानकारी गराइएको छ।

विद्यालयमै व्यवस्थित रूपमा खाजा उपलब्ध भएपछि विद्यार्थीहरूको नियमित उपस्थिति, सिकाइमा सक्रियता तथा स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो। सहभागी अभिभावकहरूले विद्यालयमै दिवा खाजा खुवाउने व्यवस्थाको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

 

प्रतिकृया दिनुहोस