सांसद प्रेम बयकको पहलमा लम्कीचुहा प्रादेशिक अस्पताललाई ५२ प्रकारका औषधी
अक्षर साथी
लम्की / कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा अत्यावश्यक औषधी व्यवस्थापनमा समस्या भइरहेका बेला सांसद प्रेम बयकको पहलमा ५२ प्रकारका औषधी उपलब्ध हुने भएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आवश्यक पर्ने औषधीको अभाव हुन थालेपछि सांसद बयकले संघीय स्वास्थ्य मन्त्रालय तथा मातहतका विभिन्न निकायसँग समन्वय गरी औषधी व्यवस्थापनका लागि पहल गरेका हुन् ।
जनजीवनसँग जोडिएका विषयदेखि जनस्वास्थ्यका सवालसम्म संसदमा निरन्तर खरोरुपमा आवाज उठाउँदै आएका सासंद बयकले लम्कीचुहा क्षेत्रसहित क्षेत्र नं. २ का नागरिकले भोगिरहेका स्वास्थ्यसम्बन्धी समस्याका विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । अस्पतालमा अत्यावश्यक सेवा सञ्चालनमै कठिनाइ भइरहेको जानकारी पाएपछि उनले संघीय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र आपूर्ति व्यवस्थापन विभागसँग समन्वयमार्फत लम्कीचुहा प्रादेशिक अस्पतालमा ५२ प्रकारका औषधी उपलब्ध गराउने तयारी गरेका छन् ।
५२ प्रकारका औषधी व्यवस्थापन गरिएकोमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, मन्त्रालयका सचिव डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. कृष्णप्रसाद पौडेल र आपूर्ति व्यवस्थापन विभागका रणबहादुर धर्तीमगरप्रति सांसद बयकले आभार व्यक्त गरेका छन् ।
प्राप्त हुने औषधीले अस्पतालमा उपचारका लागि आउने आम नागरिकको स्वास्थ्य उपचारमा सहजता हुने अपेक्षा गरिएको छ । बजेट अभावका कारण आवश्यक औषधी व्यवस्थापनमा समस्या भइरहेका बेला ५२ प्रकारका औषधी उपलब्ध हुनुले तत्कालका लागि अस्पतालको समस्या केही कम हुने विश्वास गरिएको छ ।
व्यवस्थापन गरिएका औषधी काठमाडौंमा रहेको जनाइएको छ । सडकको अवस्था बुझेर सकेसम्म चाँडो काठमाडौंमा रहेका औषधी लम्कीचुहा प्रादेशिक अस्पतालमा पु¥याइने तयारी भइरहेको सांसद बयकले जानकारी दिए ।
लम्कीचुहा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रिया तत्कालिन मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए । अस्पतालको सेवा विस्तारसँगै आवश्यक औषधी, उपकरण, जनशक्ति र बजेट व्यवस्थापनको विषय पनि महत्वपूर्ण बन्दै गएको छ ।









प्रतिकृया दिनुहोस