जनआन्दोलनदेखि संगठन निर्माणसम्मः कांग्रेसमा निरन्तर सक्रिय सापकोटाको महाधिवेशन यात्रा

लम्की /  नेपाली कांग्रेसका नेता खडानन्द सापकोटा चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रासहित महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। २०४६ सालको जनआन्दोलनदेखि नेपाली कांग्रेसको संगठन र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका सापकोटाले पार्टी संगठन निर्माणसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।

 

२०४६ सालको जनआन्दोलनका क्रममा तत्कालीन पथरैया गाविसको कटासे बजारमा युवाहरूको नेतृत्व गर्दै पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसको चारतारे झन्डासहित जुलुस निकालेको घटना सापकोटाको राजनीतिक यात्राको महत्वपूर्ण सुरुआतका रूपमा रहेको छ। उक्त क्रममा सापकोटासहित रामशरण ढकाल, प्रेम विष्ट, जनक विष्ट, खगेन्द्र देवकोटालगायतलाई कटासे बजारस्थित प्रहरी चौकीमा सात दिनसम्म थुनिएको उनी बताउँछन्।

 

बहुदलीय व्यवस्था पुनःस्थापनापछि सापकोटा पार्टी संगठन निर्माण र विस्तारमा थप सक्रिय बने। २०५२ सालदेखि पार्टी संगठन निर्माणको जिम्मेवारीमा सक्रिय रहेका उनी २०५६ सालमा तत्कालीन बलिया गाविसमा नेपाली कांग्रेसको सचिव बने। त्यसपछि क्षेत्रीय कार्यसमितिको मनोनीत सदस्य, जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य तथा जिल्ला सल्लाहकारको जिम्मेवारीसमेत सम्हाले।

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेका सापकोटा निर्वाचित हुन भने सकेनन्। पराजयपछि पनि पार्टी गतिविधिबाट टाढा नभई संगठनका कार्यक्रम तथा निर्वाचन गतिविधिमा निरन्तर सक्रिय रहेको उनको भनाइ छ।

 

‘व्यक्तिभन्दा पार्टी, लाभभन्दा संगठन’

 

सापकोटाले आफू २०४६ सालदेखि नै पार्टीको संस्थापन पक्षसँग जोडिएर काम गर्दै आएको बताएका छन्। व्यक्ति विशेषभन्दा पार्टीको हितलाई प्राथमिकता दिँदै पार्टीको नीति, सिद्धान्त र मार्गदर्शनअनुसार आफू निरन्तर अघि बढेको उनको भनाइ छ। उनको राजनीतिक सोचलाई उनले एउटा वाक्यमा यसरी प्रस्तुत गर्ने गरेका छन्— ‘पार्टीबाट पाउनेभन्दा पनि पार्टीलाई केही दिनुपर्छ।’  पद तथा व्यक्तिगत लाभभन्दा संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध र पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने मान्यता आफूले लामो राजनीतिक यात्रामा आत्मसात् गरेको सापकोटा बताउँछन्।

 

राजनीति सँगसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय

 

सापकोटाको सक्रियता राजनीतिक संगठनमा मात्र सीमित छैन। विभिन्न सामाजिक, व्यावसायिक, सहकारी, धार्मिक तथा सामुदायिक संस्थाको स्थापना, नेतृत्व र व्यवस्थापनमा समेत उनले भूमिका निर्वाह गरेका छन्।

 

उनले लम्की जेसीज, लम्कीचुहा उद्योग वाणिज्य संघ, लायन्स क्लब, किसान बहुउद्देश्यीय सहकारी संस्था, रेडक्रस, सामुदायिक रेडियो पश्चिम आवाज, कैलाशधाम तीर्थस्थल, पतञ्जली योग समिति कैलाली लगायत विभिन्न संघसंस्थामा अध्यक्ष, उपाध्यक्ष तथा अन्य जिम्मेवारीमा रहेर काम गरिसकेको विवरण दिएका छन्।

 

त्यसैगरी किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा मातृभूमि लघुवित्तको सञ्चालन समिति सदस्यका रूपमा समेत काम गरेको अनुभव उनीसँग छ। विभिन्न सामाजिक संस्था, व्यवसायिक क्षेत्र, सहकारी, युवा अभियान तथा सामुदायिक गतिविधिसँग जोडिँदै आएका सापकोटाले स्थानीयस्तरमा संस्थागत विकास र सामाजिक अभियानमा योगदान पुर्‍याउँदै आएको बताउँछन्।

 

संगठन निर्माणदेखि निर्वाचन अभियानसम्म सक्रिय

 

नेपाली कांग्रेसका विभिन्न कार्यक्रम, संगठन विस्तार तथा निर्वाचन अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको सापकोटाको भनाइ छ। लामो समयदेखि पार्टी संगठनसँग जोडिएका कारण स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिसँगको सम्बन्धलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएका छन्।

 

जिम्मेवारी पाएको वा नपाएको दुवै अवस्थामा पार्टीप्रतिको आफ्नो प्रतिबद्धता कायम राखेको बताउँदै सापकोटा पदभन्दा संगठन, व्यक्तिभन्दा पार्टी र व्यक्तिगत लाभभन्दा राजनीतिक मूल्य–मान्यतालाई प्राथमिकता दिने धारणा राख्छन्। चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्राबाट प्राप्त अनुभवलाई आगामी दिनमा पार्टी संगठन सुदृढीकरण र सामाजिक सेवामा उपयोग गर्ने उनको भनाइ छ।

 

महाधिवेशन प्रतिनिधिका उम्मेदवार सापकोटाले क्षेत्रीय प्रतिनिधि, पार्टी नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आफूलाई मतदान गरी विजयी गराउन सहयोग गर्न अपिल गरेका छन्।

 

क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित, महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

 

नेपाली कांग्रेसको कैलाली निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका–१, लम्कीबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सापकोटा अहिले महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। लम्कीचुहा–१ लम्की निवासी सापकोटाले लामो समयदेखि पार्टी संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको अनुभवलाई महाधिवेशन प्रतिनिधिको भूमिकामा समेत उपयोग गर्ने बताएका छन्। क्षेत्रीय प्रतिनिधिका रूपमा वडाबाट निर्वाचित भएपछि उनले महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।

प्रतिकृया दिनुहोस