कांग्रेस महाधिवेशन प्रतिनिधिमा ललित जैसी, ‘युवाको सशक्त सहभागिता’ मुख्य एजेन्डा

लम्की / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू आफ्नो उम्मेदवारी र एजेन्डासहित प्रतिनिधिमाझ पुग्न थालेका छन्। यसैक्रममा युवा नेता ललित जैसीले खस आर्यतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी प्रस्तुत गरेका छन्।
 
युवाको राजनीतिक सहभागिता, पुस्तान्तरण, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास तथा संगठन सुदृढीकरणलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका जैसीले ‘युवाको आवाज, राष्ट्रिय निर्माणको आधार’ भन्ने नारासहित आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि सारेका छन्।
 
जैसीले समृद्ध, न्यायपूर्ण र समावेशी नेपाल निर्माणका लागि युवा शक्तिको सशक्त सहभागिता आवश्यक रहेको बताएका छन्। पार्टीको नीति, विचार र संगठनात्मक गतिविधिमा युवाको अर्थपूर्ण सहभागिता बढाउँदै नयाँ पुस्तालाई नेतृत्वको मूल प्रवाहमा स्थापित गर्नुपर्ने उनको धारणा छ।
 
विद्यार्थी राजनीतिबाट संगठनात्मक यात्रासम्म
 
जैसीको राजनीतिक तथा संगठनात्मक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनले सार्वजनिक गरेको विवरणअनुसार मावि इकाइ सभापति, उमावि इकाइ उपसभापति, क्याम्पस इकाइ उपसभापति, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य, स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य लगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन्।
 
विद्यार्थी संगठनका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै संगठनात्मक अनुभव हासिल गरेका जैसीले अब पार्टीको केन्द्रीय महाधिवेशनमा प्रतिनिधिका रूपमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्।
 
३५ वर्षमुनिको युवा प्रतिनिधित्वको चाहनाबाट खसआर्यतर्फ उम्मेदवारी
 
जैसीले आफूले ३५ वर्षमुनिको युवा समूहबाट महाधिवेशन प्रतिनिधि बन्ने सपना र संकल्पका साथ राजनीतिक तयारी अघि बढाएको बताएका छन्। तर, आफूले चाहेको युवा समूहबाट उम्मेदवारी दिने अवस्था नबनेपछि अहिले खसआर्यतर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेको उनको भनाइ छ।
 
उनले आफ्नो सार्वजनिक सन्देशमा राजनीतिक यात्रामा अवसरभन्दा ठूलो कुरा न्याय, विधि, पद्धति र विश्वास भएको उल्लेख गरेका छन्।
 
“३५ वर्षमुनिको युवाका रूपमा कांग्रेसको नीति, विचार र संगठनमा आफ्नो पुस्ताको आवाज प्रतिनिधित्व गर्ने मेरो चाहना अधुरो रह्यो। यसले दुःख त दिएको छ, तर मेरो आत्मविश्वास, विचारप्रतिको निष्ठा र कांग्रेसप्रतिको समर्पणलाई कमजोर बनाउन सकेको छैन,” जैसीले भनेका छन्।
 
उनले आफू कुनै परिस्थितिका कारण आफ्नो राजनीतिक यात्राबाट पछि नहटेको उल्लेख गर्दै भनेका छन्, “म रोकिएको छैन, मेरो यात्रा रोकिएको छैन।
 
मेरो आवाज रोकिएको छैन। मेरो संकल्प रोकिएको छैन।”
 
‘यो केवल मेरो व्यक्तिगत उम्मेदवारी होइन’ खसआर्यतर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी प्रस्तुत गर्दै जैसीले यसलाई आफ्नो व्यक्तिगत राजनीतिक आकांक्षामात्र नभई न्याय, विधि, पद्धति र पुस्तान्तरणमा विश्वास गर्ने प्रतिनिधिहरूको विश्वाससँग जोडिएको उम्मेदवारीका रूपमा प्रस्तुत गरेका छन्।
 
पार्टीभित्र युवा पुस्ताको सहभागिता बढाउनुपर्ने, युवाका आवाजलाई संगठनको नीति तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समेटिनुपर्ने र नेतृत्वमा पुस्तान्तरणको अभ्यासलाई बलियो बनाउनुपर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
 
जैसीले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आफूले अहिलेसम्म प्राप्त गरेको माया, साथ, सुझाव र विश्वासलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पूँजीका रूपमा उल्लेख गरेका छन्। “आदरणीय प्रतिनिधिज्यूहरू, आजसम्म तपाईंहरूले दिनुभएको माया, साथ, सुझाव र विश्वास नै मेरो सबैभन्दा ठूलो राजनीतिक पूँजी हो। आगामी यात्रामा पनि यहाँहरूको अमूल्य मत, साथ र आशीर्वाद प्राप्त हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,” उनले भनेका छन्।
 
क्षेत्र नं. २ मा बढ्दै उम्मेदवारीको चहलपहल
 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिका आकांक्षी तथा उम्मेदवारहरूले आफ्ना राजनीतिक पृष्ठभूमि, संगठनात्मक अनुभव र एजेन्डासहित प्रतिनिधिहरूसँग संवाद बढाइरहेका छन्।
 
यही क्रममा विद्यार्थी राजनीतिबाट संगठनात्मक यात्रा अघि बढाएका जैसीको उम्मेदवारीले युवा सहभागिता, पुस्तान्तरण र पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।
 
महाधिवेशन प्रतिनिधि चयनका क्रममा उम्मेदवारहरूले अघि सारेका एजेन्डा, राजनीतिक तथा संगठनात्मक अनुभव र प्रतिनिधित्वका सवालमा क्षेत्रीय प्रतिनिधिहरूको निर्णय महत्वपूर्ण हुनेछ। जैसीले पनि आफ्नो राजनीतिक यात्रा, संगठनात्मक अनुभव र युवाको सशक्त सहभागितालाई आधार बनाएर प्रतिनिधिहरूसँग समर्थनका लागि संवाद अघि बढाएका छन्।
 
 
 

प्रतिकृया दिनुहोस