लम्कीचुहाका विद्यालय असोज ३० गतेसम्म सञ्चालन हुने, त्यसपछि कात्तिक २९ गतेसम्म बिदा
लम्की / लम्कीचुहा नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरू असोज ३० गतेसम्म सञ्चालन हुने भएका छन्। त्यसपछि दशैं, तिहारलगायतका चाडपर्व तथा सञ्चित बिदा मिलान गरी कात्तिक २९ गतेसम्म विद्यालय बिदा रहने र कात्तिक ३० गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने भएको छ।
लम्कीचुहा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधबार जारी गरेको सूचनामार्फत शैक्षिक सत्र २०८३ को विद्यालय बिदा तथा सञ्चालनसम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो। नगरपालिकाको शैक्षिक क्यालेन्डरअनुसार असोज २५ गते घटस्थापनादेखि विद्यालय बिदा रहने व्यवस्था भए पनि विद्यालयको ३० दिने लामो बिदालाई खण्डीकरण गरी सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। यसअघि २०८३ असार ६ गतेदेखि असार २० गतेसम्म १५ दिन बिदा भइसकेकाले बाँकी १५ दिनको बिदा व्यवस्थापनका लागि स्थानीय बिदासमेत समायोजन गरिएको नगरपालिकाले जनाएको छ।
सोहीअनुसार असोज ३० गतेसम्म विद्यालय सञ्चालन गरिने र त्यस अवधिमा थप बिदा नदिइने जनाइएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोवर्णप्रसाद उपाध्याय र शिक्षा अधिकृत पंखबहादुर शाहको संयुक्त हस्ताक्षरमा जारी सूचनामा दशैं तथा तिहारलगायतका सार्वजनिक बिदासहित कात्तिक २९ गतेसम्म विद्यालय बन्द रहने र कात्तिक ३० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरिएको छ। लम्कीचुहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले असोज २० गते उक्त सूचना जारी गरेको हो।










प्रतिकृया दिनुहोस