किसान सहकारीद्वारा डोटीकी बिस्नादेवीलाई २ लाख ३३ हजार ५ सय ७५ रुपैयाँ सहयोग
लम्की / कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शिखर शाखाले डोटीको शिखर नगरपालिका–२, कालागाँडकी शेयर सदस्य बिस्नादेवी बोगटीलाई २ लाख ३३ हजार ५ सय ७५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
सहकारी संस्थाको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत बिस्नादेवीका श्रीमान् डबल बहादुर बोगटीको असामयिक निधनपछि मृतक परिवारलाई राहतस्वरूप उक्त रकमको चेक हस्तान्तरण गरिएको हो। ‘समृद्धिका लागि समुदायसँगसँगै’ भन्ने मूल नारासहित सञ्चालित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शिखर शाखा डोटीले शिखर नगरपालिका–२, कालागाँड बजारमा श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको हो।
संस्थाका अमरगढी इलाका प्रमुख खकेन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा शिखर नगरपालिकाका कार्यपालिका सदस्य रामबहादुर लुहार, वडा सदस्य रने धामी, संस्थाका शेयर सदस्य तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा शिखर शाखाका शाखा प्रमुख धर्मराज भट्टराईले किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको जन्मदेखि मरणोपरान्तसम्म प्रदान गर्दै आएको सेवा तथा सुविधा र सदस्य सुरक्षण कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा स्वर्गीय डबल बहादुर बोगटीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।
साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै संस्थाका तर्फबाट बिस्नादेवीलाई २ लाख ३३ हजार ५ सय ७५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष गणेश बोगटीले किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुःखमा परेका आफ्ना सदस्यलाई सहयोग गर्दै मलम लगाउने काम गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो।
उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सदस्यहितका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो। कार्यक्रमको सञ्चालन किसान बहुउद्देश्यीय सहकारी संस्था शिखर शाखाका लेखा सहायक दीपेन्द्र शाहीले गर्नुभएको थियो।











प्रतिकृया दिनुहोस