आई.एम.ई. लाइफको वार्षिकोत्सवमा रक्तदान : लम्कीमा ५० पिन्ट रगत संकलन

लम्की /  आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिकोत्सवको अवसरमा लम्की शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ।

 

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा देशभरका विभिन्न शाखामार्फत सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको छ।

 

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र टीकापुरको प्राविधिक सहयोगमा लम्कीमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको शाखा प्रमुख बलबहादुर थापाले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभयो।

‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा यस क्षेत्रका रक्तदाताले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेका थिए।

 

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका–१ का वडा अध्यक्ष नेत्रप्रसाद खनालले रक्तदानजस्तो मानवीय कार्यले आकस्मिक अवस्थामा कसैको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

 

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले रगतको विकल्प रगत नै भएको बताउँदै रक्तदान मानिसले गर्न सक्ने महान् मानवीय सेवामध्ये एक भएको उल्लेख गर्नुभयो। पछिल्लो समय रगतको माग बढ्दै गएको तर सोही अनुपातमा आपूर्ति हुन नसक्दा चुनौती थपिएको उहाँको भनाइ छ।

 

युवापुस्तालाई रक्तदानतर्फ आकर्षित तथा प्रेरित गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलालीले विभिन्न सचेतनामूलक तथा रक्तदान अभियान सञ्चालन गरिरहेको तिमिल्सैनाले बताउनुभयो। उहाँले पहिलोपटक रक्तदान गर्ने युवाहरूलाई समेत निरन्तर रक्तदानका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।

 

नेपाल रेडक्रस सोसाइटी उपशाखाका उपसभापति चञ्चल जोशीले रगत मानिसको जीवन बचाउन अत्यावश्यक हुने भएकाले स्वस्थ तथा योग्य व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने बताउनुभयो। उहाँले रक्तदानलाई केवल सामाजिक दायित्वका रूपमा नभई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा बोल्दै आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रमुख सुमनप्रसाद तिमिल्सिनाले कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो। कम्पनीको व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि आफ्नो दायित्व भएको उहाँको भनाइ थियो।

 

त्यस्तै, आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख खुमलाल अर्यालले कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो।

 

रक्त सञ्चार केन्द्र टीकापुरका प्रमुख केसरी बजगाईले युवापुस्तालाई रक्तदानप्रति थप जागरूक र उत्प्रेरित बनाउनुपर्ने बताउनुभयो। उहाँले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आकस्मिक अवस्थामा बिरामी तथा घाइतेका लागि आवश्यक रगत उपलब्ध गराउन ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो। पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढ्दै गएकाले नियमित रक्तदान गर्ने दाताको संख्या बढाउन आवश्यक रहेको उहाँको भनाइ छ। युवाहरूमा रक्तदानसम्बन्धी भ्रम र गलत धारणालाई हटाउँदै रक्तदानको महत्त्वबारे सचेतना फैलाउन सके रगतको अभाव न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो। रक्तदान केवल दान नभई कसैको जीवन बचाउने मानवीय सेवा भएकाले युवाहरू यस अभियानमा सक्रिय रूपमा जोडिनुपर्नेमा उहाँले जोड दिनुभयो।

 

रक्त सञ्चार केन्द्र टीकापुरमा कार्यरत प्रभु न्यौपानेले पछिल्लो समय रगतको खपत अत्यधिक बढेको र मागअनुसार रगत उपलब्ध गराउन चुनौती हुने गरेको बताउनुभयो। टीकापुर क्षेत्रका अस्पतालमा दैनिक करिब २० देखि २५ पिन्टसम्म रगतको माग हुने गरेको उहाँले जानकारी दिनुभयो। नियमित रक्तदान नहुँदा आवश्यक परेको समयमा रगतको अभाव हुन सक्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई रक्तदानका लागि उहाँले आग्रह गर्नुभयो।

 

लम्कीमा सम्पन्न रक्तदान कार्यक्रममा उज्यालो शिक्षा सदनका विद्यार्थीहरूले समेत उत्साहपूर्वक रक्तदान गरेका थिए। विद्यार्थी तथा युवाहरूको सहभागिताले रक्तदानप्रति नयाँ पुस्तामा समेत सकारात्मक सोच र मानवीय सेवाको भावना विकास हुँदै गएको देखाएको आयोजकले जनाएको छ।

 

रक्तदान कार्यक्रमले आवश्यक परेको समयमा बिरामी तथा दुर्घटनामा परेका व्यक्तिका लागि रगत उपलब्ध गराउन सहयोग पुग्नुका साथै समाजमा ‘एक पटकको रक्तदानले धेरैको जीवन बचाउन सक्छ’ भन्ने सन्देश प्रवाह गरेको छ।

प्रतिकृया दिनुहोस