लम्कीचुहा उद्योग वाणिज्य संघको भवनको नगर प्रमुख शाहीद्धारा शिलान्यास
लम्की / लम्कीचुहा उद्योग वाणिज्य संघको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ। लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले शुक्रबार बिहान हिन्दु वैदिक विधिअनुसार भवनको शिलान्यास गर्नुभएको हो। करिब १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण हुने भवन साढे दुई तलाको हुने बताइएको छ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले आफू नगर प्रमुखमा निर्वाचित भएपछि उद्योग वाणिज्य संघको भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिएको भए पनि विभिन्न कारणले निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो। उहाँले भवन निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गर्न उद्योग वाणिज्य संघका पदाधिकारीलाई नियमित निगरानी गर्न आग्रह गर्नुभयो।
नगर प्रमुख शाहीले लम्कीमा महोत्सव सञ्चालनका लागि केही संघसंस्थाले आफूलाई फोन गर्ने गरेको उल्लेख गर्दै महोत्सव सञ्चालन गर्ने अधिकार लम्कीचुहा उद्योग वाणिज्य संघको रहेको बताउनुभयो।
शिलान्यास कार्यक्रममा बोल्दै लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सैनाले तोकिएको समयावधिभित्रै भवन निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भवन निर्माणका लागि १ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिँदै भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नयाँ भवन निर्माण सम्पन्न भएपछि उद्योगी, व्यवसायी तथा संघसँग आबद्ध सदस्यहरूलाई सेवा प्रवाहमा थप सहजता हुने अपेक्षा गरिएको छ।










प्रतिकृया दिनुहोस