पश्चिम सर्दै पानी पार्ने प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम

 लम्की /  बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ। पछिल्लो समय पानी पार्ने प्रणाली क्रमशः पूर्वबाट पश्चिमतर्फ सर्दै आएसँगै सुदूरपश्चिममा समेत वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ।

 

मौसमविद्का अनुसार शुक्रबार रातिदेखि पश्चिमी भूभागमा वर्षाको क्रम थप बढ्ने सम्भावना छ। पूर्वी क्षेत्रमा भने शनिबारदेखि वर्षाको मात्रा केही कम हुँदै जाने अनुमान गरिएको छ।

 

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा खोला तथा नदीको बहाव बढेको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण सडक तथा राजमार्गसमेत प्रभावित भएका छन्।

 

कैलालीसहित सुदूरपश्चिममा यातायात प्रभावित

 

सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै कैलालीबाट सञ्चालन हुने लामो दूरीका यातायात, पहाडी रुट तथा रात्रिकालीन बस सेवा प्रभावित भएका छन्। लम्की, टीकापुर र धनगढीबाट पहाडी जिल्लातर्फ जाने तथा काठमाडौं, पोखरालगायत पूर्वतर्फ जाने लामो दूरीका बस सेवा तत्कालका लागि रोकिएका छन्।

 

यातायात सेवा बन्द भएपछि विभिन्न काम, उपचार तथा अन्य प्रयोजनका लागि कैलालीका विभिन्न स्थान तथा भारतबाट आएका यात्रुहरू प्रभावित भएका छन्। कतिपय यात्रुले छोटो दूरीका सवारीसाधन प्रयोग गरेर गन्तव्यतर्फ जानुपर्ने अवस्था आएको बताएका छन्।

 

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्रि बस सञ्चालनमा रोक लगाइएको थियो। शुक्रबार बिहानदेखि सुदूरपश्चिमका विकट तथा पहाडी क्षेत्रमा जाने बससमेत सञ्चालन नगरिएको बताइएको छ ।

 

सरकारको निर्देशन तथा मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको र जोखिम कम भएका क्षेत्रमा वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गरिने सुन्दर सुदूरपश्चिम र रिभर साईड यातायात प्रालिले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजिनलाई जानकारी दिएका छन् ।

 

३८ जिल्लामा बाढीको उच्च जोखिम

 

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ।

शनिबार असोज १० गते जोखिम क्षेत्र थप विस्तार हुने जनाइएको छ। नवलपरासी पूर्व तथा पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

 

आइतबारदेखि सातै प्रदेश भएर बहने साना नदी तथा खोलामा समेत आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी किनार तथा डुबान हुने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

सप्तकोशीमा समेत पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा आगामी केही दिन उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ। यता कर्णली नदी र महाकली नदी तटिय क्षेत्रका स्थानीयलाई समेत सतर्क रहन आग्रह गरिएको छ ।

 

कैलालीसहित विभिन्न जिल्लामा विद्यालय बन्द

 

सम्भावित भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै लम्कीचुहा नगरपालिका लगायतका  कैलालीका सबै स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

 

कैलालीसँगै बर्दिया, बाँके, दाङ, कञ्चनपुर तथा सुदूरपश्चिमका विभिन्न स्थानमा समेत आज विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको छ।

 

यसैबीच, अहिले कैलालीसहित सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यमदेखि केही स्थानमा भारी वर्षा भइरहेको छ।वर्षाका कारण नदी, खोला तथा तल्लो भूभागमा पानीको सतह बढ्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा मौसमसम्बन्धी सूचनालाई निरन्तर अध्यावधिक गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस