कैलाली लगायत पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
लम्की / बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावले पानी पर्न थालेपछि कैलाली लगायत पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक लगाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गरी अत्यधिक पानी पर्ने २५ जिल्लामा यातायात सञ्चालनमा रोक लगाएको हो। प्राधिकरणले शुक्रबार र शनिबार २५ जिल्लामा अत्यधिक पानी पर्ने जनाएको छ।
रातो रंग लगाइएका यी जिल्लामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका रहेका छन्। ती जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न भनिएको छ।
जसमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाजुरा, बझाङ, दार्चुला रहेका छन् तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङजा छन्।
यस्तै, ३० जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। जसमा कोसी र मधेशबाहेक पाँचै प्रदेशका जिल्ला रहेका छन्। सुन्तला रंग लगाइएका यी जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा गाडी चलाउने वा नचलाउने भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई निर्णय गर्न भनिएको छ।
यस्तै, बाँकी २२ जिल्ला केही मात्रामा वर्षा हुने जनाइएको छ। जसमा कोसी र मधेश प्रदेशसँगै बागमती प्रदेशका मकवानपुर र सिन्धुली जिल्ला रहेका छन्। यी जिल्लामा सतर्क रहन निर्देशन दिइएको छ।
गएराती देखि कैलालीमा निरन्तर पानी परिरहेको छ । लगातार परिरहेको पानीले डुवान क्षेत्रमा पानी जम्न थालेको खबर समेत प्राप्त हुन थालेको छ ।
गएरातीदेखि पानी परिरहेको भएनी कतै सामान्य त कतै मध्ययम थियो । आज रातीदेखि कैलाली लगायतका जिल्लामा केही स्थानमा भारी कही ठाउँमा अतिभारी पानी पर्न सक्ने भन्दै सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।लगातार परिरहेको पानीले धानबाली घर भित्र्याउनै लागेका किसान भने चिन्तित भएका छन ।









प्रतिकृया दिनुहोस