लम्कीमा देवी भागवत महायज्ञको दोस्रो दिन भक्तजनको घुइँचो, कथा प्रवचन र हवन पूजाले बन्यो भक्तिमय वातावरण

लम्की, कैलाली । कैलालीको लम्की बजारमा सञ्चालन भइरहेको श्रीमद् देवी भागवत तथा नवदुर्गा पूजन महोत्सव–२०८३ को दोस्रो दिन श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। श्रीमद् देवी भागवत कथा श्रवण, हवन तथा विशेष पूजाआराधनामा भक्तजनको सहभागिता बढेसँगै महोत्सवस्थल भक्तिमय बनेको छ।

 

धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हिन्दु जागरण नेपाल, कैलाली जिल्ला समितिको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा हरेक बिहान नित्ययोग, हवन तथा पूजाआराधना हुँदै आएको छ। बिहान ६:३० बजेदेखि ११:३० बजेसम्म हवन तथा पूजाका धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्।

 

त्यसैगरी, हरेक दिन दिउँसो १२:०५ बजेदेखि ४ बजेसम्म प्रमुख कथावाचक उज्ज्वल श्री निरौला भारद्वाजबाट श्रीमद् देवी भागवत कथा प्रवचन भइरहेको छ। उपवाचक प्रभव धमाला तथा यज्ञवाचक पूर्णप्रसाद उपाध्यायको सहभागितामा सञ्चालन भइरहेको धार्मिक अनुष्ठानले भक्तजनलाई आध्यात्मिक चिन्तन र धार्मिक आस्थासँग जोड्ने अवसर प्रदान गरेको छ।

 

महोत्सवमा हरेक साँझ ७ बजेदेखि राति १० बजेसम्म सङ्गीतमय झाँकीसहित कथा वाचन तथा भजन–कीर्तनका कार्यक्रम सञ्चालन भइरहेका छन्। देवी भगवतीको महिमा, धार्मिक सन्देश र भक्तिमय प्रस्तुतिले महोत्सवको वातावरणलाई थप आकर्षक बनाएको छ।

 

असोज २५ गतेदेखि सुरु भएको महोत्सव कार्तिक ३ गतेसम्म लम्की बजारस्थित पुरानो साँझको रूख नजिकै सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन तथा धर्मप्रेमी महानुभावलाई महायज्ञमा सहभागी भई श्रीमद् देवी भागवत कथा श्रवण, हवन तथा पूजाआराधना र सङ्गीतमय धार्मिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

 

धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस