शहिद स्मृति माविमा शुभकामना आदानप्रदान तथा रजत जयन्ती तयारीसम्बन्धी छलफल कार्यक्रम सम्पन्न
लम्की / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १, पुर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान एवं विद्यालयको २५औँ स्थापना दिवसका अवसरमा मनाउन लागिएको रजत जयन्ती तयारीसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका सल्लाहकार समिति संयोजक दिलबहादुर साउद, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष मल्ल सिंह र चेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बटाला विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य तथा विद्यालयको २५औँ स्थापना दिवसका अवसरमा आगामी मंसिर महिनामा आयोजना गर्न लागिएको रजत जयन्ती समारोहको तयारीबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका पूर्वप्रधानाध्यापक पूर्णप्रसाद जैसीले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष नेत्रप्रसाद खनालले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा स्थानीय सरकार, विद्यालय परिवार र समुदायबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यालयको २५औँ स्थापना दिवसलाई विगतका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाको विकासका लागि नयाँ योजना निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि एवं लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष मल्ल सिंहले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै रजत जयन्ती समारोहलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। विशिष्ट अतिथि लक्ष्मण बटालाले विद्यालयको स्थापना दिवस समुदायको साझा गौरवको विषय भएको उल्लेख गर्दै समारोहको सफलताका लागि सामूहिक सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पवित्रा विश्वकर्मा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू मोतिकला चलाउने र गणेशप्रसाद ढकाल, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य कलावती देवकोटा, पूर्व शिक्षकहरू नवराज खनाल र भीमप्रसाद जैसी, पूर्व विद्यार्थी सुमित्रा हमाल र सुर्जिन न्यौपाने, शिक्षिका सृष्टि जैसी तथा अभिभावक देवानन्द भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उहाँहरूले विद्यालयले स्थापनाकालदेखि हालसम्म हासिल गरेका उपलब्धिको चर्चा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास र रजत जयन्ती समारोहलाई सफल बनाउन शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी, कक्षा १० का विद्यार्थी तपेन्द्र भण्डारी र ज्योति खत्री तथा कक्षा ९ की विद्यार्थी रत्ना बिष्टले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो। विद्यालयले आगामी मंसिर महिनामा मनाउन लागेको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहलाई व्यवस्थित, भव्य र सफल रूपमा सम्पन्न गर्न पूर्व विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष गणेशप्रसाद ढकालको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ ।
समितिले रजत जयन्ती समारोहको तयारी, व्यवस्थापन, समन्वय तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। रजत जयन्ती समारोहलाई विद्यालयको स्थापनाकालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि, योगदान तथा भावी योजनालाई अभिलेखीकरण र सार्वजनिक गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू सज्जन सेजुवाल र मकरबहादुर बिष्ट, पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, पूर्व शिक्षक अभिभावक संघका सदस्यहरू, पूर्व शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यालय परिवारले रजत जयन्ती समारोहलाई सफल बनाउन पूर्व विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय संघसंस्था, शिक्षाप्रेमी तथा सम्पूर्ण सरोकारवालाहरूको सहयोग, सहकार्य र सक्रिय सहभागिताको अपेक्षा गरेको छ।







प्रतिकृया दिनुहोस