सांसद बयकको पहलमा लम्कीचुहा प्रादेशिक अस्पताललाई ५२ प्रकारका औषधि उपलब्ध
लम्की / कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयकको पहलमा लम्कीचुहा प्रादेशिक अस्पताललाई ५२ प्रकारका औषधि उपलब्ध गराइएको छ। अस्पतालमा अत्यावश्यक औषधिको अभाव हुन थालेपछि सांसद बयकले संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायसँग पटक–पटक समन्वय तथा पहल गरेपछि ती औषधि उपलब्ध गराइएको हो।
आज बिहान सांसद बयकले अस्पताललाई औषधि हस्तान्तरण गर्नुभएको हो। औषधि अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई उपलब्ध औषधिले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आवश्यक पर्ने औषधि अभाव हुन थालेपछि सांसद बयकले संघीय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा आपूर्ति व्यवस्थापनसम्बन्धी निकायसँग समन्वय गरी औषधि व्यवस्थापनका लागि पहल गर्नुभएको थियो।
जनजीविकासँग जोडिएका विषयदेखि जनस्वास्थ्यका सवालसम्म संसद्मा निरन्तर आवाज उठाउँदै आउनुभएका सांसद बयकले कैलाली क्षेत्र नम्बर २ का नागरिकले भोगिरहेका स्वास्थ्यसम्बन्धी समस्याबारे पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आउनुभएको छ।
औषधि हस्तान्तरणका क्रममा लम्कीचुहा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर विष्टले औषधि अभावका कारण प्रभावित बनेको अस्पतालको सेवा प्रवाहमा यसले सहजता ल्याउने विश्वास व्यक्त गर्दै पहलका लागि सांसद बयकलाई धन्यवाद दिनुभयो।
त्यस्तै, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेश यादवले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार अस्पतालको सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउन औषधिसँगै आवश्यक उपकरण, जनशक्ति तथा बजेटको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण छ।
लम्कीचुहा अस्पताललाई १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रिया तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको कार्यकालमा अघि बढाइएको थियो। सेवा विस्तारसँगै अस्पतालमा आवश्यक औषधि, उपकरण, जनशक्ति र बजेटको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
५२ प्रकारका औषधि उपलब्ध हुनुले तत्कालका लागि अस्पतालमा देखिएको औषधि अभावको समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। यद्यपि, अस्पतालको सेवा दिगो र प्रभावकारी बनाउन नियमित औषधि आपूर्ति, पर्याप्त बजेट तथा आवश्यक जनशक्तिको सुनिश्चितता अपरिहार्य देखिन्छ।












प्रतिकृया दिनुहोस