शहिद स्मृतिका विद्यार्थीद्वारा खाजा खर्चबाट उपचार सहयोग

लम्की /  मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै श्री शहिद स्मृति माध्यमिक विद्यालय, पूर्वलम्कीका कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूले बिमला बजगाई तिमिल्सैनाको उपचारका लागि रु.  पाँच हजार पच्चीस रुपैया ५,०२५ आर्थिक सहयोग गरेका छन्।

 

लम्कीचुहा नगरपालिका–२, बघौरा निवासी बिमला बजगाई तिमिल्सैना घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो। उक्त दुर्घटनापछि उहाँका दुवै हात र एउटा खुट्टा काट्नुपरेको दुःखद अवस्था सिर्जना भएको छ। उहाँको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम संकलन गरेका हुन्। संकलित उक्त सहयोग रकम आज उहाँका श्रीमान् ओमप्रकाश तिमिल्सैनालाई हस्तान्तरण गरिएको हो।

 

कक्षा ६ का कक्षा शिक्षक सृष्टि जैसी, कक्षा ७ का कक्षा शिक्षक कला रिमाल र कक्षा ८ का कक्षा शिक्षक पूर्णप्रसाद देवकोटाको सहजीकरणमा सहयोग रकम हस्तान्तरण गरिएको थियो। सानो उमेरमै आफ्नो खाजा खर्च कटाएर दुःख र पीडामा रहनुभएकी बिमलाको उपचारका लागि सहयोग गर्ने विद्यार्थीहरूको यस कार्यले मानवीय संवेदना, परोपकार, सामाजिक उत्तरदायित्व र सेवाभावको प्रेरणादायी सन्देश दिएको छ।

 

विद्यार्थीहरूको यस मानवीय कार्यले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारमा समेत उतारिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। साथै, सानै उमेरदेखि अरूको दुःखमा साथ दिने र आवश्यक परेका व्यक्तिलाई सहयोग गर्ने संस्कार विकास गर्न यस्ता कार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस