कैलाली लगायत सुदूरपश्चिममा आज र भोलि पानी पर्ने सम्भावना, किसानलाई धान नकाट्न मौसमविद्को सुझाव
लम्की / कैलालीको लम्कीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आजराति र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै मौसमविद् विनु महर्जनले धान काटिसकेका किसानलाई बाली सुरक्षित स्थानमा राख्न र काट्ने तयारीमा रहेका किसानलाई तत्काल धान नकाट्न सुझाव दिनुभएको छ। सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजन संग छोटो कुराकानी गदै कैलाली लगायत सुदूरपश्चिममा ठुलो पानी पर्ने सम्भावना नरहपनि आजराती रभोली हल्कादेखि मध्यम पानी पर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा मौसम प्रभावित हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म पानी पर्ने सम्भावना छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्नुका साथै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।
मौसमविद् विनु महर्जनका अनुसार आज र भोलि विशेषगरी पश्चिमी भूभागमा पानी पर्ने सम्भावना रहेकाले कृषि कार्यमा संलग्न किसानले सतर्कता अपनाउन आवश्यक छ। उहाँले धान काटिसकेका किसानलाई काटिएको धान सुरक्षित स्थानमा राख्न तथा धान काट्ने तयारीमा रहेका किसानलाई तत्काल कटानी नगर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ।
सम्भावित पानीका कारण धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई मौसमको पछिल्लो अवस्था र पूर्वानुमानबारे नियमित जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।










प्रतिकृया दिनुहोस