मोहन्याल गाउँपालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु
लम्की / कैलाली मोहन्याल गाउँपालिका, खिमडी (कैलाली) मोहन्याल गाउँपालिकाको आयोजना तथा श्री शान्ति माध्यमिक विद्यालय, मोहन्याल–०३ को व्यवस्थापनमा आजदेखि गाउँपालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ।
उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विशेष समारोहका बीच गर्नुभयो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले समग्र खेलकुद विकासका लागि सबै सरोकारवालाहरू एकढिका भएर लाग्नुपर्नेमा जोड दिनुभयो। स्थानीय तहबाट यस्ता खेलकुद क्रियाकलापलाई निरन्तरता दिन सक्नु ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो।
यसअघि आफू मोहन्याल पुगेका बेला स्थानीय जनतासँग गरिएको वाचा अनुसार प्राथमिकताका साथ बजेट विनियोजन गरिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले आगामी वर्ष पनि यस क्षेत्रलाई थप प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो। चुनावका समयमा विभिन्न दलबाट उम्मेदवारी दिए पनि विकास–निर्माणको सवालमा सबै जनप्रतिनिधिहरू एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
प्रतियोगितामा मोहन्याल गाउँपालिकाका सातै वडाबाट गठन भएका सात टोलीको सहभागिता रहको छ। छात्र–छात्रातर्फ १००, २००, ३००, ८००, १५०० र ३००० मिटर दौड, रिले (४×१०० छात्र/छात्रा, ४×४००), सर्टपुट, लङ्गजम, हाइजम्प, ट्रिपलजम्प लगायतका एथलेटिक्स खेलहरू सञ्चालन हुनेछन्। साथै भलिबल र कबड्डी प्रतियोगिताहरू पनि हुने कार्यक्रम छ। प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ।












प्रतिकृया दिनुहोस